प्रधानमन्त्रीको आफूमाथि आक्रमणसम्वन्धी अभिव्यक्ति सहानुभूतिको राजनीति कि विषयान्तर गर्ने मेसो ?

प्रधानमन्त्रीको आफूमाथि आक्रमणसम्वन्धी अभिव्यक्ति सहानुभूतिको राजनीति कि विषयान्तर गर्ने मेसो ?

गृहजिल्ला झापा पुगेर एकैदिन ३३ वटा पुल उद्धघाटन गरी भोलिपल्टै भवन शिलान्यासका लागि पोखरा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानको खतरा रहेको सनसनीपूर्ण अभिव्यक्ति दिनुभएको छ । आइतबार झापाबाट नेकपा (प्रचण्ड-नेपाल) का अध्यक्षद्वयलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन खुला चुनौति दिनुभएका ओलीले आज दिउँसोचाहिँ पोखराका कार्यकर्तामाझ आफूमाथि भौतिक आक्रमणको खतरा रहेको बताउनुभएको हो ।

नेकपा ओली समूहले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दा उहाँले आफूमाथि सम्पूर्ण रुपले प्रहार भएको दाबी गर्दै भन्नुभयो, ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ,अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तल-माथि भयो भने पनि अनौठो नमान्नुहोला ।’


राजनीतिक रुपले कमजोर भएपछि सहानुभूति बटुल्न सुरक्षा खतरा,भौतिक आक्रमणजस्ता अमूर्त कुरा गर्ने नेपाली राजनीतिको पुरानै चलन हो ।


प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको विभिन्न ढंगले विश्लेषण हुन थालेको छ । के प्रधानमन्त्रीमाथि साँच्चै सुरक्षा खतरा बढेकै हो त ? यदि हो भने त्यो गम्भीर विषय त हुँदै हो साथै सत्ता संचालकको प्रमुख व्यक्तिको हिसाबले जिम्मेवार पनि उहाँ नै हो । बाहिरबाट हेर्दा प्रधानमन्त्री ओली अहिले सबैभन्दा सुरक्षित अवस्थामा देखिनुहुन्छ । किनभने उहाँ मुलुकको शक्तिशाली प्रधानमन्त्री,चारैवटा सुरक्षा अंग उहाँसंगै छ । उहाँले सुरक्षा खतरा देख्नुभएको विप्लवसंग पनि सम्बन्ध राम्रो बनेको छ । विप्लवसंग वार्ताको तयारी अन्तिम अवस्थामा पुगेको र ‘सर्प्राइज’ दिनेगरी घोषणा गर्ने उहाँले नै भन्नुभएको हो । त्यसो भएपछि विप्लवबाट पनि उहाँ सुरक्षित रहेको मान्नुपर्छ । राजावादीसंग पनि सम्बन्ध बिग्रेको छैन । प्रतिनिधिसभा विघटन गरेर आफूहरुलाई उत्साहित बनाउने प्रधानमन्त्रीलाई राजावादीहरुले आक्रमण गर्ने प्रश्नै उठ्दैन । हिन्दूवादीसंग त झन उहाँको प्रगाढ सम्बन्ध छ । भन्नलाई कम्युनिष्ट प्रधानमन्त्री भने पनि पशुपति र राम मन्दिरका कुरा गरेर हिन्दूवादीको मन जितिसक्नु भएको छ । त्यसोभए प्रधानमन्त्री ओलीलाई सुरक्षा खतरा चैं कोबाट त ? कसले गर्ने भयो आक्रमण ?


त्यसोभए सुरक्षा अंगप्रति प्रधानमन्त्रीको विश्वास नरहेको हो त ?


आफूमाथि भौतिक आक्रमणको कुरा गरेर ओलीले सहानुभूतिको राजनीति गर्न खोजेको कतिपयको विश्लेषण छ । राजनीतिक रुपले कमजोर भएपछि सहानुभूति बटुल्न सुरक्षा खतरा,भौतिक आक्रमणजस्ता अमूर्त कुरा गर्ने नेपाली राजनीतिको पुरानै चलन हो ।अहिलेको राजनीतिक जटिलतालाई विषयान्तर गर्न यस्ता सवाल उठाइएको हुनसक्ने अनुमान गर्नेहरु पनि छन् । आफ्नो कदममाथि अदालत तगारो बनेपछि कमजोर महसुस गर्नुभएका प्रधानमन्त्रीले मूल विषयलाई डाइभर्ट गर्न यस्ता विषयको सहारा लिएको पो हो कि ?

ल उहाँमाथि आक्रमणको खतरा बढ्यो नै रे, तर,यस्तो संवेदनशील विषयमा बाहिर कराउँदै हिंड्ने कि सुरक्षा व्यवस्था बलियो बनाउने ?  मेरो सुरक्षाकर्मी फिर्ता नगर्नुहोला भन्दै अरुले बिन्ती गरेजस्तो अवस्था पनि अहिले उहाँको होइन । उहाँलाई लाग्यो भने मिनेटभरमा सुरक्षा फौजको संख्या बढाउन कसैले रोक्दैन । साइबर सेनाले पनि पहरा दिन सकिहाल्छ । त्यसोभए सुरक्षा अंगप्रति प्रधानमन्त्रीको विश्वास नरहेको हो त ? कि उहाँले ‘हत्या’ गरेको प्रतिनिधिसभा चिहानबाट ब्युँतिएर तर्साउन थालेपछि सुरक्षा खतराको महसुस गर्नुभएको हो ?

टिप्पणीहरू