२००७ सालमा क्रान्ति नै भएको थियो ?

२००७ सालमा क्रान्ति नै भएको थियो ?

– पुरुषोत्तम लम्साल

केही साताअघि जनआस्थामै ‘के यस्तैलाई भनिन्छ क्रान्ति ?’ शीर्षकमा प्रकाशित लेखप्रति धेरै सज्जनले विमति जनाए । ती सज्जनको दाबी ‘नेपालमा अनेक क्रान्ति अनेकपटक भएको’ भन्ने थियो । तर अन्तिममा ‘अपूर्ण नै सही क्रान्ति त क्रान्ति नै हो’ भनेर उनीहरूले संवादको बिट मारे । अथवा, कुरा टारे । तर, त्यो अपूर्णताभित्र के–के थियो वा अपूर्णतामा के के पर्दारहेछन् भनेर सज्जनहरू अहिले आफैंसँग विमर्श गर्दै होलान्, सायद । नगरे पनि केही भएन । त्यो संवादले मलाई त्यही अपूर्णता टिपेर अर्को आलेखमा बस्न प्रेरित ग¥यो ।

राणातन्त्र हटेर राजातन्त्र स्थापना हुनु क्रान्ति हो ? हो भने कसरी हो ?

नेपालमा क्रान्ति मानेर फागुन ७ मा एउटा उत्सव मनाइन्छ । त्यसलाई त जनक्रान्तिकै पगरी गुथाइएको छ । क्रान्ति नै मानेर ०४६ सालको पनि स्मरण गरिन्छ । क्रान्तिकारी दाबी गर्ने एउटा समूह ०५२ फागुनमा नेपालमा अर्को क्रान्ति रोपिएको भन्दै त्यसैको फसल अहिलेको व्यवस्था भएको दाबीसम्म गर्छ । अर्को समूह ०६२÷६३ मा पनि नेपालमा नवीन क्रान्ति भएको भन्दै उत्सव मनाउँछ । कतिले त विस्तृत शान्ति सम्झौतालाई पनि क्रान्तिको दस्तावेज मानेर फागु खेल्छन् । संविधान २००७ सालमा आयो, ०४७ सालमा पनि आयो, ०६३ मा पनि आयो, ०७२ मा पनि आयो । र, जब जब संविधान आयो त्यहाँ पनि क्रान्ति–क्रान्ति भन्दै दीपावली गरिन्छ । अचम्ममा पर्न अरू उदाहरण नै चाहिँदैन ।

हामीले भन्ने गरेका हरेक क्रान्तिपछिको सन्दर्भ वैचारिक पतनमा विलीन भएका दृष्टान्तचाहिँ केलाउँदैनौं । वा, केलाएकै छैनौं । त्यसैले म ती क्रान्तिका दाबीले सज्जनहरूलाई मानसिक रूपमै भ्रष्ट बनाएको ठान्छु । हामीले भन्ने गरेका क्रान्ति कति स्वतःस्फूर्त र कति प्रदत्त थिए भनेर यकिन नै हुन सकेको छैन र पनि हामी क्रान्तिको महारथ फलाकेर थाक्दैनौं । हामीले आफूलाई नै ती क्रान्तिको ‘स्टेकहोल्डर’ स्वीकार गर्न नसकिरहेको बेलामा मलाई उनीहरूको दाबी देखेर टीठ मात्र लाग्छ । राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक सबै क्षेत्रमा क्रान्तिको दाबी गर्नेहरूले स्वीकार गरेको त्यो अपूर्णतासँग जोडिएको मेरो जिज्ञासा उस्तै छ ।

कुन मन्दिरको घण्ट हल्लाएर गर्छौं हामी क्रान्तिको बखान ?

