सन्तान त भन्नु मात्रै यो पापी संसारमा

आफन्त भन्नु पैसा र वैंस छउञ्जेल मात्र त रहेछ । जब साथमा पैसा सकिन्छ र उमेर ढल्कँदै जान्छ श्रीमतीले छाडिदिने, छोराहरूको दिमाग भुटेर ऊबाट अलग्याउने, सडकमा पु¥याइने । यस्ता घटना अहिले सामान्य हुन थाले शहरबजारमा । घरमा कुकुर पाल्ने तर बूढा भएका बुवा–आमालाई वृद्धाश्रममा फाल्ने शहरिया फेसनको शिकार भएका एक पात्र हुन् किशोर लामा, जो रातदिन आँशुमा डुबिरहेछन् । निधार, कर्म सम्झेर आफैंलाई धिकार्दै छन् ।

आफ्नो ज्यान आफँैलाई भारी हुने र आफन्तजनको सहारा चाहिने समय । उमेर ७० कट्यो । दुई छोरा, एक छोरीको पिता किशोर लामा अहिले रिमा साइराम सेवा घरमा आश्रय लिन विवश छन् । जन्मघर हेटौंडा । बालखैमा छिरे राजधानी । थिएन, ठूला सपना । काम सिक्नुथ्यो, एक मुठी सास अडाउनुथ्यो ।

साढे चार दशकअघि राजधानी छिरेर धेरै संघर्ष गरे । पेले धेरै पापड । नंग्रा खियाए,पसिना बगाए । दिनरात नभनी बटारे साहुको गाडीको स्टेरिङ । मिहिनेतको फलस्वरूप गाडी चालक हुँदै गाडी मालिक बने । मन बरालिन दिएनन्, मात्र सम्झन्थें आफ्नो भविष्य । काभ्रेकी केटीसँग दिल बस्यो । विवाह गरे । जीवनको रथ गतिमै दौडिरहेको थियो । खुशी थिए । हिजो अत्यधिक प्रेम गरेर शिरमा फूलझैं चढाएर राखेको श्रीमतीकै कारण आज उनी यो शहरमा सहाराविहीन बनेका छन् ।

दुई छोरा, एक छोरीको जायजन्म । छोराहरूको शिक्षा–दीक्षामा कुनै कमी राखेनन् । बोर्डर्स गरेर पढाए । भन्छन् नि निरन्तरको पानीको बहावले ठुल्ठूला चट्टान त पग्लन्छन्, उनको निरन्तर मिहिनेतको प्रतिफल ड्राइभरबाट साहु बनिसकेका थिए । चार वटा गाडीका धनी । सुतीसुती खाए पनि पुग्ने अवस्था तर मनले मानेन, तीन गाडी चालक राखेका थिए, एउटा आफैं चलाउँथे । त्यो समय अर्थात् ४० वर्षअघि सबै खर्च कटाएर मासिक १० देखि १५ हजार बचाउँथे । जति बचाउँथे सबै श्रीमतीकै हातमा थमाउँथे । यही बीचमा ससुरा बा बिते । श्रीमतीको माइतीको हालत खराब थियो । बुबाले जमिनदारसँग ऋण लिएका । बुवा खसेसँगै साहुले जग्गा खाने भयो । त्यो बेलाको ५५ हजार ऋण उनैले तिरिदिए र साहुलाई ससुरालीको घरजग्गा खानबाट रोके । त्यसयताको ३१ वर्षसम्म लगातार ससुरालीलाई हेरे । उनीहरूको दुःखमा साथ दिए । भरोसाको पर्खाल बनेर, विपद्मा ढाल बनेर उभिए । जब सालो हुर्कियो, कमाउन थाल्यो अनि तिनै भरोसा, तिनै टेको किशोरको वास्ता हुन छाड्यो ।

