गोरेबहादुरलाई सुन्दा र देख्दा

गोरेबहादुरलाई सुन्दा र देख्दा

– राजकुमार दिक्पाल

धनकुटामा पनि जनजातिको पार्टी कार्यालय खुल्दै छ भन्ने हल्ला चल्यो । नाम थियो, राष्ट्रिय जनमुक्ति मोर्चा । हुँदाहुँदै देब्रेबासको एउटा घरमा पार्टीको कार्यालय स्थापना भएको साइनबोर्ड देखियो । पार्टीका स्थानीय नेता कोही चिन्न सकिनँ, मैले । तर साइनबोर्ड लेखाउने र टाँस्ने मानिस परे मेरा चिरपरिचित छिमेकी ।

यज्ञ गुरागाईंले साइनबोर्ड लेखाई आफैँ बोकाएर ल्याउँदै गरेको देखियो । यज्ञ बाहुनको छोरो, फेरि ‘आँखा चिम्सा र नाक थेप्चाहरू’ले खोलेको पार्टीलाई स्थानीय स्तरमा स्थापित गर्न कम्मर कसेर लाग्नुभएको देख्छु । मैले जान्दा र बुझ्दा यज्ञ दाइ सूर्यबहादुर थापाप्रति साहै्र बफादार । तर, बेलाबेलामा अनेक गरिरहनुपर्ने । होहल्ला पनि खुब गर्नुपर्ने । ०५४ सालको स्थानीय चुनावमा धनकुटा नगरपालिकाको मेयर पदका स्वतन्त्र प्रत्यासी । जम्मा १ भोट पाउनुभयो ।

बाहुनको छोरोले ०४७ सालमा जनमुक्ति मोर्चा नामक पार्टीको साइनबोर्ड बोकेर ल्याई टाँस्दै गरेको देखेँ ।

पछिल्लो समय यज्ञ दाइ कुनै पार्टीमा हिँड्नुभयो जस्तो लागेन । सूर्यबहादुर थापालाई हराउने एमाले नेता गोपाल गुरागाईंका कान्छा काकाको छोरा यज्ञ दाइ विभिन्न रूपमा एमालेविरुद्ध लागिरहेको चाहिँ देख्थेँ ।

म यज्ञ दाइलाई बेलाबेला जिस्क्याउँथेँ, ‘ए दाइ, कति धेरै भोट ल्या’को हो, जम्मा एक भोट रु भाउजूले पनि पत्याउनु भएन कि क्या हो ?’

‘ए बाबु, तलाईं यतिको बोल्ने बुद्धिचाहिँ कसरी आयो हँ रु’ मलाई उल्टै उल्लीबिल्ली गर्न खोज्ने ।

उनी दिवंगत भइसके तर व्यक्तिगत रूपमा यज्ञ दाइले कसैको हानि–नोक्सानी गरेको थाहा छैन । यज्ञ दाइले धनकुटामा साइनबोर्ड टाँसेको पार्टीको केन्द्रका नेताचाहिँ को होलान् रु सोधखोज गर्दा एमएस थापा र गोरेबहादुर खपांगी भन्ने थाहा भयो । दुवै वामपन्थी पृष्ठभूमिका ।

मैले ०४७ सालमा पहिलो पटक गोरेबहादुर खपांगीको नाम सुनेँ । मेरालागि त नाम र थर दुवै अनौठो !

चामल जोगाउने जुक्ति

दसैँ बहिष्कार !

दुई शब्दको यो वाक्यले कसैको दिमाग चाट्यो, कोही भने रमाए ।

आफूहरू सनातनी हिन्दू धर्मावलम्बी नभएको र दसैँ आफूहरूको चाड नभएको तर्कका साथ दसैँ मान्नुहुन्न भन्ने अभियानको प्रमुख अभियानकारीमध्येका गोरेबहादुर एक । उनी बारम्बार दसैँ बहिष्कारलाई पुष्टि गर्दै स्पष्टीकरण दिन्थे, ‘हामीले दसैँ बहिष्कार भनेका होइनौँ, दसैं परित्याग पो भनेका हौं त । हामीलाई अरूको चाडपर्व बहिष्कार गर्नु नै किन पर्‍यो र ?’

