बीस वर्षअगाडि र अहिलेका प्रचण्ड

बीस वर्षअगाडि र अहिलेका प्रचण्ड

– जानुका धमला

बीस वर्षअघि नुवाकोट जिल्लाको तारुका प्रहरी चौकी माओवादी जनसेनाले कब्जा गरेको घटनाबाटै हो मैले पहिलोपटक माओवादी फौजी कारबाहीबारे सुनेको । त्यहीबेला थाहा पाएकी हुँ प्रचण्डबारे । मेरो घर आँगनमा आइरहने शहीद मोचकुमारी मगर, राजकुमार श्रेष्ठ, हाल राजनीतिबाट गुमनाम पात्र अर्जुन अगस्तीहरूले प्रचण्डको स्केच गरेको तस्बिर देखाएर भन्ने गर्थे– उहाँ नै हो यो आन्दोलनको कमाण्डर । जुँगामुठे मान्छे, दाहिने हात उठाएर ‘लाल सलाम’ गरेको फोटो । किन यो फोटो यति धेरै महत्वको छ ? २० वर्षअगाडिको प्रचण्ड र २० वर्षपछिको प्रचण्डलाई समानान्तर आँखाले हेर्दा ठम्याउनै गाह्रो हुनेरहेछ ।

जनयुद्ध दिवस किन मनाइन्छ ? औचित्य के हो ? जनयुद्धको सवाल कहाँबाट कहाँसम्म जोडिएको छ ? वर्गीय मुक्ति सम्भव छ ? हामी सबैखाले दासताबाट मुक्त हुन्छौं ? यस्ता प्रश्न जनयुद्धको मोर्चामा सामेल नहुँदासम्म मेरालागि गौण थिए । त्यसैले मैले जनयुद्ध दिवसलाई सामाजिक राजनीतिक कार्यक्रमको रूपमा कहिले मनाएँ भनेर सम्झँदा त्यो ५ औं दिवसबाट औपचारिक हुनेरहेछ ।

सानो हुँदा बासँग केही समय जाउलाखेलको प्रहरी कार्यालयमा बसेको थिएँ । कार्यालयको कमाण्डर हुनुुहुन्थ्यो मेरो बा । त्यहीबेला समाएको थिएँ, बालेसमेत नदेख्ने गरेर ३०३ राइफल । पछि बालाई भनेँ, ‘ठूलो भएपछि म पनि बन्दुक बोक्छु । साँच्चै बन्दुक त बोकेँ मैले तर बा पार्टीको होइन कि बा को विद्रोही पार्टीको ।

२६ औं जनयुद्ध दिवस मनाउँदै गर्दा माओवादी जनयुद्धको नेतृत्व गरेका तत्कालीन नायकहरूलाई सोध्न मन छ, हिजो तिमीहरूले लगाएको नारा कहाँ पुग्यो ? अहिले कोही सत्तामा, कोही सडकमा किन महोत्सव मनाइरहेका छौ ? इमान्दार कार्यकर्तामाथि अन्याय भएको छ कि छैन ? हिजो सँगै लडाइँ लडेका सहयात्रीहरू कहाँ छन् र किन त्यहाँ छन् ? उपलब्धिहरू थिए भने तिम्रा लागि लड्ने सहयात्री र जनताका लागि पनि महोत्सव आउनुपथ्र्यो नि हैन र ?

क्रान्ति–क्रान्ति भनेर सपना देखाउनेहरूले क्रान्ति विसर्जन गरेपछि अहिले कस्तो खालको सपना देख्छन् होला ? लडाइँ कमाण्डरले पनि लड्यो, सिपाहीले लड्यो तर कमाण्डर आरामदायी सत्तामा सवार हुँदा सँगै लडेका सहयोद्धाहरू किन काठको बाकसमा विदेशबाट फर्किन बाध्य छन् ? रामबहादुर थापा बादलहरूलाई प्रतिगमनको समर्थन गर्नका लागि बगेको थियो त्यो रगत ?

मैले जनमुक्ति सेनाको सदस्य भएर पहिलोपल्ट सहभागी भएको मोर्चा सर्लाही जिल्लाको इलाका प्रहरी कार्यालय थियो । पूर्वका विभिन्न फौजी मोर्चादेखि पश्चिम रुकुमको चौरजहारी भिडन्त, म्यादी जिल्लाको सदरमुकाम बेनी र जनयुद्धको अन्तिम मोर्चा चौतारासम्म आइपुग्दा पनि लागेको थिएन, जनयुद्धका मुद्दाहरूलाई सत्तासँग साटेर आजको हविगतमा मैले हाम्रा कमाण्डर र नेताहरूलाई देख्नुपर्छ भनेर । म जस्तै हजारौँ जनमुक्ति सेना आज पनि युद्धमा लागेको ग्रिनेड गोलीका छर्रा बोकेर विदेशमा काम गर्न बाध्य छौं । शान्ति प्रक्रियापछि उदाएको चैते जनमुक्ति सेनाहरूको चतुर्‍याइँले इमान्दार जनयुद्ध लडेका असली सिपाहीको अपमान भएको छ, यसको छानबिन गर्नुपर्छ कि पर्दैन नेतृत्वले ? इज्जतले लडेको लडाइँ हो त्यो तर जसको कारणले राज्य सत्ता फेरियो उनीहरू अपमानित भए सत्ताको तरमा केही सीमित मान्छे रमाए ।

टिप्पणीहरू