भैँसीपूजा, पुत्लापूजा, भविष्य धुजामुजा

भैँसीपूजा, पुत्लापूजा, भविष्य धुजामुजा

रामकुमार एलन

पुष्पकमल दाहाल प्रचण्ड सत्तामा पुगेपछि सुनसरीतिर भैँसीपूजा गरेको एउटा तस्बिरले त्यतिखेर कम्युनिष्टको स्खलनमा चानचुने मद्दत गरेको थिएन । अझ हत्याहिंसाको राजनीति गरेर सत्तामा पुगेको मन नपराउनेहरूमा राजावादी मात्रै थिएनन् । घर लुटिएको, आफन्त कुटिएको पीडामा रहेका पुराना सामन्तीहरूलाई त्यो तस्बिर र डेढ लाखको पलङ कम्युनिष्टलाई बदनाम गराउन निकै चोटिलो साध्य बनेको थियो । प्रचण्डलाई भैँसीपूजा गराउने हामी हौँ भन्ने अर्का मौसमी कम्युनिष्ट पनि काठमाडौंमा भेटिएका थिए । सत्तामा पुगेकालाई बदनाम गराउने र आफन्त भनेर चिनाउने ठूलै टोली छ काठमाडौंमा । त्यही टोलीले सुनसरी पु¥याएर तत्कालीन पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई भैँसीपूजा गर्न लगायो ।

गाउँघरमा कुनै दोक्ष (दोष) काट्न अनेक काम गरिन्छ । जस्तो छोरा बिरामी नपरोस् भनेर आमाहरूले नामै त्यस्तै राखिदिन्छन् ः लुते, कामी । असल नाम काढ्दा आफ्नै छोरा बिरामी पर्ला भनेर अर्काको नाम राख्ने त्यो चलन अहिले पनि छ । दाहाललाई पनि त्यसै गरिदिए कसैले । उसै पनि हाम्रा कम्युनिष्ट नेताहरू बाहुन राखेर जोखाना हेराउन र साइत पारेर शपथ खान माहिर छन् । फगत शेरबहादुर देउवालाई मात्र जिस्क्याउँछन् कि ज्योतिषीले सातपटक प्रधानमन्त्री हुन्छ भनेका कुरामा कटाक्ष गरेर ।

यो भैँसीपूजामा उडाउनेहरूले पछिल्लो १५ वर्षमा नेपाली ध्वजाका विमानहरू उडाएनन् । फाइटर विमानहरू ल्याएनन् । पानीजहाजहरू दौडाएनन् । उडाउन किन जरुरी थियो र जब जनता एकपटक कम्युनिष्टहरू मिलेको हेर्न खोजिरहेका थिए । जनमत कम्युनिष्ट एक भएको हेर्ने अवस्थामै थियो । र, उखान तुक्का र काउकुति लाग्ने वीर रसका सपना बाँड्दा नै दुई तिहाईको छेउछाउमा जनताले मत पनि दिए । तर, बहुमतको कम्युनिष्ट सरकार १ वर्ष नपुग्दै साँच्चै यो त्यही गाउँमा आमाले नाम राखिएको पूmर्तिलो छोराको नाम लुतेजस्तै देखिन थाल्यो । हिजो एउटै चुनाव चिह्न सूर्य राखौँ भन्दा नमानेको दोषमा असन्तुष्टिहरू छताछुल्ल हुन थाल्यो । पूर्व एमालेमा पनि आफन्तहरूको पालपोषमा प्रधानमन्त्रीको समय व्यतित हुन थाल्यो । वरियताका नेताहरूको हुर्मत लिन प्रचण्ड तुरूपहरू प्रयोग भए ।

