मणिः हराएको कि चम्कन छाडेको ?

मणिः हराएको कि चम्कन छाडेको ?

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन माओवादी र पूर्व एमालेमा पहिले वामदेव पछि माधवकुमार नेपाल खेमाका मन्त्रीहरुले सामुहिक राजीनामा दिए । त्यसको ठ्याक्कै एक हप्तापछि मन्त्रिपरिषद् पुनर्गठन भयो । पुनर्गठित मन्त्रिपरिषद्मा कतै चर्चामै नरहेका मणिचन्द्र थापाले बाजी मारे । माओवादी जनयुद्धताका सांस्कृतिक मोर्चा सम्हालेका थापा अहिले कामचलाउ सरकारको खानेपानी मन्त्री बनेर सिंहदरबार छिरेका छन् ।

तत्कालीन माओवादीमा उपल्लो तहकै नेता हुन् मणि । उनलाई कम अवसर पाएका नेतामध्ये एक हुन् भनिन्छ । सात पटकसम्म मन्त्री बन्नेहरु पनि माओवादी आन्दोलनकै उत्पादन थिए । त्यसो त मोहन वैद्य, सिपी गजुरेल, नेत्रविक्रम चन्द जस्ता नेताले पनि अहिलेसम्म सिंहदरबारको यात्रा पूरा गरेका छैनन् । नेकपा विभाजनपछि मणि ओलीतिर लागे । माओवादी विरासत छाडेर झण्डा हल्लाउनैका लागि ओलीतिर लागेको भन्दै पूर्वमाओवादी कार्यकर्ताहरु उनीसँग रुष्ट छन् ।

जनयुद्ध र त्यसपछि पनि माओवादी युवा कार्यकर्तामाझ मणि लोकप्रिय थिए । तिनै युवा अहिले ओलीको प्रतिगमनलाई साथ दिएको भन्दै उनको आलोचना गरिरहेका छन् ।  कम्युनिष्टको उर्वर भूमि मानिने प्युठानका पुराना कम्युनिष्ट नेता हुन् मणि थापा । कम्युनिष्ट आन्दोलनमा उनको लामै ईतिहास छ । माओवादीले जनयुद्ध शुरु गर्नुपूर्व एकता केन्द्रमा थिए । माओवादी जनयुद्धमा गएपछि मणि पनि त्यसैमा होमिए । जनयुद्ध उत्कर्षमा पुगेका बेला उनी जनतालाई जगाउन जनवादी गीत गाउँदै हिँड्थे ।

प्रचण्डले आफू निकटकालाई मात्र बारम्बार अवसर दिएपछि मणिले अहिले पाएको अवसर छोड्न चाहेनन् ।’

त्यतिबेला अखिल नेपाल जनसाँस्कृतिक महासंघको नेतृत्व तहमा रहे । थापाले लेखेका धेरै गीत जनयुद्धताका चर्चित भए । यद्यपि मणिको पीडा भने पृथक रहेको बताइन्छ । उनलाई नजिकबाट चिन्नेहरू तुलनात्मक रुपमा कम अवसर पाएका माओवादी नेतामध्येका हुन् भन्ने गर्दछन् । मणिले अहिले किन ओलीको उल्टो कदमलाई साथ दिए होलान् ? मणिसँगै जनयुद्धमा हिँडेका उनकै उमेर समूहका एक जना नेता भन्छन्, ‘जनयुद्धबाट स्थापित धेरै नेता धेरै पटक सांसद,मन्त्री बन्दा पनि मणि कमरेडले अवसर पाउनुभएको थिएन । धेरैका श्रीमान-श्रीमती नै सांसद,मन्त्री बने,अवसर पाउँदा अरुले पनि छाडेका थिएनन्, उहाँले पनि त्यहि गर्नुभो । अचम्म मान्नुपर्ने केही देखिँदैन ।’