राजाले मलाई मन्त्री पद बक्स्यो, यसबापत मसँग भएको एउटा जिउ दिएँ, त्यही जिउमा टीका बक्स्यो त, केको कोकोहोलो ?’

उनी दसैंमा टीका नलगाएर क्विन्टलका क्विन्टल चामल जोगाउने कुरा गर्थे ।

तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई अक्षम घोषणा गर्दै आफ्नो शासन हातमा लिएर लोकेन्द्रबहादुर चन्दको सरकार गठन गरे । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनाइए, गोरेबहादुर । त्यो सालको दसैँमा उनी स्वयं टीका थाप्न नारायणहिटी दरबार पुगे । उनले टीका थापेको फोटो भाइरल हुने नै भयो ।

आदिवासी जनजाति समुदायबाटै ठूलो आलोचना भयो । तर, उनले आफ्नो बचाउ गरिरहे ।

उनी मन्त्री छँदै फोन गरेँ, ‘नमस्कार, मन्त्रीज्यू ।’

‘आज्ञा होस्,’ पुरानो बानीअनुसारको शब्द ।

जिज्ञासा राखेँ, ‘दसैँ परित्याग गरौँ भनेर त्यत्रो अभियान चलाउने अभियानकारी तपाईं आफैँ टीका थाप्न दरबार जाने ?’

‘ए बाबा, राजाले मलाई मन्त्री पद बक्स्यो, यसबापत मसँग भएको एउटा जिउ दिएँ, त्यही जिउमा टीका बक्स्यो त, केको कोकोहोलो ?’ फेरि उनले आफ्नो बचाउ गरे ।

कुभिण्डो काट्न नसक्ने आँट

माओवादीले भर्खरै सशस्त्र विद्रोह शुरु गरेको थियो । त्यो विद्रोहप्रति गोरेबहादुरको सहमति थिएन ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ र धरानमा त्यसबेला पाँच हजारजति भोट राष्ट्रिय जनमुक्ति पार्टीलाई जान्थ्यो । २०५१ सालको मध्यावधि निर्वाचनमा उनलाई त्यही क्षेत्रबाट उठाइयो । उहाँको उम्मेदवारीप्रति जनमुक्ति पार्टीका स्थानीय नेता कार्यकर्तामा ठूलो उत्साह थियो ।

मतगणना शुरु भयो । शुरुमा गोरेबहादुर खपांगीले अग्रता हासिल गरेको समाचार रेडियो नेपालले प्रशारण गर्‍यो । यसले जनमुक्तिका स्थानीय नेता–कार्यकर्तामा थप उत्साह भर्‍यो तर यस्तो समाचार रेडियो नेपालबाट एकपटक मात्र सुन्न पाइयो, त्यसपछि त एमालेकी लीला श्रेष्ठ सुब्बाको अग्रता कायम रहिरह्यो । पाँच हजार मतान्तरमा एमालेले जित्यो ।

आफू हारे पनि गोरबहादुरचाहिँ धरानलाई माया गरिरहने । उनलाई बेलाबेलामा धरानमा बोलाइने गरिन्थ्यो ।

एक दिन उनको संबोधन सुन्न म पनि पुगेँ, एउटा सभामा । उनले माओवादीले त्यतिखेर शुरु गरेको सशस्त्र विद्रोहबारे पनि टिप्पणी गरे । भनेका थिए, ‘यी माओवादी मान्छे काट्ने कुरा गर्छन् तर यिनीहरूसँग कुभिण्डो काट्ने पनि आँट छैन ।’