नेपाली ध्वजाबाहक पानीजहाज र रेलको डिङ हाँक्दै सरकार यहाँसम्म आइपुग्दा बलशाली भए प्रशंसा गाउने र पिए हुन चाहनेहरू । २०७० को एमाले नवौँ महाधिवेशनमा सारथि बनेका वामदेव गौतमले केपी शर्मा ओलीका लागि के मात्र गरेनन् ! अबको अध्यक्ष तपाईं, प्रधानमन्त्री पनि तपाईं भन्ने लोभ देखाइदिएपछि वामदेव गौतम विदेशमै बिमार प्रधानमन्त्री लिनसमेत पुग्नु भयो । तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा कहिल्यै उक्लन सक्नु भएन । बरु अपमानको डोलाले च्यापिँदै, थलिँदै आज ७७ जिल्लामा आफ्ना कार्यकर्ता को को हुन् भनेर हुलिया सार्वजनिक गरिरहनु भएको छ । उहाँका खास सारथिहरू आज माधवकुमार नेपाल र प्रचण्डकहाँ हुनुहुन्छ, केही केपी शर्मा ओलीतिर ।

वामदेव गौतमको त्यो अवस्था देखिदेखी अबको सारथि मै हुँ भनेर पछि लाग्नु भएका रामबहादुर थापा बादलको पछिल्लो हालत यहाँहरूले देखिसक्नु भएको छ । आफ्नै पिएले समेत छाडेपछि प्रचण्डलाई चिडियाखानामा राख्छु भन्न भ्याउनु भएका थापाको औकात र अवस्था यतिखेर सूर्य थापा, कर्ण थापा त के, केहीदिन अघि केन्द्रीय सदस्य हुनु भएका मेरा पत्रकार मित्र सम थापा भन्दा पनि तल ङ श्रेणीमा पुगेको हेटौंडाबाट ह्वांगै देखिन्छ । प्रदेश २ मा प्रमुख बनाइनु भएका अर्का पत्रकार मित्र डा. राजेश अहिराजअघिका तिलक परियार तिनै रामबहादुर थापा बादलका असली मान्छे हुन् । केहीदिन अघि युवासंघको भागबण्डामा थापा समूहका बिरु तामाङले ४० प्रतिशत माग्दा ४ प्रतिशतमा पनि नपत्याइएपछि थापा तनावमै हुनुहुन्थ्यो । आफ्नै पिएसमेत ओलीका लागि राख्न नसक्नु भएका थापाले आफ्नो वरियता जोगाउन त केपी ओलीसँग हम्मे नै थियो । कार्यकर्ताका लागि पनि ओलीबाटो अरु विषाक्त बन्यो । प्रचण्डलाई चिडियाखानामा राख्छु भनेर फकाउन खोजे पनि प्रधानमन्त्रीले यस्तो अस्त्र प्रहार गरिदिनु भयो कि, प्रदेश प्रमुख तिलक परियार नै पदमुक्त । एउटा दलितमाथिको प्रहारमा उहाँ बोल्न सक्नुभएको छैन । हल न चल भएर बस्नु भएको छ । ओलीले चाहेको भए प्रचण्डका मान्छे अमिक शेरचन पनि फालिदिन सक्नुहुन्थ्यो ।

