नेपाली मिडिया कसरी चल्ला ?

नेपाली मिडिया कसरी चल्ला ?

-नारायण नेपाल 

सरकारले मिडिया काउन्सिल ऐनको मस्यौदा सदनमा ल्याएसँगै पत्रकारिताजगत् र अभिव्यक्ति स्वतन्त्रताको सवाल दुई वर्षदेखि सल्बलाइरहेको छ । आज नेपाली सञ्चारमाध्यमहरूको भित्री यथार्थता र नियतकाबारे चाहिँ जुनसुकै सैद्धान्तिक तर्कको लेपन लगाएपनि सत्यताको गहिराइ नियालेर हेर्ने हो भने फरक छुट्याउन कुनै कसरत गरिरहनुपर्दैन ।

२१ औँ शताब्दीको युग सूचना र प्रविधिको युग भन्ने गरिन्छ । आज विज्ञान र प्रविधिमा आएको छलाङ्गमय विकासले सञ्चारलाई अझ धेरै प्रभावशाली र प्रभावकारी रूपमा विकास गरेको छ । अहिलेका सञ्चारमाध्यम मानव जातिकै अभिन्न अंगजत्तिकै छन् । एकछिन मान्छे सूचना पाउने माध्यमबाट टाढियो भने धेरै छुटिसकेको र पछि परेको स्थिति सिर्जना हुने बेला छ ।

नेपाली सञ्चारमाध्यमका गतिविधिले जनतामा उत्साहसँगै आशंका र त्रास पनि फैलाइरहेका छन् । सञ्चारको सिद्धान्तअनुसार शुद्धता, सन्तुलन र विश्वसनियताको नारा सुँगा रटान शैलीमा आमसञ्चार माध्यम र पत्रकारकोे मुखमा झुण्डिएका झुण्डियै छन् । बोली एउटा व्यवहार अर्को नेपाली मिडिया र पत्रकारको वास्तविक अनुहार हो ।

विदेशीलाई नेपाली मिडियामार्फत आफ्नो मिसन पूरा गर्न किन बाटो दिइरहेका हौँ हामीले ? देशकै नम्बर एक भन्दै कान्तिपुरदेखि नयाँ पत्रिकासम्मले कस्को लागि कस्तो कस्तो दलाली गर्दैछन् भन्ने सवाल के नबुझिने छ र ? 

हिजोआज सामाजिक सञ्जालमा रियाक्सन र प्रतिक्रिया (लाइक, कमेन्ट)को होडमा विषयवस्तुलाई यसरी अतिरञ्जित गरिन्छ कि घटनाको यथार्थ जानकारी पाउने नागरिकको अधिकार मिडियाले नै रद्दीको टोकरीमा मिल्काउन सफल छन् । भ्रामक विषयलाई नागरिकसमक्ष पुर्‍याएर सनसनी फैलाउने, विषयवस्तु वा घटनाको बारेमा अनुमानित तर्क हालेर अनुसन्धान प्रभावित पार्नेजस्ता कार्य मिडियाबाटै भइरहेका छन् । यी हर्कतको क्षतीपूर्ति कसरी हुन्छ ? न नियामक भनिएको निकायले न्याय दिन सक्छ । न त यिमाथि कसी लाउन सक्ने अधिकारसम्पन्न त्यस्तो निकाय नै छ । भएको निकायलाई निकम्मा बनाउन खोजिएको भन्दै आउनै लागेको मिडिया काउन्सिल विधेयक एकातिर थन्किएको छ ।

जिउँदो मान्छे मरेको भन्न नेपाली मिडिया पछि परेका छैनन् । घटनाको प्रत्यक्षदर्शी र अनुसन्धानकर्मीले झैँ दोषी करार गर्ने काम मिडियाले नै गरेका छन् । घटनामा संलग्नताको यथेष्ट प्रमाण बिनै सार्वजनिक रुपमा कुनै व्यक्तिलाई नांगेझार पार्न कथित मिडियाको मिसन नै चलेको छ । संविधानमा लेखिएका व्यक्तिगत गोपनियता र सुरक्षाका विषयलाई नजरअन्दाज गरेर कसैलाई आत्महत्या गर्न, कसैलाई नदिमा फाल हाल्न, कसैलाई पासो लगाउन उद्दत गराउने पनि मिडिया नै देखिएका छन् । सबै मिडियाको समस्या यही भन्न खोजिएको हैन । तर मिडियाको लेपन लगाएर घाँटीमा कार्ड झुण्ड्याउनेहरुले नागरिकलाई घाँटीमा पासो लगाएर झुण्डिन बाध्य बनाउनेप्रति कानुनको कसी लगाउनुपर्ने कि नपर्ने ?

