ओइ खै त मलाई लाइक फर्काएको ?

ओइ खै त मलाई लाइक फर्काएको ?

अधिवक्ता प्रेमराज सिलवाल

‘तिमीले आफ्नो ब्वाइफ्रेण्डसँग घुमेको फोटो र स्टाटसमा कमेन्ट गरेको थिएँ । ओइ, खै त मलाई लाइक फर्काएको ?’ उताबाट मोटरबाइक र गाडीहरू युवतीको अघिल्तिर आइसक्दा र ट्वाँट्वाँ हर्न बज्दा पनि उनी आफ्नै तालमा थिइन् । भन्दै थिइन्, ‘मैले हिजो लोड गरेको फोटो १ सय चार जनाको कमेन्ट र ३ सय पचास जनाले लाइक गरेछन् ।’ ‘तैँले अझै कमेन्ट गरेकी छैनस् ।’ ‘ओई छिटो कमेन्ट गर त !’

काठमाडौंको कमलादी नजिकैबाट बाटो काटिरहेकी युवतीको संवाद हो यो । इन्टरनेटको लत र संस्कृतिबाट नेपाली सहरिया युवा–युवती र विद्यार्थीलाई कसरी कुन स्तरमा अम्मली बनाएर लगेछ भन्ने हेर्न धेरै टाढा जानै पर्दैन । कोरोनामा ६ महिनाभन्दा बढीको घर बसाइ र इन्टरनेटको आदतले युवा, महिला, गृहिणी र आममानिसलाई अन्धोजस्तै बनाएर लगेजस्तो देखिन्छ ।

युवाहरू यति अम्मली बन्दै छन् कि खान र अन्य जरुरी काम छाडेर पनि मोबाइल र अनलाइनमा झुम्मिन थालेका देखिन्छन् । अनलाइनकै कारण युवाहरू भड्किलो र सस्तो अम्मली हुँदै गएका छन् । जसकारण असामाजिक, निजी मतलवी र स्वार्थीपना समाजमा व्यापक बन्दै छ । अनलाइनमा लत बसेपछि घर, परिवार, समाज, देश कसैको पनि कुनै मतलव नहुने रहेछ । केही युवा र विद्यार्थीले टिकटक बनाएर भाइरल बन्ने सोचमा लागी अनेकथरी उत्ताउला र भड्किला भिडियो अपलोड गर्दै आएका देखिन्छन् । स–साना नानी र केटाकेटी पनि टिकटिकको कुलतमा फस्दै छन् । हेर्दा सामान्य लाग्ने र मनोरञ्जन नै हुने भन्ने लाग्ने भए पनि यो र यस्ता प्रवृत्तिले सामाजिक विकृति र विशृंखलता निम्त्याउँदै गएको छ ।

कतिलाई आफूलाई लागेको गर्न के ले छेक्छ र ? भन्ने लाग्न सक्छ । कतिलाई मेरो निजी कुरा हो भन्ने पर्न सक्छ । तर, त्यसले निम्त्याउने सामाजिक र साँस्कृतिक समस्या भने भोलिका दिनमा विकराल र भयानक बन्ने अवस्था देखिँदै छ । सहर बजारदेखि गाउँ–गाउँसम्म फेसबुक र अनलाइनसम्बन्धी अनेकौं लत र कुलतको कारण अनेक खालका सामाजिक समस्या आइसकेका छन् । कतिपयले ख्यालख्यालमै गम्भीर प्रकृतिका अपराध र अपराधजन्य क्रियाकलाप र हर्कतको संकेत गर्ने गरेका छन् । कसैलाई जिस्कने र केही मनोरञ्जन गर्ने नाममा अर्काको निजी जीवनमाथि धावा बोल्ने, निजी कुरा सार्वजनिक गरिदिने, अनेकथरी फोटा मिलाएर गैरसामाजिक र अनैतिक क्रिया गर्नेदेखि बलात्कार र बलात्कारका लागि उत्प्रेरित गर्नेसम्मका क्रिया हुन् थालेका छन् । यसले भोलिको नेपाली समाज र विशेषगरी युवा समुदाय कता पुग्ला भन्ने चासो र चिन्ता बढ्न थालेको छ ।

आफ्ना अध्ययन, सीप, ज्ञान, क्षमता र योग्यता बढाएर देश, समाज र आफ्नो निजी जीवन सुदृढ बनाउनुपर्ने उमेर समूहका अधिकांश विद्यार्थी तथा युवा अनलाइन र अनलाइनजन्य अनेकौं माध्यमका शिकारी र अम्मली बन्दै गएकैै कारण समाजमा साइबर क्राइम र साइबर क्राइम उन्मुखका अनेक विकृति देखिँदै छन् ।