माथि मैले सन्देह जनाएको ‘प्रदत्त वा स्वतःस्फूर्त क्रान्ति’ले नेपालमा पछिल्लो ७० वर्षमा भएका विभिन्न राजनीतिक परिवर्तनसँग प्रत्यक्ष सरोकार राख्छ । २००७ सालमा राणातन्त्र हटेर राजातन्त्र स्थापना हुनु क्रान्ति हो ? हो भने कसरी हो ? त्यो पूर्ण क्रान्ति हो वा अर्धक्रान्ति हो वा सामान्य राजनीतिक सत्ता परिवर्तन वा परिघटना मात्र हो ? केही राजनीतिक शहीदको बलिदानलाई सम्मान गर्दै त्यो परिवर्तनमा आन्दोलनकारीले हतियार बुझाए, आन्दोलन रोके र एउटा महान विद्रोहको भ्रुणहत्या भयो ।

हो, सत्ता टिकाउन र सत्ता ढाल्न पनि दक्षिणको आशीर्वाद चाहिने परम्पराको श्रीगणेश हो २००७ सालको दिल्ली सम्झौता । १९९७ सालका चारजना महान शहीदले परिकल्पना गरेको व्यवस्था राणाबाट राजामा सत्ता हस्तान्तरण मात्र किमार्थ थिएन । त्यो सम्झौतालाई नेपालको न्याय, प्रशासन, समाज, संस्कृतिसँग कहीँ, कुनै बुँदामा पनि क्रान्तिको छनक नदिने सम्झौता मान्नुपर्ने हुन्छ । सामाजिक विभेद र असमानतालाई, सामाजिक शोषण र अन्यायलाई कहीँ–कतै संबोधन नगर्ने सम्झौता कसरी क्रान्ति हुन्छ ? प्रश्न यो हो । त्यसैले मेरो प्रश्न हो राणाको श्रीपेच राजाको टाउकोमा लगाउँदैमा त्यो कसरी क्रान्ति हुन्छ ?

त्यो सम्झौता त स्वाधीनताको मूल्यमा गरिएको सम्झौता मात्र रहेको अहिले पनि प्रतित हुन्छ । अर्थात्, दिल्ली सम्झौता स्वाधीनताको अतिशय स्खलन थियो भन्ने पर्याप्त आधार अहिले पनि छन् । तथाकथित क्रान्तिपछिका हाम्रा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई दिल्लीले दिएको स्पेस यसको दृष्टान्त हो । तिनै कोइरालाले ‘पपेट प्राइममिनिष्टर’को दर्जामा काठमाडांैमा स्थायी भारतीय मिलिटरी अखडा थापना गरेको पनि अर्को दृष्टान्त हो । अर्थात्, हामीले हाम्रो प्रजातन्त्रको बाटो २००७ सालमा बनाएका होइनौं, अरूले बनाइदिएको बाटोमा लुरुलुरु हि“डेका मात्र हौं ।

निश्कर्ष,

चानचुन २५ सय वर्षअगाडि अरस्तुले पोलिटिक्समा राजनीतिक अत्याचारलाई लिएर राज्य र व्यवस्था परिवर्तनका विषयमा आफ्नो मत दिएका थिए । उनी भन्थे, ‘जब राज्यको स्वरूप पूर्णरूपमा बदलिन्छ तब पूर्ण क्रान्ति भनिन्छ, जब राज्यसत्ता वर्तमान अधिकारीको हातबाट अन्य व्यक्तिमा जान्छ त्यो अर्ध हुन्छ ।’ पफैनन् नामका अर्का विद्वान भन्छन्, ‘यदि जनताले क्रान्तिपछि यो हुन्छ र हुनुपर्छ भन्ने विषयमा ठोस मत अभिव्यक्त गर्न सक्दैनन् भने त्यो क्रान्ति हुँदैन, लहड हुन्छ । जनताले नारामा होइन कार्यक्रममा भाग लिन नसकुन्जेल कुनै पनि क्रान्ति वा सामाजिक परिवर्तन हुने वा भएको मान्न सकिँदैन ।’ हेर्नुहोस् त अहिले पनि नेपाली समाजको राजनीतिक चेतना र जागरणको नमुना…! तपाईं यहाँसम्म आइपुग्दा कहाँ क्रान्ति भएको मान्नुहुन्छ ? म त २०७७ सालको चैत अन्तिम हप्तासम्म आइपुग्दा पनि नेपालका ग्रामीण जनतामा त्यो चेतना विकास भइसकेको मान्न तयार छैन । कुन मन्दिरको घण्ट हल्लाएर गर्छौं हामी क्रान्तिको बखान ?

