ओलीबारे आफ्नो भेलामा माधवद्वारा अनेकन खुलासा

ओलीबारे आफ्नो भेलामा माधवद्वारा अनेकन खुलासा

नेकपा एमाले (नेपाल-खनाल) समूहले बागमती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ । अस्ति स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको नेतृत्वमा प्रदेश कमिटी गठन गरेको यो समूहले मंगलबार प्रदेशअन्तर्गतका सबै जिल्ला पदाधिकारी चयन गरेको हो ।

कमिटीका पदाधिकारीहरुलाई आजै पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता माधवकुमार नेपालले सपथ खुवाउनु भएको छ । शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले एमाले र माओवादीलाई पूर्व अवस्थामा पुर्याउने सर्वोच्च अदालतको फैसला विपरित अध्यक्ष केपी ओलीले गुटगत भेला गर्न थालेपछि अहिलेको अवस्था आएको बताउनुभयो ।

अध्यक्ष ओलीले गुटबन्दी गरेर पार्टीलाई आफ्नो वरिपरि राख्न खोजेपछि विभाजनको अवस्थामा पुगेको उहाँको भनाइ छ । फागुन २८ गते ओलीले भजनमण्डली जम्मा पारेर गरेको निर्णय भन्दै नेपालले आफूहरुले अस्वीकार गरेको बताउनुभयो । ‘कम्युनिस्ट पार्टीमा नीति प्रधान हुन्छ नेता प्रधान हुँदैन ।

पार्टीमा अहिले देखिएको समस्या यहि हो । हामी सामूहिकता,बहस र विचारमा विश्वास गर्छौ । उहाँ (ओली)मा व्यक्तिवाद र अहंकार पलाएको छ । विधि,विधान र पध्दति उहाँले मान्नु भएको छैन । त्यसैले पार्टीलाई बिधि,पद्धति र विचारका आधारमा चलाउन हामीले शुध्दिकरण अभियान शुरु गरेका हौँ’,उहाँले भन्नुभयो ।

नेता नेपालले विधान विपरित केन्द्रीय कमिटीमा २३ जना रातारात थपेर ओलीले स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप पनि लगाउनुभयो । ‘उहाँले २८ गते हामीहरुलाई थाहै नदिई खुसुक्क गुटको भेला गरेर केन्द्रीय कमिटी भेलाको नाम दिनुभयो । हामी त्यसलाई मान्दैनौँ’,उहाँले भन्नुभयो । उहाँले ओलीले भ्रष्टाचारको संरक्षण गरेको भन्दै त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हानसमेत गर्नुभयो ।

त्यसैगरी,बरिष्ठ नेता झलनाथ खनालले पार्टी इतिहासमै विशेष, विषम र जटिलपूर्ण परिस्थिति र परीक्षाको घडीमा रहेको भन्दै संयमित हुन नेता-कार्यकर्तालाई आग्रह गर्नुभयो । नेता-कार्यकर्ताको मूल्यांकन विषम र विशेष परिस्थितिमा हुने भन्दै उहाँले एकतावद्ध भएर पार्टी निर्माणमा जुट्न आव्हान गर्नुभयो ।

खनालले चुनाव चिन्ह र जवजको पछि लागेर मार्क्सवादलाई अलपत्र पार्न नहुने धारणा पनि राख्नुभयो । संविधानले जनवादी क्रान्ति परिपूरण गरिसकेकोले अव समाजवादी क्रान्ति आवश्यक रहेको उहाँको भनाइ छ । नेपाली समाजको विश्लेषणसहित समाजवादको अवधारणाबाट कृषि क्रान्ति अवको आवश्यकता रहेकोमा पनि उहाँले जोड दिनुभयो ।

खनालले ओलीले छैठौं महाधिवेशनबाट पार्टीमा गुटवन्दी शुरु गरेको र नवौं महाधिवेशन हुँदै अहिले आइपुग्दा उत्कर्षमा पुगेको बताउनुभयो । ‘हामीले त्यतिबेलामै निषेध र भण्डाफोर गर्नुपर्ने थियो । मदन भण्डारी फाउण्डेशन स्थापना गरी ओलीले गुटवन्दी गरे’, उहाँले भन्नुभयो ।

राष्ट्रपतिसंगको आफ्नो भेटघाटको प्रसंग सुनाउँदै खनालले भेटका क्रममा आफूले राष्ट्रपतिलाई अभिभावकीय भूमिका निर्वाह गर्न नसकेकोमा प्रश्न उठाएको बताउनुभयो ।

उहाँले अध्यक्ष ओलीले सत्ता स्वार्थका लागि माओवादीसंग एकता गरेको आरोप पनि लगाउनुभयो । यद्यपि निर्वाचनमा पाएको जनमतलाई कम्युनिष्ट आन्दोलनको असाधारण उपलव्धि मान्नुपर्ने खनालको भनाइ छ ।

ओलीले २०४४ सालमा जेलबाट निस्केपछि मरिचमानसँग भेटेर राजासँग भेट्न खोजेको भन्दै उहाँले ओलीमा पहिलेदेखि नै दक्षिणपन्थी सोच हावी रहेको बताउनुभयो । निर्वाचनमा पार्टीले अगाडि सारेको घोषणापत्र विपरित प्रधानमन्त्री तथा अध्यक्ष ओलीले दलालहरुसंग साँठगाँठ गरेको आरोप लगाउँदै खनालले त्यसैका लागि ओलीले सरकार र पार्टीमा एकलौटी गरेको बताउनुभयो ।

राष्ट्रपतिसंगको आफ्नो भेटघाटको प्रसंग सुनाउँदै खनालले भेटका क्रममा आफूले राष्ट्रपतिलाई अभिभावकीय भूमिका निर्वाह गर्न नसकेकोमा प्रश्न उठाएको बताउनुभयो । संसद विघटन र अध्यादेश अनुमोदन गर्नु अगाडि विषय विज्ञ र पार्टीका नेतासंग राय परामर्श नलिएकोमा आफूले राष्ट्रपतिसंग असन्तुष्टि जनाएको उहाँको भनाइ थियो ।

टिप्पणीहरू