विवादपछि पत्रकार महासंघ चुनावको मतपेटिका काठमाण्डौ ल्याइयो

विवादपछि पत्रकार महासंघ चुनावको मतपेटिका काठमाण्डौ ल्याइयो

यही चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको चुनाव नुवाकोटको हकमा दोहोरिनुपर्ने मागसहित केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ । जिल्लामा क्रमसंख्या उल्लेख भएका मत्रपत्रमा मतदान गरेको पाइएको र त्यस्तो मतगणना भएपछि खारेजीको माग गर्दै उजुरी परेको हो । जिल्ला निर्वाचन समितिले समस्या समाधान गर्न नसकेपछि उजुरीसहित मतपेटिका र प्रमाणहरु महासंघको केन्द्रीय कार्यालयमा झिकाइएको छ ।

जिल्ला अध्यक्षमा उम्मेदवारी दिएका नारायणप्रसाद नेपाल, उपाध्यक्षमा उम्मेदवारी दिएकी रुपा अर्याललगायतका उम्मेदवारहरुले बदर मतसमेत गणना गरिएको,संकेत नं सहितका मतपत्र भेटिएको भन्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

पत्रकारको निर्वाचन रद्द गर्न माग

जिल्ला निर्वाचन समितिले अध्यक्षमा कपिलदेव खनालसहितको प्यानल बिजयी भएको घोषणा गरेपनि सोही प्यानलबाट निर्वाचित अन्य सदस्यले भने शपथ बहिस्कार गरेका छन् ।

जिल्लामा प्रेस संगठनको नेतृत्वमा प्रेस युनियन नेपाललगायतको संयुक्त प्यानल कपिलदेव खनालको नेतृत्वमा र जनपत्रकार संगठनको नेतृत्वमा,प्रेस चौतारी लगायतको प्यानल नारायणप्रसाद नेपालको नेतृत्वमा चुनावी मैदानमा उठेका थिए ।

पुनः निर्वाचन हुनुपर्ने मागसहित उजुरी परेपछि अब के गर्ने भन्नेबारे केन्द्रीय निर्वाचन समिति परामर्शमा रहेको बुझिएको छ । प्रहरीले गरेको मुचुल्कामा २५ गते क्रमांक उल्लेखित प्रयोग भएका,नभएका मतपत्र रहेको उल्लेख छ । मुचुल्कामा अध्यक्ष पदका उम्मेदवार नारायणप्रसाद नेपाल, सचिव जगदिश खनाल र निर्वाचन समितिका सदस्य उत्तम घिमिरेको हस्ताक्षर छ । प्रेस युनियन नुवाकोटले पनि निर्वाचन प्रक्रिया रद्ध गर्न माग गर्दै उजुरी दिएको छ ।

टिप्पणीहरू