नेताले जे बोल्दा पनि हुँदो रहेछ

नेताले जे बोल्दा पनि हुँदो रहेछ

बद्री पंगेनी, लोकगायक

कानुन व्यवसायीको धर्म हो वकालत गर्नु उस्तै गायकको धर्म हो गीत गाउनु । २०७४ को संसदीय चुनावमा मै पनि एमाले सही पनि एमाले बोलको गीत गाएपछि सांगीतिक करिअरमा धक्का लाग्यो बद्री पंगेनीलाई । अहिले सरकारको कामबाट अरुजस्तै उनी पनि खासै सन्तुष्ट छैनन् । मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको गुनासो पोख्छन् । ३० को दशकमा पाल्पाको रामपुरमा जन्मिएका उनले ६ दर्जन बढी लोकगीत गाइसके, उनको सांगीतिक करिअरले रफ्तार समातेको चाहिँ ‘ससुरालीमा, ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा’ पछि हो । गाएकोमध्ये उनैलाई आत्मसन्तुष्टि मिलेको गीतचाहिँ लाऊ चेली सिन्दूर लाऊ हो । -हरि गजुरेल

० विगतका आन्दोलनमा कलाकार अग्रमोर्चामा देखिन्थे, यसपटक किन सेलाएका ?

– जनताको अपेक्षा थियो, हरेक पटकको आन्दोलनपश्चात् एउटा परिवर्तन हुन्छ, त्यो त्यसले समृद्धि, विकास ल्याउँछ । नेपाली जनताको जनजीवनशैलीमा सकारात्मक प्रभाव पार्छ । त्यो अपेक्षा अहिले खेर गएको छ । ००७ सालपछि ०६२/६३ सम्म चार पटक ठुल्ठूला आन्दोलन भए तर हरेकचोटि जनतालाई झुक्याइयो । परिवर्तन त भयो तर सीमित मान्छेका लागि मात्र । पटक–पटकको आन्दोलनमा होमिसकेका जनताले केही पाउन सकेनन् । जनयुद्धमा होमिएकाले पनि केही पाउन सकेनन् ।

एमालेको पक्षमा गाउँदा भयंकर आक्रमण भयो ।

० सरकार पक्ष र विद्रोही पक्षको सडक आन्दोलनलाई कसरी हेरिरहनुभएको छ ?

– नेतामा देश र जनताभन्दा पदको लोभ बढी भएकाले यो अवस्था आएको हो । राजनीति यति फोहोरी हुनु हुन्थेन । साँच्चै जनता र देशप्रति माया थियो भने अहिलेसम्म के गर्नुभयो ? अब जनता केका लागि तपाईंहरूको पछाडि लाग्ने ?

० अघिल्लो निर्वाचनमै पनि एमालेको निम्ति गाउनुभयो । सो गीत गाएसँगै सार्वजनिक छवि एक पार्टी पक्षधरमा बदलियो । कस्तो लाग्दै छ अहिले ?