संसद विघटन र पार्टी विभाजन भएको प्रतिकूल समयमा के मणिको निर्णय ठीक हो त ? सिंगो मुलुक ओलीले संविधानमाथि ‘कू’ गरेको भन्दै सडक संघर्षमा होमिएका बेला तुलनात्मक रुपमा इमान्दार मानिएका मणिले किन ओलीलाई साथ दिए होलान् ? माओवादी जनयुद्धमा हिँडेका अर्का नेता भन्छन्, ‘उनी ओलीतिर लाग्नुमा प्रचण्डको दोष छ । हुन त उनका पनि धेरै कमजोरी छन् तर, प्रचण्डले आफू निकटकालाई मात्र बारम्बार अवसर दिएपछि मणिले अहिले पाएको अवसर छोड्न चाहेनन् ।’

कतिपयले मणि पहिले नै ओलीको पक्षमा खुलेर लागेको समेत बताउने गरेका छन् । श्रीमतीलाई जागिर खुवाउन ओलीको अनावश्यक भक्ति गरेको आरोप लगाउनेहरु पनि कम छैनन् । आरोप लगाउनेहरुलाई उल्टै प्रश्न गर्दै तिनै माओवादी नेता भन्छन्, ‘म अहिले मणिजीले गरेको निर्णय ठीक हो त भन्दिनँ तर उनका आफ्नै बाध्यता होलान् त्यता नजाऔं । जागिरकै कुरा भए ओलीले जागिर लगाइदिन सक्ने तर प्रचण्डले पनि लगाइदिएको भए के बिग्रन्थ्यो !’ जतिसुकै आदर्शका कुरा गरेपनि आखिर सबैले गरेको यहि हो । अरुलाई आदर्श सिकाउनेहरुका हविगत पनि एक पटक हेर्न उनले सुझाएका छन् ।

मणिसँगै सांस्कृतिक फाँटमा काम गरेका अर्का माओवादी नेताको भनाइ मान्ने हो भने उनी अवसर नपाएका नेता होइनन् । शासकीय अवसर नपाए पनि पार्टीले भने उनलाई अन्याय नगरेको ती नेताको दाबी छ । पटक पटक अवसर पाएपनि मणिले त्यसको दुरुपयोग गरेको उनको ठम्म्याई छ ।  ‘उपियाँ झैँ यता र उता फड्किने मणि कमरेडको कार्यशैलीले उहाँ आफैं पछि पर्नुभएको हो,’ उनी भन्छन् । पार्टीलाई अप्ठेरो परेको बेला विगतमा पनि मणिले साथ छोडेको भन्दै उनले भने, ‘उहाँ जनयुद्ध उत्कर्षमा पुगेको बेला मौन बस्नुभो । शान्ति प्रक्रियामा आउने बित्तिक्कै पार्टी छाड्नुभयो । कमजोरी उहाँकै हो,शासकीय जिम्मेवारी नपाउनुभएको होला । त्यो सबैले पाउने कुरा पनि हुँदैन । तर पार्टीले उहाँलाई अन्याय गरेको देखिँदैन । अहिले पनि उहाँलाई स्थायी कमिटी सदस्य बनाएकै थियो । त्योभन्दा माथि त कहाँ पुर्याउनुपर्ने हो र ?’

एकपटक मदन भण्डारीले सार्वजनिक रुपमै भन्नुभएको थियो ‘जोगी बन्न राजनीति गरिँदैन ।’ हुन पनि हो,राजनीति गर्नुको मतलब सत्तामा पुग्ने र आफू अनुकूल सत्ता चलाउने हो । तर मणिका हकमा त्यो लागू भएन । उनी छाँयामा परिरहे या पारिए । उनीभन्दा जुनियर माओवादी नेता पटक पटक सांसद, मन्त्रीलगायतका शासकीय जिम्मेवारीमा पुगे । धेरैका श्रीमान श्रीमती नै मन्त्री बने । राजनीतिक विश्लेषकहरुका अनुसार उक्त तथ्यलाई राम्रोसँग बुझेका मणिले जेसुकै होस् पाएको अवसर नछोड्ने मनस्थिति बनाएपछि ओलीलाई साथ दिएका हुन् ।

टिप्पणीहरू