पार्टीभित्र वरियता खोज्दा रामबहादुर थापा बादलले यतिखेर दुई दनक पाइसक्नु भएको छ । अब उहाँले आफ्नो रगतपच्छे नंग्राले तानेर प्रचण्डलाई चिडियाखानामा राखेको हेर्न ज्ञानेन्द्र शाह र तपाईं हामीलाई यही जुनी काफी होला कि नहोला ? सम्झौँ ः यिनै बादलको उग्रसनकले प्रचण्ड २०६४ को सरकारमा भड्खालोमा परेका हुन् । त्यतिखेर सेनापति रुक्मांगद कट्वाललाई नहटाउनुस्, समस्या हुन्छ भनेर प्रचण्डलाई कसले भनेका थिएनन् र ? तर ‘मित’ भनेर गम्लंग अंगालो हाल्दै म ‘तपाईंमा विलिन भएँ’ भनेपछि भावुक बनेका प्रचण्डले आँट गर्नु भयो । र, त्यही कट्वाल प्रकरणमा बहुमतको सरकार गर्लम्म ढल्यो । सरकार ढलेपछि सडकमा पुग्नुप¥यो । तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले अबको २५ वर्ष कम्युनिष्ट सरकार भन्नु मात्र भयो । भैँसीपूजाले पनि थेगेन सरकार । त्यसको कारक रामबहादुर थापा बादल हुन्, धेरैले भुल्नुभएको छैन होला । मोहन वैद्यसँग छुट्टिएर प्रचण्डकहाँ आउँदा पनि बादलले यस्तै धोका दिनुभयो । प्रचण्डलाई धोका दिएर वैद्यकहाँ पुग्नु भयो । अहिले प्रचण्डलाई धोका दिएर ओलीतिर वरियता खोज्नुभएका बादल स्वयं कालो बादलले घेरिनुभएको छ । थाहा छैन, चिडियाखानामा को भेटिने हुन् ? तर एउटा कुरा प्रष्ट छ, उहाँलाई जतिसक्दो खपत गर्ने र चाँडै वामदेवजस्तै कमजोर देखाउने काममा प्रधानमन्त्री र उहाँको पार्टीले सातैपिच्छे ‘गिफ्ट ह्याम्पर’ दिइरहेको छ ।

२०७७ वैशाख १७ बाट कालो बादल लागेको नेकपा यतिखेर औपचारिकरूपमा विभाजनको मिति कुरेर बसेको छ । काम नलाग्ने माधव नेपाल भनेर गाली गर्नमा युवा पुस्ता खपत भएका छन् । काम नलाग्ने पुष्पकमल दाहाल भनेर लेखेका भरमा रेलका महाप्रबन्धक र प्रदेश प्रमुख पदहरू बाँडिएका छन् । विप्लवलाई गोली ठोक्छौँ भन्ने बादलहरू र प्रतिबन्धको फरमान सुनाउने गोकुल बाँस्कोटाका जुनियरहरू विप्लवको प्रशंसामा आयु पार गरिरहेका छन् । माधवकुमार नेपाल रोज्ने कि म भन्ने प्रधानमन्त्रीकै प्रश्नपछि माधवकुमार नेपालको बदख्वाईंमा लागे केही । पछि प्रचण्ड थोरै ओलीतिर मिलेजस्तो हुँदा राष्ट्रनेता भनेर ओली र प्रचण्डको तस्बिर राखी सामाजिक सञ्जालमा लेख्न भ्याइनभ्याइ भयो कार्यकर्तालाई । यो साता विप्लवको प्रशंसामा बिताए । हुँदाहुँदा यतिखेर प्रदेशका गृहमन्त्री हिक्मत कार्कीहरूले समेत पुत्लालाई नमस्कार गरेको तस्बिरहरू सामाजिक सञ्जालमा आए । कम्युनिष्ट पार्टी पद्धति, विधि र नीतिमा चल्छ भनेर पढाउनेहरूले भैँसीपूजा गलत भन्दै व्यक्तिपूजा र महिमामा ऊर्जाशील पुस्ताको १५ वर्ष खत्तम पारिदिए । यतिखेर पुत्लापुजामा सरिक बनाएका छन् । यो १५ वर्ष मलेसियामै बसेको भए पनि बालकोटतिर ससानो घरघडेरी हुन्थ्यो भनेर युवा पुस्ता ४० कटेसी पनि रमाउन पाइरहेका छैनन् । नेताहरूले देश धुजामुजा पार्दा रमाउने कसरी ? नाकाबन्दी, भूकम्प, कोरोनाका कारण आर्थिक मन्दीमा देशमै कमाउने कसरी ? खोइ नेताहरू र सरकारको श्वेतपत्र, अबको पार्टी के हुन्छ, कस्तो हुन्छ र युवापुस्तालाई सम्भावना भनेर ? लेखिरहँदा मंगलबार प्रधानमन्त्रीको जन्मदिन, शुभकामना जन्मदिनको प्रधानमन्त्रीज्यू ।

[email protected]

टिप्पणीहरू