पूर्वी यात्राका कुरुप अनुहार

पूर्वी यात्राका कुरुप अनुहार

– अनिल शर्मा

नेपाल प्रहरीको भर्ना प्रक्रियामा ‘विप्लव फ्याक्टर’ महत्वपूर्ण सन्दर्भ रहने गरेको छ । कनिष्ठ प्रहरी अधिकारीको भनाइअनुसार लिखित र शारीरिक नापजाँचमा उत्तीर्ण भएका प्रहरी (परीक्षार्थी) हरुलाई कुनै न कुनै कोठाबाट विप्लवको विषयमा प्रश्न सोधिन्छ । नेता विप्लवलाई चिन्नुहुन्छ ? विप्लव कस्तो मान्छे हो ? विप्लवको सोच कस्तो लाग्छ ? आदि प्रश्न सोधिन्छ । धेरैजसोले सकारात्मक जवाफ दिने गर्छन् । धेरैले ‘विप्लव देशलाई चाहिने मान्छे हो, वार्ता हुनुपर्छ’ भन्ने जवाफ दिने गरेको र विप्लवप्रति नरम हुनेलाई प्रहरीमा प्रवेश गराउँदा भविष्यमा खतरा हुने आंकलन गरेर मौखिक परीक्षामा अनुत्तीर्ण गर्ने गरेको एक जना असई बताउँछिन् ।

एक दिन खाँदबारीबाट चैनपुर अदालत जाँदा प्रहरीहरु छलफल गरिरहेका थिए । एक जना जवानले फ्याट्ट भने, ‘कमाण्डरले हेपेको देख्दा कहिलेकाहीं त यो एसएलआर बोकेर विप्लवतिर जाऔंजस्तो हुन्छ सर ।’ कमाण्डरले ‘प्रहरीको पोशाक लगाएको छ, हतियार बोकेको छ, के बोलेको होला । मसँग भनिहाल्नुभयो । अरुसँग नभन्नुस् दाइ’ भनिन् । त्यसपछि त्यसदिन उनीहरु धेरैबेर मौन बसे ।

भोजपुर र संखुवासभा छिमेकी जिल्ला भएको कारण उनीहरुबीच छलफल भइरहन्थ्यो । भोजपुर जिल्ला अदालतले बमबहादुर विष्ट, त्रिलोचन विक, मोहन किराँती, बाबुराम सुवेदी, रत्न बिष्टलगायतलाई पुर्पक्षको लागि थुनामा पठायो तर पुनरावेदन अदालत धनकुटाले भोजपुर अदालतको आदेश गैरन्यायिक ठहर गर्दै साधारण तारेखमा मोहन किराँती ‘मादेन’ र त्रिलोचन विकलाई रिहा ग¥यो । यसबाट भोजपुर जिल्ला अदालतको आदेश विवादमा प¥यो । त्यसैगरी उक्त अदालतले उमा भुजेललाई हरेक मुद्दामा ५० हजार धरौटी माग्यो । चन्द्रबहादुर चन्दलाई १५ हजार तथा अनिल शर्मा र दिपेश राईलाई ७,५०० को दरले धरौटी माग्यो । सर्वोच्च अदालतले चन्द्रबहादुरको तर्फबाट परेको रिटको सुनुवाई गर्दै राजनीतिक पूर्वाग्रह राखेर अधिक धरौटी माग गरेको ठहर गर्दै धरौटी खारेज गरिदियो । त्यसरी भोजपुर जिल्ला अदालतका न्यायाधीश गेहेन्द्रराज पन्तका हरेक आदेश र फैसला विवादास्पद भए । उनी न्यायाधीशभन्दा ओली–थापा मण्डलीका चम्चाजस्ता देखिए ।