यता दर्शकदीर्घाबाट कार्यकर्ताले ताली पड्काए, परररर…।

उनको वाककला मीठो थियो । तर, कुनै–कुनै बेला बढी नै बोल्ने । कुरा २०५० को हो । पहिलोपटक मैले उनलाई धनकुटाको तल्लो टुँडिखेलमा देखेँ । त्यहाँ जनमुक्ति पार्टीले आमसभा आयोजना गरेको थियो । रिपोर्टिङका लागि गएको थिएँ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगाको रहस्यमय दुर्घटनामा भर्खरै निधन भएको थियो । गोरेबहादुरले भाषणका क्रममा भने, ‘अस्ति भर्खरै मदन भण्डारी पोखराको चिप्लेढुंगामा भाषण गर्दै थिए, उनले यति चर्केर भाषण गरे कि अखिले केटाहरूले ताली पड्काउँदा फेवातालको माछा फुत्त उफ्रिएर निस्क्यो । पहिले खुलामञ्चमा भाषण गर्दा पनि अखिले केटाहरूले परर्रर के ताली बजाएका थिए, नजिकैको रानीपोखरीबाट पनि यसरी नै फुत्त–फुत्त माछा निस्केको थियो ।’

भर्खरै दिवंगत भएका नेता भण्डारीका विषयमा उनले गरेको अराजनीतिक टिप्पणीले मेरो मन खिन्न भएको थियो ।

‘गोरे दाइ इज अ फ्याटम्यान’

गोरेबहादुर खपांगीको भाषण वा अभिव्यक्तिहरूमध्ये कतिपयले मेरो मन छोएको छ । उनी नेपाली पाठ्यक्रमका निर्माताहरूको कट्टर आलोचक थिए । भन्थे, ‘यहाँ किताबहरूमा उदाहरणका लागि लेखिन्छ, डा. शर्मा के, डा. मगर, डा. गुरुङ, डा. लिम्बू, डा. राई लेख्न सकिन्न ?’

कक्षा ४ मा पढ्दा अंग्रेजीको किताबमा मैले पनि यस्तै डा। शर्मा पढेको थिएँ । म पनि किताबमा खोज्थेँ, डा. सुब्बा । तर, भेट्दिनथेँ ।

आमासँग एकदिन एक ठाउँमा पुगेँ । डोरप्लेटमा डा। सुब्बा भेटेँ, अर्थात् डा. ठाकुर सुब्बा, लाग्यो, डा. सुब्बा पनि हुँदोरहेछ ।

पशुचिकित्सक डा. ठाकुर सुब्बा जिल्ला पशुचिकित्शालय, धनकुटाको तत्कालीन हाकिम थिए, त्यसबेला । उनी म आफू साधारण सदस्य रहेको शिक्षा पत्रकार समूहका अध्यक्ष रोश्ना सुब्बाका बुवा हुन् ।

‘गोरे दाइ इज अ फ्याट म्यान, हि इट्स अ लट् ।’ त्यसबेला कक्षा ४ को अंग्रेजी पुस्तकमा यो वाक्य पढ्ने पुस्ताका सदस्य अहिले पनि प्रशस्त भेटिन्छन् । यो वाक्य पढाउने शिक्षक पनि कतिपय जीवितै छन् ।

मैले पढ्ने पाठ्यक्रमचाहिँ त्यही साल फेरिएकाले आफ्नो पुस्तकमा यो वाक्य पढ्ने अवसर पाइनँ । तर, मभन्दा एक ब्याच सिनियर मेरी दिदी विमलाको पुस्तकमा यो वाक्य पढ्ने अवसर पाएको थिएँ । निकै चर्चित थियो, अंग्रेजीको यो वाक्य ।

अग्रज नारायण ढकालसँग मैले पत्रकारिता गर्दा एउटै छानामुनि दशक बिताएँ । फुर्सद भयो कि म नारायण दाइको समीपमा पुगिहाल्थेँ, उनका कुरा सुन्न ।

