कतै सम्बन्ध सुमधुर, कतै मजबुर

कतै सम्बन्ध सुमधुर, कतै मजबुर

भनिन्थ्यो लोग्ने–स्वास्नीको झगडा परालको आगो, अचेल यो मूढाको आगो बन्न थाल्यो । जो सल्किएपछि निभ्नका लागि अदालतकै ढोकासम्म पुग्नुपर्ने अवस्था छ । यस्तो विकृति झन् कलाकारिता क्षेत्रमा बाक्लो देखिन्छ । सम्बन्धमा तुषारापात लागेपछि रेखा थापा, मनीषा कोइराला, रिमा विश्वकर्मा, गौरी मल्ल, छुल्टिम डोल्मा, मौसमी मल्ल, रञ्जना शर्मा, अरुणिमा लम्साल, मिलन अमात्यसम्म एक्लो जीवन जिउँदै छन् ।

यही भीडमा एक्लो जीवन जिइरहेका कलाकार दोस्रो घरजमको बाटो रोज्दै छन् । पहिलो पति मनोजराज सेवासँग सम्बन्धमा पूर्णविराम लागेपछि अलग बाटो रोज्दै आएकी अञ्जु पन्त दाम्पत्यको तरखरमा छिन् । गीतकार थिर कोइरालासँग विवाह गर्न लागेकी हुन् । यस्तै, मीना ढकालसँग सम्बन्धमा तुषारापात आएपछि बाध्यतावश, मनोज गजुरेल दोस्रो घरजम गर्ने तरखर गर्दै छन् तर उनले कोसँग विवाह गर्नेबारे मुख खोलेका छैनन् । उता, मनोजसँग करोडौं लिएर अलग भएकी मीनाको जग्गा खरिद गर्दा दलालले करोडौं उछिट्याइदिएपछि तनावमा छिन् ।

दोस्रो घरजम गर्ने कलाकारको भीडमा सुस्मिता, भुवन केसीहरू पनि हुन् । आयुष्मानसँग केहीअघि विवाह बन्धनमा बाँधिएकी प्रियंका कार्की पनि दोस्रो विवाह गर्ने कलाकारमा पर्छिन् । यसअघि प्रियंकाले रोचक मैनालीसँग लगनगाँठो कसेकी थिइन्, जुन सफल नभएपछि दोस्रो घरजम गरेकी हुन् । यस्तै, दोस्रो घरबार गर्नेमा निखिल उप्रेती पनि थपिन्छन् ।

पहिलो पत्नी कोपिलालाई धोखा दिएर सञ्चितालाई भित्र्याए । अहिले करिष्मा मानन्धरसँग लफडा झेलिरहेका छन्– शिव श्रेष्ठ । करिश्मा वनवास फिल्म निर्माण गर्दै छिन्, छोरी कवितालाई लिएर । शिव श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा कविताले अभिनय गरेकी थिइन् । छायांकन नै पूरा नभई फिल्म प्रदर्शनमा आएको र सिनसमेत काटिएपछि करिश्मा र शिवबीच दूरी बढेको छ । शिवलाई काउन्टर दिनकै लागि करिश्माले वनवास निर्माण गर्न लागेको चर्चा छ । उनै शिवले सिर्जना श्रेष्ठसँग दोस्रो घरजम गरेका हुन् ।

चर्चित कार्टुनिस्ट दुर्गा बराल उर्फ बात्सयानको पुत्र अनुप बरालले पनि दोस्रो घरजम गरे दिया मास्केसँग ०७१ सालमा । दोस्रो भित्र्याउनेमा गायक यम बराल पनि पर्छन् । चर्चित कलाकार हरिवंश आचार्य पनि दोस्रो विवाह गर्ने क्लबमा पर्छन् । मीरा आचार्यको निधन भएसँगै उनले रमिला पाठकसँग घरजम गरेका हुन् ।

बाध्यतावश दोस्रो विवाह गर्नेमा सत्यराज आचार्य पनि हुन् । उनले अनितासँग प्रेम विवाह गरे । यस्तै शंकर बिसीले निशा सुनारलाई कान्छी बनाएर भित्र्याएका छन् । मोडल सिम्पल खनालले पनि दोस्रो घरजम गरिसकेकी हुन् ।

टिप्पणीहरू