ओली मण्डलीले पूरै देशलाई पार्टीकरण गर्दै गएको छ । नेपाल प्रहरीले आफूलाई ओली गुटको जनवर्गीय संगठनमा पतन गराएको छ । ओली–थापा गुटले देशलाई फासीवादमा धकेल्दै गएको र भ्रष्टाचारमा डुबाएको आरोप अब हाम्रो मात्र रहेको छैन । ओली गुटको समाजवाद र एकता फर्सीझैं कुहिएको छ । त्यही रअको दलाल, देशद्रोही ओलीमण्डलीको भातृसंगठन बनेको जिप्रका भोजपुरका डिएसपी कृष्णकुमार चन्दले थुनुवाहरुलाई ओली गुटमा प्रवेश गराउन दबाब दिने गरेका छन् । चन्द प्रहरी पोशाक लगाएको ओलीको कार्यकर्ता हो । त्यसैगरी ज्यानमारा चौकीदार कृष्ण श्रेष्ठले सजायँ माफी पाउन र भ्रष्टाचार गर्न सत्तारुढ पार्टीको भातृसंगठनको काम गरिरहेको जेलमा जाने–आउने बताउँछन् । उनले बन्दीहरुलाई सरकारी पार्टीमा प्रवेश गर्न दबाब दिन्छन् । जेलभित्र चर्को भ्रष्टाचार छ । नयाँ बन्दी जेलमा प्रवेश गर्नासाथ जनही ७४५ रुपैयाँ अनिवार्य तिर्नुपर्छ । नतिरे यातना, झमेला, दबाब दिइन्छ । त्यति रकम तिरेपछि एक–एकवटा ढाकाटोपी, साबुन, ब्रस, मञ्जन दिइन्छ । जसको जम्मा मूल्य तीन सय पनि हुँदैन । ढाकाटोपी नेपालको निश्चित समुदायको पोशाक हो । एउटा जाति र समुदायको भाषा, भेष, संस्कृतिलाई अरु समुदायमा बाध्यकारी बनाउनु संविधानको भावनाको बर्खिलाप हो । यो नश्लवादी हर्कत हो । काठमाडौंमा प्रम ओलीले ‘प्रदेश सरकार भनेको संघीय सरकारको राजनीतिक एकाई हो’ भनिरहेको बेला भोजपुर कारागारमा मण्डलेतन्त्र कायम छ ।

संखुवासभा र धरानलाई अपवाद मान्ने हो भने हिरासत र जेलको खाना ‘सुँगुरको दाना’ सरह हुने गरेको छ । प्रहरीको पोशाक र जुत्तामा समेत भ्रष्टाचार गर्ने, बूढीगण्डकी आयोजनाको ९ अर्ब लुट्ने लुटेराहरुले थुनुवा÷बन्दी÷कैदीको गाँस खोस्नु कुनै नयाँ कुरा भएन होला । हिरासतमा पढ्न, समाचार सुन्न, घर र वकिलसँग सम्पर्क गर्न पनि दिइन्न र बेपत्ताको अवस्थामा राखिन्छ । जेलहरु यमलोकजस्ता छन् । सुनसरीको झुम्का जेल ज्वलन्त उदाहरण छ । झुम्का जेल वर्षातमा डुब्छ र कैदीबन्दीका गोडाहरु हिलोले खाएर कुहिन्छन् । बन्दीहरु रातमा ठाउँ नपुगेर पालैपालो सुत्छन् । एउटा बन्दी चर्पी गयो भने फर्किंदा अर्को सुतिसकेको हुन्छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी थुनेर राखिएको हुन्छ । झुम्का जेलमा एउटा कागतीको ३० रुपैयाँ, दूधकपको ५० रुपैयाँ, ९५ रुपैयाँ पर्ने नाइसिल (घमौरा रोक्ने औषधि) को २९५ रुपैयाँ लिइन्छ । समाचारबाहिर लग्यो, कसैले लेख्यो भने चरम यातना दिइन्छ । मानवअधिकारवादी यदाकदा पुगे भने नाइकेले घेरी नक्कली सूचना दिएर पठाइन्छ । २०७७ असोज ७ गते झुम्का जेल अनुगमन गर्न गएका राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठक चौकीदार र नाइकेलाई १५ मिनेटजति भेटेर बन्दीहरुको गुनासो नसुनी फर्केको र आफूलाई एक मिनेट मात्र भए पनि भेट्न देऊ भन्दा भेट्नसमेत नदिएको गुनासो बन्दी त्रिलोचन विकको छ । झुम्का जेलमा देवप्रसाद लिम्बु, राजन बुढाथोकीलगायत नेकपाका कार्यकर्ता बन्दी छन् । मासिक झण्डै १० लाख कैदीबन्दीबाट लुटेर सिडिओ, जेलर, प्रहरी र चौकीदारले खाने गरेको बन्दीहरुको आरोप छ । त्यसैले मैले भोजपुर अदालत र प्रहरीसँगको बयानमा भनं,े ‘प्रहरी भनेको अपराध उत्पादन गर्ने कारखाना हो ।’ जेललाई शासकहरु सुधारगृह भन्छन् तर त्यो यमलोक हो । जहाँबाट फर्किनेहरु भयंकर र विद्रोही हुन्छन् ।

