बादलको सांसद पद दुई दिन तन्कियो

बादलको सांसद पद दुई दिन तन्कियो

नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सांसद तथा गृहमन्त्री रामबहादुर थापा बादलको सांसद पद आइतबारसम्म लम्बिने भएको छ । माओवादी केन्द्रले दल बदल गरेर एमालेमा प्रवेश गरेको कारण जनाउँदै राष्ट्रिय सभामा उजुरी दिएपछि हिजै बादलको सांसद पद चट् हुने कार्यतालिका थियो ।

आन्तरिक प्रशासनिक निर्णय प्रक्रियाको कारण सम्भवतः आइतबार बादलको सांसद पद सिध्दिने सँसद सचिवालय स्रोतले बताएको छ । स्रोत भन्छ ‘सम्भवत: आइतबार सूचना टाँसेपछि उनको पद सिध्दिने छ । अध्यक्षबाट पत्रमा तोक आदेश भइसकेको छ ।’

कानुनी प्रक्रियाअनुसार सांसद खुस्किएको सूचना राष्ट्रिय सभाले राजपत्रमा प्रकाशित गर्न पठाएपछि मात्र सूचना टाँसको काम हुन्छ । त्यसको लागि उठाइएको टिप्पणीमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट निर्णय नभइसकेकाले उक्त कार्य ढिलोमा आइतबार हुने भएको हो ।

राष्ट्रिय सभाका सांसदहरूको सम्पूर्ण कागजातको सनाखत त्यहाँका सचिवले गर्नुपर्ने प्रावधान छ । त्यसैले सांसद पद खारेजीको निवेदनको आधारमा अध्यक्षले निर्णय लेखेपछि राजपत्रमा सूचना प्रकाशितको लागि लेखी पठाइन्छ, निर्वाचन आयोगलाई पद खारेज भएको सूचनासमेत सचिवले नै दिन्छन् ।

सम्बन्धित दलको निवेदनको आधारमा १५ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था रहेको बताइन्छ । त्यसैले ढिलोमा आइतबारसम्म हुने स्रोतको दाबी छ ।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाई प्रक्रियाका कारण अधिकांश कर्मचारी त्यता व्यस्त भएकोले पनि बादलसम्वन्धी निर्णयमा ढिलाइ हुन पुगेको हो ।

न्यायाधीशको उजुरीबारे हुने सुुनुवाईअघि नै सर्वोच्च अदालतले त्यस्तै उजुरीमाथि स्पष्ट आदेश दिइसकेकाले हिजोको सुुनुवाई औपचारिकताको लागि मात्र थियो ।

टिप्पणीहरू