– आफूलाई मन लागेको विचार, धर्म अंगाल्न पाउने, मनपरेको आस्थासँग जोडिन पाउने, मौलिक अधिकार प्रयोग गर्न पाउने, अभिव्यक्ति स्वतन्त्रताका लागि नै हामी लडेका हौं । हामीले बनाउको संविधानले दिएको अधिकार, आफूलाई मन परेको राजनीतिक दलप्रति आस्था राख्न पाउने अधिकार दिएको छ । त्यही संविधानको आधारमा हुन गइरहेको निर्वाचनमा मैले भाग लिँदा, सहभागी हुँदा देशमा स्थायित्व हुन्छ भन्ने सोचेर गीत गाएको हो । मैले अनुमानै गरेको थिइनँ सो गीत विवादमा पर्ला । त्यसअघि माओवादी र कांग्रेसको पक्षमा पनि गाएको हो, कुनै विवाद भएन । एमालेको पक्षमा गाउँदा भयंकर आक्रमण भयो । गीतले समृद्धि, विकास र सुशासनको वकालत गरेको थियो । मैले सोचेको थिएँ कि भोलि स्थिर र बलियो सरकार आयो भने देश र जनताको समृद्धिको सपना पूरा हुनेछ । म कुनै पार्टीको नेतै भएर लाग्या पनि होइन । मैले मात्र पार्टीको गीत गाएको पनि होइन् । संयोग त्यो गीत बढी चलिदियो । त्यसले निर्वाचनको परिणाममा फरक पारिदियो । चुनावको हारजितमै प्रभाव पारेको हुँदा अलिकति गाली खाएँ । त्यतिखेर ५ बर्ष सरकार चलाउन अलिकति सम्भावना बोकेको दल भनेको तत्कालीन एमाले थियो । अरू पार्टीभन्दा जनतामा एमालेको छाप राम्रो पनि हो । मलाई पनि एमालेले बलियो सरकार चलाउन पायो भने केही गर्छ भन्ने भित्री मनमा लागेकै हो । तर, अहिले मैले सोचेजस्तो भइरहेको छैन । यो देख्दा मैले त्यो गीत गाएर गलत नै गरेंछु भन्ने पनि एक मनमा लाग्छ । मेरो अरू केही स्वार्थ होइन । न केही पाउनु, न गुमाउनु । दर्शक र श्रोताको अपेक्षाचाहिँ हुँदोरहेछ कलाकारले कुनै पनि दलको गीत नगाओस्, सकेसम्म स्वतन्त्र रहोस् जसको म सम्मान गर्दछु ।

० कांग्रेस निकटका गीतकारले लेखेको गीत गाउनुभयो । त्यसमा चाहिँ पश्चाताप छैन नि ?

– मैले मात्र पश्चाताप गरेर देश बन्थ्यो भने त के गर्नुपथ्र्याे तयारै थिएँ नि ! जुन अपेक्षासहित गाएको थिएँ त्यो पूरा भएन । नेतामा यति धेरै पनि कुर्सीमोह हुँदोरहेछ । र, त यति धेरै संकिर्ण हुँदा रहेछन् । बच्चा बच्चाको झगडाझैं इगो देख्दा अचम्म र अत्यन्तै दुःखी छु । स्कुलको हेडमास्टरले पार्टीको झण्डा बोकेर हिँडेकोमा माफी माग्ने कि नमाग्ने ? इञ्जिनियर, कर्मचारी, मजदुर पार्टीको झण्डा बोकेर हिँडेका छन्, तिनले माफी माग्ने कि नमाग्ने ? अर्काेको गल्तीमा मैले किन माफी माग्ने ?

राम्रो हुन्छ भनौं हाम्रा नेतामा त्यस्तो कहिल्यै देखिएन ।

० केहीअघि गीतकारलाई बालुवाटार बोलावट हुँदा तपाईं पनि पर्नुभएको थियो । प्रधानमन्त्रीसँग कम्तीमा मैले गाएको गीतको इज्जत राखिदिनुहोस् भनेर आग्रह गर्नुभएको चर्चा छ । के कुरा भएको थियो ?

– प्रधानमन्त्रीसँग मेरो गुनासो थियो सरकारले जति नराम्रो काम गर्छ, त्यति मलाई गाली आउँछ । त्यसकारण मैले गाएको गीतको इज्जतका लागि भए पनि केही गरेर देखाउनुप¥यो । त्यतिबेला प्रधानमन्त्रीज्यूले सरकारले राम्रा काम गरिरहेको तर प्रचारमा नआएको गुनासो गर्नुभएको थियो ।

कस्तोसम्मको लुगा लगाएर भिडियो खिच्न पाउने ?

० तपाईंले अधिकांश विद्रोह र क्रान्तिचेतले भरिएको गीत गाउनुभयो । गीत सुनेर युवाहरू कम्युनिष्ट बने । अहिले नेपालको कम्युनिष्ट आन्दोलन र गतिविधिलाई कसरी हेर्नुहुन्छ ?