मानव समाजको विकासक्रमसँगै युद्धको आवश्यकताले सञ्चारको विकास भएको मानिन्छ । राजनीति र युद्धनीतिमा पूर्वतिर हान्न पश्चिम हल्ला फिजाउँने रणनीति अहिलेका मिडियाले अनुशरण गरेका छन् । यो नेपालको हकमा मात्रै होइन्, विश्वसञ्चारमै त्यस्तो देखिन्छ । चाहे त्यो छिमेकी मुलुक भारतका मिडियाको रडाको होस् या पश्चिमा मुलुक अमेरिकाका मिडियाको भुकाइ ।

लोकतन्त्रमा सञ्चार माध्यमलाई स्वतन्त्र र निष्पक्ष विचार र सूचनाको बाहक भनिन्छ । हुनुपर्ने त्यही हो । यो भनाई जति ओजपूर्ण छ, नेपाली मिडियामा हुने प्रोपागाण्डा त्यो भन्दा कैयौँ गुणा हलुका र बेकामे छन् ।

नेपाली पत्रकारिताको इतिहास मिसन पत्रकारिताबाट सुरु भएर व्यवसायिकको नारामा अल्झिदै अहिले पार्टीपत्रकारिता र पितपत्रकारितामा रुमल्लिएको छ । मेनस्ट्रिम भनिएका मिडियामा हुने दलीय वकालत, व्यक्ति केन्द्रीत जयजयकारिता र साना स्वतन्त्र भनिएका मिडियामा हुने अतिरञ्जनापूर्ण पितपत्रकारिताले सञ्चारक्षेत्रको वर्तमान र भविष्यलाई नराम्रोसँग धज्जी उडाइरहेका छन् ।

स्वतन्त्र र निष्पक्षको नारा दिएका मिडिया विदेशी दातृ निकायमा परनिर्भर हुने र राष्ट्रिय स्वाधिनता, सुरक्षाजस्ता संवेदनशील विषयका सूचना सजिलै विदेशीका पोल्टामा पार्ने गरेका छन् । ति मिडियाबाट गरिने नियोजित सूचना सम्प्रेषणको गलत शिकारमा भने आम नागरिक परेका छन् । यस्ता मिडिया व्यवसायिक पत्रकारिताको मन्त्र जप्न छोेड्दैनन् ।

मिडियाको आडमा सूचनामाथि शासन गर्न खोज्ने र मुलुकलाई धरासायी बनाउन उद्धत देखिएको कुरा लुकाएर लुक्दैन ।

दुई वर्षअघि एसिया फाउण्डेसनको हवाला दिएर अमेरिकी विदेश मन्त्रालयले जनयुद्धकालमा कब्जा गरिएको सम्पति अझै फिर्ता नभएको विषय बाहिर ल्यायो । अमेरिकी प्रतिवेदनको पृष्ठ ९ मा कब्जा गरिएका सम्पतिबारे लेखियो तर सोही कालमा कब्जा गरिएका सम्पतिमा बसेका सुकुम्वासीका बारेमा न विदेश मन्त्रालयको प्रतिवेदन बोल्यो न एसिया फाउण्डेसन नै । यतिसम्म कि नेपाली मिडियाले पनि एसिया फाउण्डेसनले नेपालमा कसका लागि के काम गरिरहेको छ ? किन नेपालका सूचना बाहिर पठाइरहेको छ ? किन गलत सूचना दिएर विश्व भ्रमित गर्न खोजेको छ ? वा अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनको अन्तर्य के हो ? यथार्थ के हो ? भन्नेबारेमा एक शब्द कोरेनन् । यसले नेपाली मिडिया कसका लागि र किन काम गरिरहेका छन् भन्ने बुझ्न कठिनाई नहोला ।

एसिया फाउण्डेसन एउटा उदाहरण हो । च्याउझैँ खोलिएका विभिन्न विदेशी फाउण्डेसन र दातृ निकायले नेपाली मिडियालाई सर्पले भ्यागुतो खेलाएझैँ खेलाउछन् । र, आफ्नो निहित स्वार्थ सिद्ध गर्न मिडियामा लगानीको बहानामा सञ्चारमाध्यममा छिरेका निकायले मुलुक नंग्याइसक्दा पनि नेपाली मिडिया ब्युझन सकेका छैन् । चाहे त्यो अहिले नेकपा फुटाउन विदेशी एजेण्ट बोकेर डुलाउने मिडिया मालिक हुन् चाहे सञ्चारमाध्यममा कालोधनको लगानी गरेर दुधले नुहाउन खोजेका दलाल । उनीहरु मिडियाको आडमा सूचनामाथि शासन गर्न खोज्ने र मुलुकलाई धरासायी बनाउन उद्धत देखिएको कुरा लुकाएर लुक्दैन ।

चीन अमेरिका द्वन्द्वको चपेटामा इन्डोप्यासिफिक रणनैतिक योजनामा जसरी नेपाल फस्दै छ त्यो सवाल कुनै पनि मुलधारको मिडियाको प्राथमिकतामा नपर्नु संयोग होला कि मिसन ?

