टोपबहादुरले थाले धमाधम टप्काउन

टोपबहादुरले थाले धमाधम टप्काउन

सरकार कामचलाउ छ तर उपप्रधानमन्त्री भइसके पनि पदकै लागि आफ्नो पूर्वविचार समूहलाई समेत छोडेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्नुभएका टोपबहादुर रायमाझीले विभिन्न कम्पनीमा बोलकबोलमार्फत नियुक्त गरिरहेको सिंहदरबार र बालुवाटारमा चर्चा व्यापक छ ।

सबैभन्दा अचम्मको नियुक्ति सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीमा भएको छ । ठूला जलविद्युत् आयोजना निर्माण गर्न स्थापित कम्पनीमा ऊर्जा क्षेत्रको शून्य अनुभव भएका अनन्तराज घिमिरेलाई ल्याइएको छ । घिमिरे मध्यपश्चिम विश्वविद्यालयमा इञ्जिनियरिङ संकायको डिन चलाउन नसकेपछि छाडेर हिँडेका हुन् । उनी यसअघिका ऊर्जामन्त्री वर्षमान पुनको प्रिय थिए भने अहिले रायमाझीको पनि ।

कम्पनीको तत्कालीन प्रबन्ध–सञ्चालक मोहनराज पन्त जनार्दन शर्माको मान्छे भन्दै मन्त्री पुनले सञ्चालक समिति तयार हुँदासमेत उनको कार्यकाल थप्न रोकी घिमिरेलाई नै नियुक्त गर्न खोजेका थिए । ‘एकथरीले प्रचण्ड–माधव नेकपाको इञ्जिनियरिङ कमिटीमा सचिवालय सदस्य घिमिरेले आफू र आफ्नो टिम मन्त्री रायमाझीको कित्तामा उभिने शर्तमा नियुक्ति लिएको भन्छन् भने अर्कोथरीले मोटो रकम बुझाएर पद हत्याएको आशंका गरेका छन्’, ऊर्जा मन्त्रालयका एक अधिकारी भन्छन्, ‘घिमिरेले आफँै पनि मन्त्री, सचिवसहित छनोट समितिलाई प्रभाव पारेको बताउँदै अन्य कम्पनीका सहायक कम्पनीको लागि रकम बुझाउने शर्तसहित एमडी खोज्दै हिँडेको चर्चा छ ।’ उत्पादन कम्पनीको सञ्चालक समिति अध्यक्षमा ऊर्जा सचिव दिनेशकुमार घिमिरे छन् ।

वर्षमान पुनले घिमिरेलाई एमडी बनाउनेभन्दा सचिव घिमिरेले त्यतिबेला आफू निकटहरूसँग ‘७ तहको इञ्जिनियरमै योग्यता नपुगेको व्यक्तिलाई कसरी एमडी बनाउनु’ भन्ने गरेका थिए ।

कम्पनीसँग ३ हजार ४ सय ३७ मेगावाट क्षमताका ६ वटा जलविद्युत् आयोजना छन् । आयोजनाहरू सर्वेक्षणको विभिन्न चरणमा छन् । यिनलाई हत्याउन स्वदेशी तथा विदेशी जलमाफियाहरू लागेका छन् । यसनिम्ति चाकडी र लेनदेनमा माहिर मानिएका घिमिरेलाई उपयुक्त पात्र ठानिएको छ ।

पुन मन्त्री हुँदा आयोजनाहरू विदेशी कम्पनीसँग समझदारी गरी निर्माणका लागि पन्तलाई दबाव दिएका थिए । तर, पन्तले पुनको दबावलाई ठाडै अस्वीकार गर्दै आए । ‘मन्त्री पुन हुँदासमेत आयोजनाहरू माफियालाई सुम्पिन खोजिएको थियो तर पन्त सरले मान्नुभएको थिएन, यसैमा दुई जनाबीच खटपट परेको थियो’, कम्पनीका एक कर्मचारीले बताए । नेपालको सबैभन्दा ठूलो संस्थान विद्युत् प्राधिकरणमा बिनाप्रतिस्पर्धा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरियो । यो नियुक्तिमा सिधै बालुवाटारले हस्तक्षेप गरेको रायमाझीले निकटहरूलाई बताउने गरेका छन् । शाक्यलाई कार्यकारी निर्देशक बनाउन बालुवाटारका बिचौलिया मिनेन्द्र मल्ल र प्रधानमन्त्रीको सचिवालयका भित्रिया राजेश बज्राचार्यको ठूलो हात रहेको स्रोतले बतायो । यसमा रायमाझीले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको हैसियतमा निर्णय मात्रै गरेका हुन् । ‘बालुवाटारको दबाब थेग्न सक्नु भएन, कि मन्त्री छाड्नुपर्ने कि शाक्यलाई एमडी बनाउने प्रस्ताव लैजानुपर्ने अवस्था आएपछि बल्लबल्ल पाएको पद जोगाउन नै दोस्रो विकल्प रोज्नुभएको हो’, रायमाझीनिकट सरकारी नेकपाका एक नेताले बताए ।

शाक्यले ठेक्कापट्टामा संलग्न व्यक्तिलाई मल्ललाई भेट्न लगाउने गरेको प्राधिकरणको ठेक्कापट्टामा संलग्न एक विदेशी कम्पनीका नेपाली एजेण्टले बताए । ‘मल्ल र राजेशबाट ठीक छ भनेर आएपछि मात्रै प्राधिकरणको निर्णय हुन्छ, हरेक निर्णयमा उनीहरूको सहमति आवश्यक हुने गरेको छ’, प्राधिकरणका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

टिप्पणीहरू