हामीकहाँ त एक वर्गबाट अर्को वर्गमा सत्ता हस्तान्तरण भएकै होइन, एउटा कुलीन वर्गले अर्को कुलीन वर्गलाई सत्ताको साँचो दिएको मात्रै हो । पर पुग्नै पर्दैन, २००७ सालको समाजको चरित्र र ७० वर्षपछिको हाम्रो समाजको चरित्र अहिले पनि उस्तै प्रायः छ, भेटिन्छ र देखिन्छ भने कि¨ २००७ लाई कुन रूप र अर्थमा क्रान्ति मान्ने ? त्यो त पोपविरुद्ध मार्टिन लुथरको आन्दोलन जत्ति पनि थिएन न त्यो सामन्तवादको स्थानमा पुँजीवाद स्थापना गर्ने औद्योगिक क्रान्तिजस्तो थियो । त्यो न पर्सियन संविधान विस्थापित गर्ने इरानको इस्लामिक क्रान्ति जस्तो थियो न समाजका यावत् अवयवलाई रूपान्तरणको प्रक्रियामा लैजाने बोल्सेभिक क्रान्ति जस्तो । न त्यो पूर्ववर्ती व्यवस्थाबाट बिल्कुलै अलग फ्रान्सेली क्रान्तिजस्तो थियो न सामाजिक संरचनामा आमूल परिवर्तनको बिगुल फुक्ने चिनियाँ क्रान्ति जस्तो । आजसम्म हामीले ऊबेलाको शिक्षा पद्धतिमा समेत आमूल परिवर्तन गर्न सकेका छैनौं, हाम्रो भूमि प्रणालीसमेत अहिलेसम्म ज्यूँका त्यूँ छ, तपार्इंचाहिँ क्रान्तिको विलासमा मखलेल हुनुहुन्छ ।

शिक्षा मन्त्रालय प्याब्सन नामको संस्थाको कठपुतली रहेसम्म क्रान्ति त गफै हो सम्धी भनेर बुझे हुन्छ ।

हामीले हाम्रो शिक्षा प्रणालीलाई त २००७ सालको तुलनामा परिवर्तनकारी बनाउन सकेका छैनौं । भूमिसुधार प्रणालीलाई २००७ सालको तुलनामा प्रगतिशील बनाउन सकेका छैनौं अनि ऊ बेलै क्रान्ति भएको गीत गाउँछौं । बोल्सेभिक क्रान्ति वा रुसी अक्टोबर क्रान्ति, चिनियाँ क्रान्तिको गीत गाउनुअगाडि हामीले आफ्नो धरातल केलायौं भने सजिलो हुन्छ । गोविन्द केसीको आन्दोलन समाजवादी अभियानविरुद्धको चर्को र ठूलो व्यंग्य हो भनेर गिदीमा नघुसेसम्म बाँकी क्रान्तिको भजन नगाउँदा हुन्छ । शिक्षा मन्त्रालय प्याब्सन नामको संस्थाको कठपुतली रहेसम्म क्रान्ति त गफै हो सम्धी भनेर बुझे हुन्छ । मोहनसमशेर, बबरसमशेर, सुवर्णसमशेर, चूडाराजसमशेर, नृपजंग राणालाई समेटेर बनाइएको तत्कालीन नयाँ सत्ता र लोकन्द्रबहादुर चन्द, सूर्यबहादुर थापालाई सत्ताको मुख्तियार मान्दै क्रमशः कमल थापालाई संघीय व्यवस्था मन्त्रालय सुम्पने हाम्रो अलौकिक गणतन्त्रको क्रान्ति एउटै वा उस्तै हो भनेर बुझ्दा हुन्छ । तर, आफैँमा रमाउन पाउने अधिकार सबैसँग सुरक्षित छ, म त्यसको सम्मान गर्छु । आउनुहोस्, अर्को हप्ता ०४६ सालको आन्दोलन पनि किन र कसरी क्रान्ति थिएन भन्ने विमर्श गरौं ।

टिप्पणीहरू