बच्चाहरू बोर्डर्सबाट निस्किए । एसएलसी उत्तीर्ण भएसँगै छोराहरूलाई जे पढ्न मन लाग्यो त्यही पढाए । जेठो छोराले कम्प्युटर पढ्ने इच्छा देखायो । मनमोहन हुँदै पब्लिक युथ क्याम्पसमा पढाए । छोराको अध्ययनका लागि एउटा गाडी बेचे । छोराले डिग्री गर्दा हर्षको आँसु झरेको थियो तर खुशी क्षणिक हुँदो रहेछ, दुई दिनको पाहुनाजस्तो । श्रीमतीलाई यहीबीचमा समात्यो क्षयरोगले । उपचारमा कहाँ मात्र दौडेनन्, धामी, झाँक्री हस्पिटल । ६ वर्षसम्म त्रिवि शिक्षण अस्पताल धाए त्यहाँँबाट पनि निको नभएपछि बैंग्लोरसम्म पु¥याए । १३ वर्षसम्म हार खाएनन् । खर्चको गरेनन् । पैसाको खोलो बगाए, श्रीमती तंग्रिइन् । उपचार गर्दा गाडी बेचे तैपनि श्रीमतीको नयाँ जीवनको अगाडि त्यो खर्च गौण माने । खुशी थिए, श्रीमतीले नयाँ जीवन पाएकोमा । पुरानै लय र गतिमा जीवन दौडाउँथे । एकदिन आफ्नै ड्राइभरसँग श्रीमतीलाई रंगेहात भेटे । हनुमानढोका प्रहरीले सात दिन लगेर थुन्यो । श्रीमतीको मायाले डो¥याउँदै लग्यो हनुमानढोकासम्म । आफैंले अनुनय–विनय गरेर प्रहरीलाई छाड्न लगाए । त्यहाँबाट छुटेलगत्तै ड्राइभर बेपत्ता ।

समाजको इज्जत र प्रतिष्ठाभन्दा लालाबाला, सन्तानको बेहाल नहोस् भन्ने सोचले श्रीमतीलाई स्विकारे । श्रीमतीका लागि होटल खोलिदिए लाजिम्पाटमा । बिहानै उठ्थे, जुठो भाँडा माझ्थे, होटलका लागि चाहिने रोटी, तरकारी आफैं बनाउँथे । श्रीमतीप्रतिको अगाध प्रेमथियो त्यो अनि निस्कन्थे गाडी लिएर । दिनभर लखतरान भएर आउँथे फेरि उसैगरी मोल्न थाल्थे जुठा भाँडा । गाडी चलाएर आर्जेको मुनाफा श्रीमतीकै पोल्टामा सुम्पन्थे । आफू नोकरजसरी काम गर्थे, होटलबाट आर्जेको रकम एक रुपैयाँ खोजेनन् । कमाएको सबै श्रीमतीलाई सुम्पिए । लाग्थ्यो, श्रीमतीको खुशी नै मेरो खुशी । कमाएजति सम्पत्ति श्रीमतीकै नाममा थियो । भएभरको सम्पत्ति हात लागेपछि श्रीमती परपर भइन् । भएका चारवटै गाडी श्रीमतीको उपचार र सन्तानको शिक्षा–दीक्षाका लागि भनेर बेचिसकेका थिए । हातमा केही थिएन । हिजो अरूलाई जागिर दिने मालिक, जागिर खोज्नुपर्ने अवस्थामा पुगे । हातमा सीप थियो, भोकै मर्नु पर्दैनथ्यो । तनहुँ हाइड्रोपावरको गाडी चलाउँथे त्यो समय । श्रीमतीको मायाले डो¥याएर उनी त्यही होटलमा पुग्थे आक्कल झुक्कल खाना खान । उनले खाएको खानाको पैसा माग्थिन् श्रीमती । भन्थिन्, ‘को होस् तँ चिन्दिनँ ।’

खाइ नखाइ हुर्काएका तिनै सन्तानले अहिले जिउँदै मारेका छन् । श्रीमतीले छोराछोरीको दिमाग भड्काएको रूपमा बुझेका छन्

