सञ्चारकर्मीमाथि ठेकेदारको आक्रमण

सञ्चारकर्मीमाथि ठेकेदारको आक्रमण

नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी माधवप्रसाद गुरागाईँमाथि भौतिक आक्रमण भएको छ । काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाण्डौं भ्यू टावर’को प्रगति विवरणबारे रिपोर्टिङ गर्न पुगेका गुरागाईँलाई त्यहाँका ठेकेदारसहितको टोलीले आक्रमण गरेको हो । आक्रमणका क्रममा सञ्चार सामग्री तोडफोड तथा ज्यान मार्ने धम्कीसमेत दिएको पीडित सञ्चारकर्मीले बताएका छन् ।

सार्वजनिक प्रयोजनको लागि निर्माण हुन लागेको टावरको प्रगति विवरण,पेटी ठेकेदार भारतीय नागरिक भ्यालुरुपाली हेमचन्द्रका सामानहरु अरु ठेकेदारहरुलाई प्रयोग गर्न दिएको,हेमचन्द्रलाई काममा नलगाएको र भुक्तानी पनि नदिएको सम्बन्धमा सोमवार रिपोर्टिङ्ग गर्न पुगेका गुरागाईँलाई ठेकेदार मनोज भेटवाल,उनका दाजु भैरव भेटवाल र मनोजका सुपरभाइजर ज्ञानबहादुर रायको मिलेमतोमा आक्रमण भएको हो । उनीहरुले भिडियो खिचिरहेको सञ्चार सामग्रीसमेत खोसेर तोडफोड गरेको गुरागाईँले बताए ।

पत्रकार गुरागाईँले आक्रमणमा संलग्न सबैलाई कारवाही गर्न र तोडफोड भएको सञ्चार सामग्रीको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । यस विषयमा आफूले प्रहरी परिसर टेकुमा जानकारी गराएको उनले बताए । प्रहरीले जाहेरी लिन नमानेको उनले गुनासो गरेका छन् ।

प्रहरीले भने आक्रमणकारी तीनै जना मोबाईल स्विच आफ गरेर फरार भएको बतायो ।

घटनाका सम्बन्धमा सोमबार विज्ञप्ति जारी गर्दै नेपाल आजले भर्त्सना गरेको छ । ‘पत्रकारलाई आतंकित बनाउने र कर्तुतहरु लुकाउने’ प्रयासका रुपमा लिएको विज्ञप्तिमा जनाइएको छ । ‘यो घटना समग्र सञ्चार क्षेत्रमाथिकै आक्रमण हो भने यसले जनतालाई सुसूचित गराउने काममा अहोरात्र खटिएका पत्रकारहरु कसरी प्रताडित भइरहेका छन् र कस्तो वातावरणमा काम गर्न बाध्य छन् भन्ने कुरालाई पनि प्रष्ट्याएको छ’,विज्ञप्तिमा भनिएको छ ।

सम्पादक मिलन गुरागाईँद्वारा जारी विज्ञप्तिमा आक्रमणकारी तीनै जनालाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन,क्षति भएको सञ्चार उपकरणको क्षतिपूर्ति दिलाउन र ज्यान मार्ने धम्की दिनेलाई प्रचलित कानुनअनुसार कारवाही गर्न माग गरिएको छ । विज्ञप्तिमा सार्वजनिक प्रयोजनको लागि निर्माणाधीन टावरको निर्माणका क्रममा भइरहेको अनियमितताको छानविन गर्नसमेत सम्वन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

यता,प्रेस युनियनले पनि घटनाको भर्त्सना गर्दै विज्ञप्ति निकालेको छ । महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई कारवाहीको माग गरिएको छ । घटनामा संलग्नलाई प्रशासनिक कारवाही गरी क्षतिपूर्तिको व्यवस्था नभए युनियन आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।

टिप्पणीहरू