नारायण दाइ मास्टर्स डिग्रीको पढाइ सकिनासाथ त्रिभुवन विश्वविद्यालयको तत्कालीन नियमानुसार राष्ट्रिय विकास सेवा ९राविसे०मा जानुपर्ने भएछ । त्यसबेला राविसेमा जानुपर्दा अधिकांशले शिक्षण सेवामा जान मन पराउँथे । नारायण दाइले रामेछाप रोज्नुभएछ, जहाँ गोरेबहादुर खपांगी हेडमास्टर थिए । तत्कालीन मालेका कार्यकर्ता, शिक्षक संगठनका तत्कालीन महासचिव गोरेबहादुर खपांगीको सान्निध्यमा पुग्ने अवसर पाउनु नारायण दाइका लागि सायद लाभदायक थियो ।

साहित्यमा बुटपालिस आन्दोलनका एक सहभागी नारायण दाइमा थप क्रान्तिकारी बन्ने रहर मरिसकेको रहेनछ । त्यसैले थप क्रान्तिकारी बन्न बाहुनको छोरा उनले सुँगुरको मासु खाने निर्णय गरेछन् । रामेछापमा गोरेबहादुरको सान्निध्यपछि स्थानीय बजारबाट एक धार्नी सुँगुरको मासु ल्याएछन् र छेउछाउ कतैबाट आइपुग्यो, एक ग्यालेन कोदोको रक्सी ।

तर एक दुई टुक्रा खाएपछि सुँगुरको मासुले पुगिहाल्यो, नारायण दाइलाई । गोरबहादुर त अघिदेखि नै खाँदै पिउँदै । उनले नारायण दाइलाई भनेछन्, ‘हेर्नोस्, म त मगरको छोरो, सुँगुरको मासु त मज्जाले खान्छु ।’ त्यही रात एक धार्नी मासु र एक ग्यालेन कोदोको रक्सी सबै सकियो । गोरेबहादुरले सबै खाईपिइ सकेछन् ।

एकातिर हेडमास्टर र अर्कातिर शिक्षक नेता गोरेबहादुरको पाठ्यक्रम निर्मातासँग पनि देखभेट र उठबस भइरहने । उनको खाने बानीबाट परिचित एक पाठ्यक्रम निर्माताले उदाहरणका लागि त्यसबेला कक्षा ४ को अंग्रेजीको पुस्तकमा हालिदिएछन्, ‘गोरे दाइ इज अ फ्याट म्यान हि इट्स अ लट् ।’ यो कुरा नारायण दाइबाट सुन्ने अवसर पाएँ ।

यसबारे मैले गोरेबहादुरसँग यो जिज्ञासा राखेँ । उनले हाँस्दै भने, ‘त्यो किताबमा चित्रसहित लेखिएको पात्र मै हुँ ।’

नारायण दाइबाट गोरेबहादुरको खाने बानीबारे सुनेपछि उनले खाएको हेर्न मन लाग्यो । एक बिहान लाजिम्पाटको एउटा तारे होटलमा कार्यक्रम राखिएको थियो । कार्यक्रम सकिएपछि खानाको व्यवस्था थियो । तर, बिहानैको समय भएकाले खानेकुरामा चिया, कफी र बेकरी परिकार मात्र राखिएको थियो ।

मैले एक कप कालो चिया र दुई टुक्रा बिस्कुट लिएँ । त्यसबेला गोरेबहादुर पूर्वमन्त्री भइसकेका थिए । उनलाई नियालेँ । उनको प्लेटमा बिस्कुट र केकको चुली लागेको थियो । उनी जति स्वाम् स्वाम् खान्छन्, त्यही तालमा उनको बोके दाह्री नाच्छ । उनी स्वाद मानी मानी खाइरहको, मचाहिँ स्वाद मानी मानी उनले खाएको हेरिरहेँ र सम्झेँ, गोरे दाइ इज ए फ्याट म्यान, हि इट्स अ लट् ।

तर विडम्बना ! यस्ता एउटा पात्र, जसको मृत्यु सहज हुन सकेन । मीठो बोल्ने मान्छे, जीवनको उत्तराद्र्धमा अर्धवेहोशी अवस्थामा नबोलीकनै गए, अरू कसैलेजस्तै मैले पनि सुनेको र देखेको गोरेबहादुर खपांगी ।

टिप्पणीहरू