६ वर्षसम्म मनभरि यस्तै पीडा बोकेर हिँडे । जेठी श्रीमतीबाट पाएको तिरस्कार र हेय झलझली सम्झिन्थे । मन एकतमासको हुन्थ्यो । दोस्रो घरजम गरे बुढेसकालको सहारा हुन्छ कि भनेर । जेठीले घर बनाइसकेकी थिइन् काठमाडौंमा । बेला–बेला जान्थे र भन्थे, ‘हामी मिलेर बसौं ।’ श्रीमतीको टर्राे जवाफ फर्कन्थ्यो, ‘मलाई मतलव छैन, तिमीहरूलाई जे मन लाग्छ गर, मलाई बिथोल्न नआऊ ।’ कमाउन सकुन्जेल कान्छी साथमै थिइन् । कोरोना कहर र लकडाउन हुनुपूर्व । जब हातबाट रोजगारी गुम्यो कान्छीले पनि साथ छाडिन् । उनी नितान्त एक्लो र नाजुक अवस्थामा पुगे । हेर्ने कोही भएन । यो बीचमा जेठो छोरो कोरियाबाट फर्कियो । काठमाडौंस्थित गोलढुंगामा घर ठड्याए । मोबाइल कम्प्युटर पसल खोले । सर्ट मुभी निर्माण गर्ने भए । नातेदार, आफन्तले छोराको प्रगति सुनाउँथे । आमाबाबुको मन छोराछोरीमाथि, सन्तानको मन ढुंगामुढामाथि भनेझैं पत्थरै रहेछ क्यारे– सन्तानको मन रसाएन । कहिल्यै बुवा कहाँ के गर्दै छन् ? भनेर सोधखोज भएन । धन, दौलत खर्चेर संसारमा सबै चिज पाउन सकिन्छ तर सकिन्न बुबाआमाको प्यार किन्न, पाइन्न दौलत खर्चेर बुबाआमा किन्न । त्यही बुवा जसले जीवनभर सन्तानका लागि रगत–पसिना बगाए आफूले खाई नखाई शिक्षादीक्षा दिए, हुर्काए, बढाए । बुढेसकालमा पाखुरी चल्न छाड्यो, अहिले बेसहारा बन्न विवश छन् । कुनै समय सम्पन्न किशोर बुढेसकालमा एक्लो भए । सहाराविहीन प्रेसर, सुगरले हान्यो, बिरामी परे । एकपटक गाडी चलाउँदा चलाउँदै ढले । धन्न, आफन्तले देखे र पु¥याए अस्पताल । अहिले आश्रमको बास बनेको छ । रिमा साइराम सेवा घर आश्रय लिन थालेको दुई महिना व्यतित भयो । सन्तान, कोही आफन्त नभएर वृद्धाश्रममा पुग्नु अलग कुरा तीन सन्तान, श्रीमती हुँदाहुँदै आश्रममा पुग्दा मन एकतमासको हुन्छ । त्यहाँ आश्रय लिन थालेको दुई महिना व्यतित भइसक्यो अहँ कोही आफन्त, सन्तान भेट्न पुगेका छैनन् । आश्रमको जब–जब बेल बज्छ, लाग्छ कोही आफन्त आए कि ? भेट्न भनेर ढोकातिरै पुगेर आँखा अडिन्छ तर..!

अहिले छोराहरू सगोलमा छन् । उनीहरू काठमाडौंका बासिन्दा बने । छोरी हेटौंडामा । हालसालै मात्र ज्वाइँ अस्ट्रेलिया गएर फर्किए । भन्छन् नि, छोरा पाए बुहारीलाई, छोरी पाए ज्वाइँलाई । उनलाई सानामा पीर थियो सन्तान मर्लान् कि भन्ने । खाइ नखाइ हुर्काएका तिनै सन्तानले अहिले जिउँदै मारेका छन् । श्रीमतीले छोराछोरीको दिमाग भड्काएको रूपमा बुझेका छन् किशोरले । सन्तानमा छोरै चाहिन्छ भन्ने बुबा आमाका लागि ज्ञान होस् । तग्दिरको खेल हो, आज बुवामाथि जुन व्यवहार उनका सन्तानले गरेका छन् भोलि ती छोराहरूको पालो पनि अवश्य आउँछ । एउटा जन्मदाता वृद्धाश्रममा पुर्‍याएर खुशीमा रमाइरहेका सन्तानले भोलि उनीहरूको यही हविगत हुँदा वृद्धाश्रममा पनि बास पाउने छैनन् ।

– गेलु शेर्पा (किशोरको नातेदार)

टिप्पणीहरू