सरकार र नेपाल प्रहरीले साइबर क्राइमलाई अहिले बढी नै गम्भीर ढंगले हेर्दै छ । किशोर÷किशोरी र विद्यार्थीले ख्यालख्यालमै र सस्तो मनोरञ्जनको कुलतमा गम्भीर अपराध भएको थाहै नपाउने अवस्था र स्थिति छ । यसले नेपाली समाजमा साइबर क्राइमसम्बन्धी जनचेतना व्यापक मात्रामा फैलाउनुपर्ने खाँचो बढेर गएको छ । साइबर क्राइमसम्बन्धी ऐन, २०६३ ले विभिन्न अपराधमा विभिन्न सजायँको व्यवस्था गरेको छ । ०७४ मा जारी गरिएको मुलुकी अपराध संहिता ऐनका समेत विभिन्न दफामा साइबर क्राइम र साइबर क्राइम खाले अपराधलाई गम्भीर रूपमा राखिएको छ । एउटा फोटो पनि अर्काको मञ्जुरीबिना खिच्न पाइन्न । यसरी मानिसलाई यससम्बन्धी अनेकौं पक्षमा र विभिन्न स्तरमा जनचेतना सूचित गर्नै पर्ने अवस्था छ ।

भान्छामा दूध उम्लेर गइसकेको हुन्छ उता युट्युब र फेसबुकमा मानिस लिसो टाँसिएजस्तो टाँसिइरहेको हुन्छ ।

कतिपय अपराध ख्याख्यालमै हुने गरेका छन् । यसलाई न्यूनीकरण गरी सभ्य समाज निर्माण गर्न युवाजन्य सूचना र जानकारीलाई बढावा दिनुपर्ने खाँचो बढेको विभिन्न अध्ययनहरूले पनि देखाएका छन् । अर्काेतर्फ कोरोनाको कारण भएको लामो लकडाउनले अनलाइन र फेसबुकजस्ता माध्यम मानिसको साथी र मनोरञ्जनको सहयोगी माध्यम बन्न पुगेको छ । त्यसको सही, आवश्यक, उचित र सीमित प्रयोग गर्दा त्यो लाभदायी नै पनि बन्न सक्छ । अनलाइन र फेसबुकजस्ता सामाजिक सञ्जाल भनेका दुवैतर्फ धार भएका हतियारजस्ता हुन् । जसको सही तरिकाले होसियारीपूर्वक प्रयोग र पालना गर्ने हो भने आफूले चाहेको ठाउँमा मार हान्न सक्छ, होइन लापरवाहीपूर्वक चलाइयो, होसियारी अपनाइएन र खेलाँची मात्र सोचियो भने त्यो आफूतर्फ फर्केर काट्न पनि सक्छ । यसैले यो दुवैतर्फ धार भएको खुकुरीरूपी सामाजिक सञ्जालको बढ्दो प्रयोगबाट नेपाली समाजमा अनेक प्रकारका सामाजिक, कानुनी, पारिवारिक, व्यक्तिगत र नैतिक समस्या बढ्दै गएकोतर्फ सम्बन्धित सबै सचेत बन्नैपर्ने अवस्था छ ।

फेसबुकले घरका गृहिणी र कामकाजी मानिसलाई समेत लती र अम्मली बनाएर लग्दै छ । भान्छामा दूध उम्लेर गइसकेको हुन्छ उता युट्युब र फेसबुकमा मानिस लिसो टाँसिएजस्तो टाँसिइरहेको हुन्छ । कतिपय महिला केही समय अघिसम्म पाकिस्तानी सिरियल हेर्दा त्यस्तै लिसो टाँसिएजस्तो गर्थे । पुरूषका पनि आफ्नै खाले च्यानल र कार्यक्रम हुन्थे । आजकल त्यसको ठाउँ फेसबुक, युट्युब, टिकटक र अन्य खाले सामाजिक सञ्जालले लिँदै गएको देखिन्छ ।

रत्नपार्कको व्यस्त सडकमा बाटो काट्दै गर्दा पनि फेसबुकका भित्ताको लाइक र कमेन्टको संख्याकै चासो र चिन्ता हुने युवा समुदायले भोलिको आफ्नो भविष्य कस्तो बनाउला ? सवाल कुनै एउटा युवा वा युवतीले फोनमा र सार्वजनिक सञ्जालमा को–कोसँग कस्तो संवाद र सेयर गरे भन्ने होइन । कसैले गरेको कुनै कार्य व्यक्तिगत नै भए पनि त्यो समाजको ऐना हो र संस्कृति पनि । त्यो संस्कार, संस्कृतिले आधुनिकतातर्फ तीव्र हिसाबमा विकास हुँदै गएको नेपाली समाजलाई कस्तो भड्खालोमा पु¥याउला ! कसैको छोराछोरीले के ग¥यो चिन्ता होइन । व्यक्तिलाई अरूलाई असर नपर्ने गरी आफ्ना क्रिया र काम गर्ने हक र छुट त हुन्छ तर त्यसैको प्रभावबाट पूरै समाज र युवा जमात फेरि कतातर्फ जाँदै छ त भन्ने समस्या हो । बाटो काट्दा ज्यानको पनि कुनै होसियारी र पर्वाह नगरी आफ्नो फेसबुकको स्टाटसमा आएको कमेन्ट र लाइकको संख्याको बढी चासो र चिन्ता गर्ने युवा समुदायले भोलिको नेपालको लागि कस्तो विकल्प दिन सक्लान् ?

टिप्पणीहरू