– चीन, क्युबा, भियतनामको प्रगति हेर्दा कम्युनिष्टलाई कसरी खत्तम भनौं । नेताहरू खत्तमै हुन्छन् भनौं भने चे ग्वेभारा, फिडेल क्यास्ट्रो, माओजस्ता नेताको नेतृत्वमा बनेको देश, संरचना र विचार सफलै देखिएका छन् । राम्रो हुन्छ भनौं हाम्रा नेतामा त्यस्तो कहिल्यै देखिएन । एकपटक मनमोहन अधिकारीको कार्यकाल, केपी ओलीको योभन्दा अघिल्लो कार्यकालबाहेक अरू देखिएन । नेपालको कम्युनिष्टलाई दक्षिण एसियाको राजनीतिक हावा खुट्टा तान्ने, फट्याइँ गर्ने, छल्ने, सम्पत्ति कमाउने अलि बढी नै प्रभाव पारेको हो कि जस्तो लाग्छ कहिलेकाहीँ । नेपालकै हावा,नेपालको श्वास प्रश्वासमा त त्यसप्रकारको दुर्गन्ध छैन ।

० तपाईं लोकगायन क्षेत्रको राजा, यसको शुद्धिकरणका कुरा बारम्बार उठ्छन् तर किन हुन सकिरहेको छैन ?

– अभिव्यक्ति स्वतन्त्रता आवश्यक्ताभन्दा बढी नै भयो कि ! नेताले जे बोल्दा, जे गर्दा पनि हुँदोरहेछ । त्यसैले हामी कलाकारले दुई÷चार शब्द नराम्रो गाउँदा के फरक पर्ला भन्ने सोच आयो कि जस्तो लाग्न थाल्यो । समाज उच्छृंखलताको दिशातर्फ गइरहेको छ, नेताकै कारण । राजनीति र नेता मार्गदशक हुन् । समाजलाई कता लैजाने भन्ने तय तिनले गर्ने हो । विद्यार्थीले गुरुलाई नमान्ने, खेलाडीले कोचलाई नमान्ने, कलाकारले अग्रजलाई नमान्ने अनुशासनहीनताको प्रभाव नेतालाई हेरेर भइरहेको छ । गीत÷संगीतमा मापदण्ड छैन । कस्तो गीत गाउन पाउने, कस्तो नपाउने ? कस्तोसम्मको लुगा लगाएर भिडियो खिच्न पाउने ? समाजलाई अपाच्य हुने शब्द राखेर भिडिओ बनाएमा गीत गाएको उनीहरूलाई कस्तो कारबाही हुने ? कसैले नराम्रो शब्द राखेर गीत गायो । तर, उसलाई प्रहरी कार्यालयमा मात्र बोलाइयो भने पनि समाज दुईतिर बाँडिन्छ ।

० तपाईं लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष हुँदा गीत संगीतमा सेन्सर गर्नुपर्छ भनेर कुरा उठाउनुभएको थियो, त्यो कहाँ पुग्यो ?

– मेलम्चीको पानी ल्याउने कुरामा सम्बन्धित पक्ष उति गम्भीर देखिँदैन, कर्णालीमा सिटामोल पुर्‍याउने, हुम्ला, डोल्पामा चामल पुर्‍याउने कुरामा उति गम्भीर हुँदैन, राज्य । यी नेतालाई तीसँग केही मतलव छैन । गर्न सक्थे रविन्द्र अधिकारीले । मेरो एक अनुरोधमा दोहोरी गीत प्रतिष्ठानका लागि ४० लाख छुट्ट्याइदिनुभए अरू ३१ लाख थपेर जग्गा लियौं । प्रतिष्ठानको भवन बनायौं । कलाकारप्रति माया, रिस्क लिने क्षमता पनि थियो । उहाँबाहेक अहिलेको युवा नेतामा भिजन, निडरपना, बोलेपछि पूरा गर्ने देखिन । कार्ल माक्र्सको पुँजीको एक दुई सय पाना कण्ठ गरेर जनताबीच भाषण छाँटेजस्तो होइन, हाम्रा नेतामा कार्यसम्पादन नै रहेनछ । सेन्सर बोर्डका लागि आवाज उठाइरहेका छौं । हाम्रो कुरालाई सुनेर गोकुल बाँस्कोटाले काम गर्न खोज्नुभएको हो, उहाँको त्यो हालत भयो । अहिलेका संस्कृतिमन्त्री भानुभक्त ढकाललाई भेट्न गएको छैन । अहिले राजनीतिक अस्थिरता छ । गएर कुरा गरौं, भाषण गर्न जाने हो कि आफ्नो क्षेत्रमा शक्ति प्रदर्शनमा जाने हो वा जनताको काम गर्ने र कुरा सुन्ने हो ? भद्रगोल छ ।

० सर्जकका सिर्जनामाथि राज्यले बन्देज लगाउनु, कैँची चलाउनु वा कलालाई नियन्त्रण गर्नु कत्तिको जायज हो ?

