भव्य बंग्लोमा खतिवडाको ‘भ्यालेण्टाइन्स’

भव्य बंग्लोमा खतिवडाको ‘भ्यालेण्टाइन्स’

संयुक्त राज्य अमेरिकाका लागि नवनियुक्त राजदूत डा. युवराज खतिवडा राजधानी वासिंगटन डिसी पुगेलगत्तै विवादमा तानिएका छन् । विवादबीच आफैँ अर्थमन्त्री हुँदा खरिदको लागि स्वीकृति प्रदान गरिएको आलिशान बंग्लोमा गरिब देशका राजदूतले अघिल्लो आइतबार बुढेसकालको ‘भ्यालेण्टाइन डे’ समेत मनाएका छन् ।

यसअघि कार्यकाल सकिएपछि पनि ‘अर्को आदेश नभएसम्म’ को लागि कायम रहेका अर्जुन कार्कीले ७७ लाख डलरमा खरिद गरेको राजदूत निवासमा डा. खतिवडा दम्पती भ्यालेण्टाइनको केही दिन अघिदेखि बस्न थालेको हो ।

खरिद गर्दा एजेण्ट कमिशनको नाममा प्राप्त झण्डै ४ लाख डलर ‘सदुपयोग’ भएको वासिंगटन वरिपरिका नेपालीहरूको भेटघाटमा अहिले पनि चर्चा हुने गर्छ । राजदूत निवासको निम्ति किनिएको घरको मूल्य अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको भन्दा ४ लाख डलर मात्र कम हो । ओबामाले ८१ लाख डलरमा घर किनेका थिए । डिसीको २९११ युनिभर्सिटी टेल नर्थवेष्ट ठेगाना रहेको राजदूतको नयाँ निवास १० हजार १ सय ३५ वर्ग फिटमा फैलिएको छ । जहाँ ७ बेड रुम र १० वटा बाथरुम छ । आउट डुअर स्विमिङ पुलका साथै भवनभित्र लाइब्रेरी, थरी थरीका बैठक कोठा, बिलियार्ड हल र टेबुल टेनिस हलसमेत छन् । सबैभन्दा रमाइलोचाहिँ खतिवडालाई पाँचतारे होटलको जत्रै बारसमेत उपलब्ध छ ।

तुलनात्मक रूपमा डिसी अन्य राज्यभन्दा महँगो क्षेत्र हो । तर, त्यसभित्रको पनि झन् महँगो क्षेत्रमा झण्डै १ अर्ब रूपैयाँको निवास किन्ने योजनालाई पहिले नै शंकाको दृष्टिले हेरिएको थियो । त्यतिबेला कार्की उताबाट मिलाउने र खतिवडा यताबाट दिलाउने हैसियतमा रहेकाले महँगो र अनावश्यक साइजको घर किन्न कुनै समस्या नभएको दूतावासका कर्मचारी बताउँछन् ।

माननीयहरूले ग्रामीण क्षेत्रको विकासका लागि बजेट माग गर्दा पन्छाउने तिनै खतिवडाले राजदूत कार्कीको योजनामा अर्ब रूपैयाँमा उपयोग कम, खर्च बढी हुने भवन खरिदको लागि तत्काल निकासा गरिदिएका थिए । एनजीओ क्याडर राजदूत कार्कीले मन्त्री खतिवडालाई रिझाउन नोभेम्बर २०१८ मा आफैँले गाडी हाँकेर धेरै दिन न्युयोर्क, मेरिल्याण्डलगायतका अमेरिकाको पूर्वीतट शयर गराएका थिए । तर, तिनैले राष्ट्र संघको महासभामा जाँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई रिसिभ गर्न न्युयोर्क नपुगी अनेक बहानामा डिसीमै बसेपछि अमेरिका बस्ने कांग्रेसी रुष्ट भए ।

कार्कीमाथि अमेरिकामा संकलित रकम आफ्नै संस्था रुरल रिकन्स्ट्रक्सनमार्फत वितरण गरेको गम्भीर आरोपसमेत लागेको छ । त्यसैले १ अर्बको घर खरिदमा राम्रै लेनदेन भएन भन्न नसकिने त्यहाँका नेपाली बताउँछन् । कूल ७७ लाख डलरको भवन खरिदमा एजेण्ट कूलमणि आचार्यले ५ दशमलव १६ प्रतिशत बराबरले हुन आउने ३ लाख ९७ हजार ३ सय २० डलर कमिशन बुझेको प्राप्त समाचारमा जनाइएको छ ।

उक्त दाबीलाई पुष्टि गर्दै स्रोत भन्छ, ‘कुलमणिले दूतावासको भवन मर्मत सम्भारको ठेक्का पनि पाउँदै आएका छन् । त्यसको लागि उनकै मातहतमा रहेका तीन वटा कम्पनीलाई प्रतिस्पर्धा गराएको देखाएर एउटालाई ठेक्का दिएपछि आचार्यले दूतावास मर्मतको ठेक्का पाएको बताइन्छ । आचार्यले राप्रपा नेता विक्रम पाण्डेको कालिका कन्सट्रक्सनमा कार्यरत छँदै दूतावासको ठेक्का लिने उद्देश्यले एभरेष्ट नामक कम्पनी दर्ता गरेका थिए ।

उक्त काममा प्रधानमन्त्री केपी ओलीनिकट प्रवासी मञ्चका अध्यक्ष प्रभु थापाले आचार्यलाई भरपूर सहयोग गरेको बताइन्छ । दूतावास स्रोत भन्छ, ‘राजदूत कार्कीले पछिल्लो पाँच वर्षमा हरेक काम थापा र आचार्यमार्फत् फत्ते गराउँथे ।’ कूटनीतिको पहिलो खुड्किलो नै थाहा नपाएका उनलाई अमेरिकाको विदेश मन्त्रालय स्टेट डिपार्टमेण्ट बुझ्नै धेरै समय लाग्ने कर्मचारीहरू बताउँछन् । उनले ओहोदाको प्रमाणपत्र राष्ट्रपति जो बाइडेनसमक्ष बुझाउने समय हालसम्म पाएका छैनन् ।

औपचारिक रूपमा ओहोदाको जिम्मेवारी नै नसम्हालेका खतिवडाले गत शुक्रबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा राजदूतको हैसियतले सन्देश दिएपछि दूतावासका कर्मचारी अलमलमा परेको देखिन्थ्यो । तर, अमेरिकाका विभिन्न स्थानमा भएको ठूलो हिमपातको विपत्तिमा फसेका नेपालीबारे उनले आफ्नो सन्देशमा एउटा शब्द पनि नखर्चेको टेक्सास राज्यका एक जना नेपाली पत्रकारले बताए ।

टिप्पणीहरू