ऐनमौकामा नेपालको परिवर्तन र लोकतन्त्रका लागि मिसनमा होमिएका मिडिया कसरी डलरवादीको चङ्गुलमा फसेका छन् । त्यसको समिक्षा अर्को पाटो हो । चीन अमेरिका द्वन्द्वको चपेटामा इन्डोप्यासिफिक रणनैतिक योजनामा जसरी नेपाल फस्दै छ त्यो सवाल कुनै पनि मुलधारको मिडियाको प्राथमिकतामा नपर्नु संयोग होला कि मिसन ?

व्यवसायिक पत्रकारिताको जप गरेर, काँधमा कार्डको जनै भिरेर क्यामेर तेर्साएर युट्युब चलाउने पत्रकारको बहस अहिले गरेर कुनै अर्थ देख्दिनँ म । सुन्दा मीठै लाग्ने व्यवसायिकताको नारामा विज्ञापनदाताको वाहवाही, लगानिकर्ताको जयजयकार र स्वार्थले घाँटी थिचिरहेको लाग्दो हो कि नाइँ पत्रकारहरुलाई ?

टाइम्स अफ इन्डियाको लगानीमा चल्ने दैनिक पत्रिका, नेताको आदेशमा लेखिने सम्पादकीय र विज्ञापनदाता वा लगानीकर्ताको कर्तुत छोपेर गरिने पत्रकारिताले व्यवसायिकताकोे खिल्ली उडाइरहेको छ । विदेशीलाई नेपाली मिडियामार्फत आफ्नो मिसन पूरा गर्न किन बाटो दिइरहेका हौँ हामीले ? देशकै नम्बर एक भन्दै कान्तिपुरदेखि नयाँ पत्रिकासम्मले कस्को लागि कस्तो कस्तो दलाली गर्दैछन् भन्ने सवाल के नबुझिने छ र ? नाफाखोर मिडिया श्रमजिवीको रगत पसिनामा होली खेलेर अप्ठ्यारो समय आउनासाथ कसरी स्वार्थी बन्छन्, कोरोनाकालले देखाइदिएन र ? के मिडियाले मिडियाको धर्म निभाएका हुन् ?

समाज र राजनीतिको मुल विषयलाई विषयान्तर गरेर व्यवसायिक घरानाको चाकडीमा लागेका मिडियाबाट हामीले स्वतन्त्र र निष्पक्ष सूचनाको आसा गर्नु ? आजको पत्रकारितामा सच्चा व्यवसायिकता भन्नु त कर्पोरेट घरानाहरु र निगम पुँजिवादको नियन्त्रण र निगाह न हो । नेपाली सञ्चारमाध्यमा रहेको यो सिन्डिकेटको घेरो तोड्न जरुरी छ  ।

समस्या र समाधान नदेखाउने सपना बाँड्ने मिडिया हामीले चिन्न छुट्याउन र रोक्न सकेनौँ । अतिआकांक्षा बाँड्ने मिडियाका सपनामा नागरिक  रमाए । फलतः उपलब्धी नहुँदा समाज नकारात्मकताको शिकार भयो ।

कुनै एक मिडियामाथि एक वर्ष निगरानी गरियोस् त्यहाँ उसको मिसन, पात्र र प्रवृत्ति, दृष्टिकोण कसरी आम नागरिकमा लादिन्छ सहजै बुझ्न सकिन्छ । लगानीकर्ताका कारण नेपाली मिडियामा सिर्जनात्मक आलोचना र रचनात्मक चेत निषेधित छ । समाजलाई दिशा निर्देश गर्ने र सामाजिक प्रतिबिम्ब हुन नसक्ने अतिवादबाट ग्रसित छन् सञ्चार माध्यमहरु । सञ्चार माध्यमहरुमा कहिले अन्ध समर्थन र कहिले अन्ध विरोधको शैलीमा उत्रने चरित्र हाबी छ । हिजोका नेपाली मिडियाले नेपालमा राजनीतिक दलका कारिन्दाका रुपमा संविधान र संघियतामा अतिवादी सपना देखाउने काम गरे । त्यसका चुनौति, जोखिम र नागरिकका दायित्व कर्तव्यबारे मिडिया नबोलिदिँदा अहिले समाज असन्तुष्टि, अभाव र डिप्रेसनमा गुज्रिरहेको छ । समस्या र समाधान नदेखाउने सपना बाँड्ने मिडिया हामीले चिन्न छुट्याउन र रोक्न सकेनौँ । अतिआकांक्षा बाँड्ने मिडियाका सपनामा नागरिक रमाए । फलतः उपलब्धी नहुँदा समाज नकारात्मकताको शिकार भयो । नेपाली मिडिया सूचनाको बाहक भन्दा बढी ज्योतिष बनेर महामारी र राजनीतिक प्रलयको व्यापार गर्न उद्धत रहे । नेपाली मिडीयाहरु गुण र तथ्यमा भन्दा धेरै रहस्य र त्रासको व्यापारमा तल्लिन भए ।