– यहाँले पशुपति शर्माको प्रसंग जोड्न खोज्नुभएको होला । उनको गीतलाई सरकारले बन्देजै लगाएको होइन । तत्कालीन युवा संघका सहसंयोजक रमेश पौडेलले विज्ञप्ति निकालेका रहेछन् । उनीसँग झगडै गरे । कलाकारको सिर्जनामाथि राज्यले बन्देज लगाउन पाइँदैन, युट्युबबाट यो गीत हट्दैन भनेर मैले विज्ञप्ति निकालेँ । पशुपति शर्माले पनि युट्युबबाट हटाउनुभएको थियो, पछि अघि बढ्यो । पशुपति शर्माको गीतमा जे भएको हो त्योभन्दा बढी हल्ला भयो । अर्काेतिर साथीहरूले विज्ञप्ति पनि निकाल्नु गलत थियो ।

० तपाईं  प्रतिष्ठानको अध्यक्ष हुँदा फोहोरी हुँदै गएको लोकदोहोरी क्षेत्रलाई कत्तिको सफा गर्न सकियो ?

– धेरै गाह्रो हुँदो रहेछ । यसले गर्दा धेरै जनकलाकारसँग सम्बन्ध बिग्रियो । अहिले पनि केही कलाकार साथी मसँग बोल्नुहुन्न । कतिलाई संस्थागत कारबाही गरियो, त्यो प्रयास जारी छ । अहिले साथीहरू अलिकति डराउँछन् ।

० उखु किसानले भन्दा बढी कृषिमन्त्री पद्मा अर्यालको टाउको खानेमा तपाईं पनि हुनुहुन्छ । तारन्तार फोन गरेर मन्त्रीज्यू, उखु किसानको भुक्तानी के भयो भनेर सताउनुहुन्छ भन्ने सुनिन्छ । कुरा के हो ?

– उखु किसानको आन्दोलनमा पोहोर थिएँ । यसपटक पनि पुगेँ । किसानले श्रमको मूल्य पाउन धेरै गर्नु नपर्ला भनेर सोचेको पनि थिइनँ । म पनि किसानको छोरो, यसले मलाई साँच्चै छोयो । तत्कालीन कृषिमन्त्री घनश्याम भुसाललाई भेटेर जिज्ञासा राखेँ, काम हुँदै छ भन्ने जवाफ आयो । अस्ति १७ गते कृषिमन्त्री पद्मा अर्याललाई भेटेर सोधें, किन भुुक्तानी भइरहेको छैन ? उहाँले मेरैअगाडि सचिवलाई फोन गरेर हकार्नुभयो । अहिलेसम्म १४ करोड भुक्तानी भइसकेको, एक जना मालिक समाइएको थाहा छ । अस्ति २२ गते सबै भुक्तानी हुन्छ भनिएको हो, भएको छैन । योजस्तो बेइज्जती र दुर्भाग्यको कुरा अरू के हुन सक्छ ? प्रधानमन्त्रीकै भाषण सुन्छौं, हाम्रो सरकार, पार्टी गरिब, किसान, मजदुरको पक्षमा । तर, तिनै किसान रुँदै काठमाडौंको चिसोमा आन्दोलित हुनु यो जत्तिको लज्जास्पद कुरा अरू के हुन सक्छ ? कार्यसम्पादन हामी कुनै पनि नेतामा छँदै छैन । प्रधानमन्त्रीमा अलि बढी इच्छाशक्ति छ । सपना देखाउन, योजना बाँड्न अरूभन्दा अगाडि हुनुहुन्छ । अहिलेसम्म त त्यो पनि थिएन । त्यही सपनालाई कार्यसम्पादन गरिदिने हो भने त केपी ओली बेष्ट हुन्थे तर कार्यसम्पादन अच्छा छैन ।

टिप्पणीहरू