प्रथम महिला एमिकस क्युरीको स्पष्टोक्ति : संविधान कोमामा गएको छैन

प्रथम महिला एमिकस क्युरीको स्पष्टोक्ति : संविधान कोमामा गएको छैन

वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले संविधान कोमामा गएको भन्ने कानुन व्यवसायीहरूको भनाईको खण्डन गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा एमिकस क्युरीका तर्फबाट शुक्रबार संवैधानिक इजलासमा आफ्नो राय दिँदै पाठकले संविधान कोमामा गएको भन्ने कानुन व्यवसायीहरूको भनाई गलत भएको तर्क गर्नुभएको हो ।उहाँले संविधान कोमामा गएको भए पनि यसका धाराले अक्सिजनको काम गर्ने भन्दै आफूहरू त्यहि धारा लिएर अदालतमा उपस्थित भएको बताउनुभयो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका एक जना कानुन व्यवसायीले संविधान कोमामा गएको दाबी गरेका थिए । सोही प्रसङ्गतर्फ इङ्गित गर्दै पाठकले संविधान बिरामी नभएको र कोमामा पनि नगएको तर्क गर्नुभएको हो ।
‘संविधानको जीवन्तता यथावत छ । संविधान न बिरामी हुन्छ,न कोमामा छ । यदि संविधान कोमामा छ भने हामी पनि कोमामा छौं,’ उहाँले भन्नुभयो ।उहाँले संविधानमै समाजवाद लेखिएकाले शासकीय स्वरूपको आधार त्यसैबाट निर्देशित हुने पनि उल्लेख गर्नुभयो । ‘देशको शासन व्यवस्था पार्लियामेण्ट्री होइन भनेर म भन्दिँन तर त्योभन्दा अगाडि संविधानमा महत्वपूर्ण कुराहरू अरु के के राखिएका छन्, त्यो हेर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो ।

प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई अन्तिम चरणमा पुगेको छ । आज पाठकले आफ्नो राय राखिसकेपछि सम्पूर्ण सुनुवाईको प्रक्रिया सकिएको छ ।

टिप्पणीहरू