असोज ७ गते सुनसरी अदालत जाने क्रममा सरकारी वकिल कार्यालयमा मुद्दा फाँटका असई हरि सापकोटासँग भेट भयो । प्रहरीमा मुद्दा फाँटलाई ‘भन्सार’ भनिन्छ । सापकोटाको कुभिण्डे भुँडीले उनलाई भन्सार निकै फापेको अनुमान गर्न सकिन्थ्यो । सापकोटाले सुदर्शन, उमा, पदमलगायत मैले मुद्दा नचलाएको कोही छैन भन्दै थिए । जल्लादहरु सेवानिवृत्त भएपछि जीवनमा कति जनालाई मारियो ? भनेर गर्व गर्छन् रे ! मैले सबैको सामु हामीजस्तै दुःखकष्ट झेल्नेहरुको रगत–पसिना चाटेर तपाईंले गणतन्त्र भोग्नुभएको छ, अन्यथा राणाशासन रहिरहन्थ्यो भनेको थिएँ । उनले बाहुन भएकोमा गर्व गरे । ऊ बाहुन थियो कि जल्लाद ? मैले उसको हुर्मत लिने उद्देश्यले ‘अहिले सत्ताको चाकरी गरेर फाइदा लिने, अर्को व्यवस्था आएपछि साखुल्ले बन्न आउने र फेरि फाइदा कुम्ल्याउने, त्यही त हो बाहुनले गर्ने’ भनें । त्यसपछि त्यो जल्लाद निकै रिसायो । हामी अदालततिर लाग्यौं । त्यहाँ दुई जना सेवाग्राही हाम्रो छलफल सुन्दै थिए । उनीहरुले ‘महरालाई छुन नपाउँदै जेल, शेरधन राईलाई चाहिँ बालिका खड्काले पटक–पटक यौनशोषण ग¥यो, नाता प्रमाणित गरिपाऊँ भन्दा केही नहुने ?’ भन्दै थिए ।

देशको प्रधानमन्त्री नै विदेशी गुप्तचर निकायको एजेन्ट, देशद्रोही, भ्रष्टाचारको नाइके, अपहरणकारी, गणतन्त्रविरोधी, संघीयताविरोधी र प्रतिगामी भएपछि देशमा तलसम्म उस्तै हुने नै भयो । देश राज्यविहीन अराजकता र अविश्वासको दिशामा धकेलिएको छ । लेखक प्रदीप गिरीले ‘निर्वाचित फासीवाद’ भन्नुभएको छ । जसको अभ्यास ट्रम्प र पुटिनले गरिसकेका छन् । तीन वर्षअगाडि हामीले यो आरोप लगाउँदा धेरैले ओठ लेब्य्राउँथे । आज आफूलाई दिग्गज बौद्धिक र लोकतन्त्रवादी दावा गर्नेहरु विप्लवको विचार र योजनापछि हिँड्न बाध्य छन् । रुसी इतिहास र संस्कृतिविद् भासिली क्लिउचेस्कीले ‘इतिहासले केही पनि सिकाउँदैन तर यसबाट पाठ नसिक्नेहरुलाई खाली सजाय मात्र दिन्छ’ भनेका थिए । ओली नेतृत्वको सामाजिक फासीवाद र उसको राष्ट्रघाती–भ्रष्टाचारी इतिहासको दिशा र दशा रोक्न पहलकदमी नगर्ने हो भने त्यसले सबैलाई लपेट्नेछ । जसरी ज्ञानेन्द्रको इतिहासले लपेटेको थियो ।

– खाँदबारी, जिप्रका

टिप्पणीहरू