एक दशक नेपालमा राजनीतिक मिसन पत्रकारिताको गौरवपूर्ण इतिहास थियो । काँगे्रसको तरुण, एमालेको नवयुग, माओवादीको जनादेश, मसालको हाँकलाई मिसनकै रुपमा कार्यकर्तालाई राजनीतिक चेत बाँडेका थिए । ती पार्टीका दर्शन, सिद्धान्त, कर्तव्य र अधिकार बुझाउन उर्जाशील रुपमा यि मिडियाले काम गरे । त्यो खालको पत्रकारिता अहिले छैन । अहिले त सामाजिक सञ्जाल पनि पत्रकारिता र सञ्चारको माध्यमका रुपमा चित्रित छन्, यिनले आम पाठकलाई दिग्भ्रमित पारिरहेका छन् । मुखपत्र र पार्टीका प्रकाशनले गुण, दोष नछुट्याउने र एकोहोरो भजन मण्डलीको काम गरिरहेका छन् । व्यवसायिक भनिएका मिडियाले लगानीकर्ताको ढाकछोप र अतिरञ्जनाको काम गरिरहेका छन् ।

हिजो राज्य द्वन्द्वको चपेटामा पर्दा राज्य र विद्रोही पक्षबिचमा मध्यस्तताको काम गरेका र साझा नागरिक समाजको प्रतिबिम्बको रूपमा मिडिया प्रस्तुत हुने गरेका उदारहण नभएका होइनन् । तर अहिले राजनीतिक रुपमा विचलन हुँदा मिडियाको भूमिका दरिलो देखिएन, चाहे त्यो दुई वर्ष अघि नेकपामाथि प्रतिबन्ध लाग्दा होस् वा अहिले नेकपा विभाजित हुँदा होस् ।

सामाजिक सञ्चालको तिव्रतर विकाससँगै आज नेपाली सञ्चारजगत्लाई लागेको कालो दाग भनेको  फेक न्युज अर्थात झुटा समाचारको आतंक हो । नेपाली मिडियाको अर्को गम्भिर समस्या सत्ताप्रायोजित हो । अर्थात् आम नागरिकमाथि भएका सरकारी धरपकड वा दमनकाबारेमा कम बोल्ने वा प्रहरी स्रोतमाथि मात्र निर्भर रहेर रेडिमेड सूचना सम्प्रेषण गर्ने । उदाहरणका लागि भोजपुरमा प्रहरीले गोली हानेर मारिएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निहत्था कार्यकर्ताबारे कुनै खोजी रिपोर्ट दिन नसक्ने नेपाली मिडियाले सोही पेरिफेरिमा नेकपाले सोलुखुम्बु प्रहरी चौकी कब्जा गरेको र सरकार–नेकपा युद्ध नै छेडिएको भन्ने आशयका सनसनीपूर्ण समाचारले आमनागरिकलाई उराल्ने काम गरे । यो सत्ता प्रायोजित थियो भन्ने बुझ्न कुनै कठीन छैन ।

जब कुनै मुलुक सूचना सम्प्रेषणमा कमजोर वा कसैप्रायोजित हुन थाल्दछ तब त्यो देशमा शान्ति, लोकतन्त्र वा अग्रगमनका कुरा जति नै चर्का किन नहोऊन्, ति फोस्रा नै हुन् । जसको नुन तेल खायो, उसैको गान बजाना बजायो भनेझैँ मिडियाको चरित्र उदांगो छ यतिबेला । नबिर्सौ समाज र राजनीति वर्गीय हुँदा मिडिया वर्गविहिन भएर बाँच्न सक्दैन । एकातिर ताक्ने अर्कोतिर हान्ने प्रवृत्ति सुधार्न सके बाटो बिराएर बरालिएको मिडियाले निष्पक्ष र स्वतन्त्र सूचना सम्प्रेषण गर्न, नागरिकप्रति जिम्मेवार भएर धर्म निभाउन सक्नेछ ।

टिप्पणीहरू