अमेरिकामा पनि मिल्न सकेनन् नेपाली

अमेरिकामा पनि मिल्न सकेनन् नेपाली

गैरआवासीय नेपालीहरूको संस्था एनआरएन,अमेरिकाको चुनावी मिति तय नभएपनि सामाजिक सञ्जालमार्फत् प्रचारयुध्द छेडिएको छ । मंगलबारसम्म अध्यक्षमा बुध्दि सुवेदी,कृष्ण लामिछाने,डा. अर्जुन बञ्जाडे र तिलक केसीले मैदानमा उत्रिने घोषणा गरेका छन् । केसी वामपन्थी खेमाका हुन् भने बाँकी तीन जना काँग्रेसको विभिन्न गुटलाई प्रतिनिधित्व गरेर उठ्न लागेका हुन् । अधिकांश भोटर्स प्रजातन्त्रवादी भएकाले वामपन्थी पृष्ठभूमिका केसीलाई कठिन परेको उनीहरूको दाबी छ । केसी कुनैबेला त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर केन्द्रीय क्याम्पस स्ववियुमा अखिलको पदाधिकारी थिए ।

तीमध्ये बञ्जाडे वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् । अघिल्लो पटक अध्यक्ष भनेर फेसबुकमा प्रचार गरिएपनि सहमतिका निम्ति वरिष्ठ उपाध्यक्षमा खुम्चिएका थिए । टेक्सास बस्ने बञ्जाडेलाई एकथरि काँग्रेसीले ‘भँगेरे छाति’ को बिल्ला भिराइदिएका छन् । उनीहरूका अनुसार अघिल्लो चुनावमाझैँ यसपटक पनि उनले अन्तिममा अध्यक्ष छाडेर क्षेत्रीय संयोजकमा मन बुझाउने सम्भावना छ ।

अध्यक्षका अर्का प्रत्यासी कृष्ण लामिछानेलाई पनि अमेरिकामा रहेका काँग्रेसीहरूले शुभेच्छुक संस्थाको संस्थापक हुनुबाहेक थप क्षमता र पहिचान नभएको बताउँदै म्यासेज गर्न थालेका छन् । टेक्सासमा रहेका उनकै सहपाठीहरूलाई उद्धृृत गर्दै स्रोत भन्छ, ‘लामिछाने कोषाध्यक्षको लागि अच्छा छन्, त्योभन्दा माथि रहर मात्रै हो ।’ यसअघि काठमाडौंको ठमेलमा व्यवसाय गर्दागर्दै चटक्क छाडेर अमेरिका भासिएका लामिछानेको त्यसबखतको लेनदेनको विषय पनि पेचिलो बन्दै आएको बताइन्छ ।

अर्का उमेदवार बुध्दि सुवेदी वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुन् । सदस्यता वितरण समितिको संयोजकसमेत भएर काम गरेकाले उनको पालो आएको एकथरिको टिप्पणी छ । तर उनीमाथि काँग्रेसीहरूबाटै अन्तर्घात हुने सम्भावना बढ्दो छ । अमेरिकामा रहेको काँग्रेसको औपचारिक समूहले भने बुध्दिलाई अध्यक्ष र लामिछानेलाई वरिष्ठ उपाध्यक्षमा मिलाएर बञ्जाडेलाई क्षेत्रीय संयोजकमा लैजाने तयारी थालेको बताएको छ ।

तर,औपचारिक समूहलाई नटेरेको विगतको उदाहरण दिँदै न्यूयोर्कबाट बागी उम्मेदवार बन्ने प्रचार गरेका एक जनाले भनेका छन्, ‘यो सबै गाँड कोराकोर हो । एनआरएन अमेरिकालाई अहिले ब्यायफ्रेण्ड र गर्लफ्रेण्ड भेट्ने थलोको रूपमा विकसित गरार्ईंदैछ ।’

विभिन्न पद, च्याप्टर सभापतिलगायत २७ वटा राज्यमा हुने चुनावमा एनआरएन अमेरिकाले करिब २० लाख डलर आम्दानी गर्ने अनुमान छ । तर, नेपालमा आवश्यक परेको बखत ५० हजार डलर संकलन गर्नसमेत उक्त संस्थालाई हम्मे पर्ने गरेको थियो । यसपटकको निर्वाचनमा अनलाइन भोटिङ हुनेछ । तर, अमेरिकाजस्तो ठाउँमा प्रविधिप्रति विश्वास गर्न नसकिएको विगतले नै पुष्टि गरेको भन्दै बिरोध शुरु भएको छ ।

एनआरएन अमेरिकाको निर्वाचन स्थानीय नेपाली पत्रकारहरूको लागि दशैं हुने भनेर गरिएको एउटा टिप्पणीले अहिले अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नाजामा तरंग मच्चिएको छ । विगतमा पनि केही पत्रकारले एनआरएनको चुनावमा पैसा उठाएको आरोप खेपेका कारण अहिले तरंग उत्पन्न भएको हो ।

यसअघिको चुनावमा अध्यक्षका प्रत्यासी सूर्य लम्सालसँग किरण मरहठ्ठाले सात सय डलरको डिल गरेको अडियो सार्वजनिक भएको थियो । अहिले पनि त्यो रोग बरु बढ्नसक्ने तर नघट्ने काँग्रेसका सम्भावित उम्मेदवारहरूले बताएका छन् । अमेरिकाको पूर्वी भेगमा किरण मरहठ्ठा र पश्चिममा गोकुल ढकाल एनआरएनहरूबीच निकै चल्तिको नाम हो ।

यसैबीच नेपाल अमेरिका पत्रकार संघ (नाजा) मा महासचिवले आफूसमेत रहेको कार्यसमितिको पदाधिकारीलाई नक्कली पत्र दिएको विषयले एनआरएनको चुनावलाई नै ओझेलमा पारेको छ । नेजा कार्यसमितिमा रहेका एक जना सदस्यको पिताको निधनपछि उनी कार्यरत कम्पनीमा जानकारीको लागि महासचिवले हस्ताक्षर गरेर दिएको पत्रको लेटर हेड अवास्तविक प्रमाणित भएको चर्चाले नेपाली पत्रकारहरूबीच शंका उपशंका उत्पन्न भएको छ ।

अमेरिकामा नाफारहित संस्थाभित्र कुनै पदाधिकारीले किर्ते गरेको उजुरी परेमा संघीय अनुसन्धान व्युरोले अनुसन्धान गर्नुपर्ने कानुनी व्यवस्था छ ।

(न्यूयोर्कबाट एमपीको सहयोगमा द्रव्य शाह, काठमाडौं)

टिप्पणीहरू