कालिबहादुर खामले भने ‘बालुवाटार गएको हुँ,ओली समूहमा होइन’

कालिबहादुर खामले भने ‘बालुवाटार गएको हुँ,ओली समूहमा होइन’

गत शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध सकिएपछि माओवादीमा आवद्ध केही कार्यकर्तालाई भेटेर आफ्नो बनाउनुभयो । एकैसाथ ठूलो संख्यामा पूर्वमाओवादीका नेता तथा कार्यकर्ता तानेर प्रचण्डमाथि दबाव बढाउने रणनीतिअनुरूप उक्त कार्यक्रमको आयोजना गरिएको थियो । जनमुक्ति सेनाका पूर्वडिभिजन कमाण्डर कालीबहादुर खामको नेतृत्वमा ठूलो संख्यामा लडाकुलाई टिका लगाइदिने योजना थियो । तर,पहिले नै भेटिसकेका खाम त्यो दिन फेरि बालुवाटार नगएपछि उहाँको रणनीति थोरै फेरिएको विश्लेषण गर्न थालिएको छ ।

स्रोतका अनुसार बालुवाटारसँगको ‘बार्गेनिङ’ नमिलेपछि खाम ओली समूहमा तत्काल नटाँसिने निश्कर्षमा पुगेका छन् । पूर्वजनमुक्ति सेनालाई एकीकृत गरेर आफूतिर तान्ने योजना सफल नहुने देखिएपछि स–साना समूहलाई एकीकृत गर्ने योजनामा प्रधानमन्त्री निकट पक्ष लागेको तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर सरल सहयात्रीले बताउनुभयो । ‘अहिले पूर्वजनमुक्ति सेना भनेर बालुवाटारले चर्चामा ल्याएका लीलबहादुर थापा र लेनिन बिष्टले कहिल्यै जनयुद्ध लडेका छैनन् । लीलबहादुर शान्ति प्रक्रियापछि जनमोर्चाबाट आएका हुन् । लेनिन विष्टका बारेमा सबैलाई थाहा छँदैछ । त्यसैले यो अनावश्यक हल्ला हो । यथार्थ निकै फरक छ,’ उहाँले भन्नुभयो ।

यद्यपि पूर्वमाओवादीहरूलाई एकीकृत गर्ने र एकै ठाउँमा रहने अवस्था निर्माणका लागि नेताहरूले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘को कहाँ गयो भन्ने कुरा त्यति महत्वपूर्ण हो जस्तो लाग्दैन । मुख्यतः भावना हो । पूर्वमाओवादी छिन्नभिन्न हुनुहुँदैन । यसप्रति नेताहरू गम्भीर बन्नैपर्छ ।’ प्रधानमन्त्री ओली माओवादी जनयुद्धको सदाबहार आलोचकका रूपमा चिनिनुहुन्छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनुपूर्व उहाँ जनयुद्ध,माओवादी नेता तथा कार्यकर्ता र जनयुद्धसँग सम्बन्धित हरेक पक्षमाथि तिखो प्रहार गर्नुहुन्थ्यो । दुई पार्टीको एकता गर्ने क्रममा राजनीतिक र वैचारिक कुराहरू आंशिक मिलाइएका थिए,केहीलाई मिल्काइएको थियो । तत्कालिन एमालेले अवलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादीले अवलम्बन गरेको २१ औँ शताव्दीको जनवादलाई थाति राखेर जनताको जनवादलाई नेकपाको कार्यनीति बनाउन ओलीसमेत सहमत हुनुभएको थियो ।

नेकपा विभाजनका अन्य धेरै कारणमध्ये वैचारिक पनि एउटा भएको सरल बताउनुहुन्छ । पछिल्ला दिनहरूमा ओलीले जबजलाई नै जबर्जस्ती नेकपाको कार्यनीति भन्दै मदन भण्डारी फाउण्डेसनका नाममा देशभर कार्यक्रम गर्न थालेपछि विवाद चुलिएको उहाँको बुझाई छ । ‘पार्टी र नेताका कुरा छाडौं । कसैलाई कोहि मन पर्ला वा नपर्ला फरक कुरा भयो । तर ओलीजी त जनयुद्धकै विरोधी मान्छे हो । यो कुरा सबैलाई थाहा छ । यी सबै कुरा बुझ्दाबुझ्दै पनि साथीहरू किन पछि लागेका हुन् बुझिनसक्नु छ ।’

ओलीले केही समय पहिले जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गरेको प्रसङ्ग उल्लेख गर्दै सरलले जनयुद्ध लडेका माओवादीलाई ओली समूहमा जाने बाटो बन्द भैसकेको बताउनुभयो । ‘केही स्वार्थका लागि गए होलान् तर जनयुद्ध लडेका योद्धाहरू ओली समूहमा अटाउँछन् भन्ने मलाई लाग्दैन,’ उहाँले भन्नुभयो ।

ओली समूहमा लागेका छैनौँ : बिष्ट

तत्कालीन माओवादी लडाकुहरूको संगठन पूर्वजनमुक्ति सेना तथा बहिर्गमित वालसेनाको संगठन केपी ओली समूहमा समाहित भएको बालुवाटार निकट मिडियामा गरिएको प्रचारको बहिर्गमित वाल सैनिक संगठनका लेनिन बिष्टले खण्डन गरेका छन् । बिष्टले प्रधानमन्त्री ओलीसँग भेटघाट भएको तर बाहिर प्रचार गरिएजस्तो सो समूहमा प्रवेश नगरेको प्रस्ट पारेका हुन् । उनले भनेका छन् ‘प्रधानमन्त्री पद सबैको साझा भएको र सबै जनताको केन्द्रविन्दु भएकाले प्रधानमन्त्रीज्यूको आग्रहमा हामी बालुवाटार गएका थियौं ।’ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटघाटले धेरैलाई भ्रम पारेको भन्दै उनले विज्ञप्ति सार्वजनिक गर्ने तयारी गरेको बताएका छन् ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमपछि विभाजित नेकपामा ओलीपक्ष तुलनात्मकरूपमा कमजोर देखिएको छ । बहुमत केन्द्रीय सदस्य प्रचण्ड–माधव समूहमा लागेपछि ओली समूह केही रक्षात्मक अवस्थामा पुगेको हो । त्यसैले उक्त समूह पूर्वमाओवादीका कार्यकर्ता तान्ने अभियानमा लागेको आरोप लाग्दै आएको छ ।

टिप्पणीहरू