एउटाको जमिन्दारी, अर्कोको जागिर !

एउटाको जमिन्दारी, अर्कोको जागिर !

भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय सल्टाएर देखाइदिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई माघे संक्रान्तिको दिन नयाँदिल्ली पठाएपनि समस्या ज्यूँका त्यूँ छ । नयाँ दिल्लीमा नेपाल-भारत संयुक्त आयोगको आवरणमा गरिने वार्ताबाट भारतले मिचेको भूमि फिर्ता गरेर आफ्ना विरोधीहरूलाई देखाइदिने प्रधानमन्त्रीको योजना त्यतिबेला फ्लप भयो,जतिबेला ज्ञवाली नयाँदिल्लीमा उत्रिनासाथ भारतीयपक्ष बाउँठियो ।

अरु सांसदको पद जागिर भए उहाँको चाँहि पुस्तैनी व्यवसाय हो ?

नयाँदिल्लीस्थित स्रोत भन्छ ‘भारतीय रवैयाले हाम्रा प्रधानमन्त्रीको राजनीतिक स्टन्टलाई एकाएक भुत्ते बनाइदियो । त्यसैगरी ज्ञवालीलाई उता पठाएर ‘रअ’ का प्रमुख सामन्त गोयललाई गोप्य तवरबाट बालुवाटारमा भेटेको विषयलाई जस्टिफाई गर्छु भन्ने रणनीति पनि उदाङ्गो भयो ।’

सबैतिरबाट चेपुवामा परेपछि प्रधानमन्त्री गाली गलौजमा उत्रिनुभएको विश्लेषकहरू बताउँछन् । सबैखालका पेशा व्यवसाय गर्नेहरूलाई भ्याएपछि आइतबार उहाँले सांसदलाई समेत तल्लोस्तरको शब्द प्रयोग गरेर बाँकी नराख्नुभएको देखिएको छ । उहाँले ‘सांसद पद भनेको पाँच वर्षे जागिर हो र ?’ भन्नुभएको छ । आफूसँगै तीन वर्षअघि चुनिएर आएका अरु सांसदलाई त्यसो भनिरहँदा आफू संसदीय दलको नेतामार्फत् बनेको प्रधानमन्त्री पदको बारेमा अरुले के भन्लान् भन्ने हेक्कासमेत राखेको देखिँदैन ।

प्रधानमन्त्रीका आलोचकहरू भन्छन् ‘अरु सांसदको पद जागिर भए उहाँको चाँहि पुस्तैनी व्यवसाय हो ?’ उनीहरू भन्छन् ‘प्रधानमन्त्रीको भाषामा अरु जागिरे हुन्,उनी जमिन्दार । अन्यथा,एउटै निर्वाचन जितेर आएका ओली पनि अरुजस्तै सांसद हुन् । अरुलाई घाँसपात र आफूलाई मान्छे ठान्ने सोच डरलाग्दो देखिन्छ ।’

अघिल्लो पटकको नौ महिने कार्यकाल र यसपटकको अघिल्लो एक वर्षको लोकप्रियता पछिल्ला दिनमा ह्वात्तै खस्केको बताइन्छ । इश्वरको नाममा भन्ने शव्द उच्चारण नगरी शपथ ग्रहण गर्ने प्रधानमन्त्रीले एकाएक पशुपतिमा क्षमा पूजा गर्नुभएको छ । कम्युनिष्ट पार्टीको अध्यक्ष भइसकेको व्यक्तिले स्वर्ग र नर्कको कुरा गर्न थाल्नुभएको छ । नौ गते आफूनिकट पत्रकारहरूको भेलामा कस्ता पत्रकार स्वर्ग जान्छन् र कस्ताचाँहि नर्क जान्छन् भनेर प्रधानमन्त्रीले आफै उता गएर आएपछिको अनुभव बाँडेझैँ गरी सुनाउनुभएको थियो । त्यसको गुह्यचाँहि ‘नर्कको कुरो गरेर भएपनि पत्रकार तर्साउने’ कडीको प्रयोग गरिएको सञ्चारकर्मीहरूको बुझाई रहेको छ ।

टिप्पणीहरू