विप्लवले हतियार बिसाउन खोजेकै हुन् ?

विप्लवले हतियार बिसाउन खोजेकै हुन् ?

सशस्त्र विद्रोहबाटै सत्ता परिवर्तन गर्ने उद्घोषकासाथ भूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण संघर्षको बाटोमा आउने रहस्य खुलासा भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषिराम कट्टेलबाट यस्तो खुलासा भएको हो । विप्लवसहित चार कम्युनिष्ट घटकको संयुक्त रणनीतिक मोर्चा निर्माणबारे राखिएको जिज्ञासाको जवाफमा कट्टेलले विप्लव शान्तिपूर्ण क्रान्तिको बाटोमा आउन सहमत भएपछि मोर्चा गठनले आकार लिएको दाबी  गर्नुभयो ।

उहाँले एक हप्ताभित्र बैठक बसेर आधारपत्र र संरचना निर्माण गर्ने र मोर्चाको आधिकारिक घोषणा गरिने पनि जानकारी दिनुभयो । विप्लव नेतृत्वको नेकपाका गतिबिधिलाई सरकारले प्रतिबन्ध लगाएको छ । उहाँले प्रतिबन्धलाई आफ्नो पार्टीले अस्विकार गरेको पनि जानकारी दिनुभयो । ‘हामीले प्रतिबन्ध लगाएकै दिनदेखि यसको बिरोध गरेका हौँ, एउटा राजनीतिक दललाई प्रतिवन्ध लगाउन मिल्दैन,यो प्रतिबन्ध कम्युनिष्ट आन्दोलनमाथिकै प्रतिबन्ध हो । हामी यसलाई पूर्णतः अस्वीकार गर्छौं ।

‘विप्लव नेतृत्वको नेकपासङ्ग दुई वर्षदेखिको निरन्तर सम्वाद र छलफलको नतिजास्वरूप मोर्चा गठन सम्भव भएको उहाँको भनाइ छ । ‘विप्लवहरूमा पनि जनसंघर्ष कि युद्धको बाटो जाने भन्नेमा केही अलमल थियो,दुई वर्षको बहसपछि उहाँहरू शान्तिपूर्ण संघर्षको बाटोमा आउन तयार हुनुभएको छ’ कट्टेलले भन्नुभयो, ‘त्यसैले रणनीतिक मोर्चा बनाएर जाने सहमति भएको हो । ‘उहाँले आन्दोलनलाई एकतावद्ध गर्दै संघर्षबाटै पार्टी एकता गर्ने योजनाका साथ मोर्चा गठन गरिएको पनि जानकारी दिनुभयो । यसअघि विप्लव नेतृत्वको नेकपा,कट्टेलको नेपाल कम्युनिष्ट पार्टी,मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबीच रणनीतिक मोर्चा गठन भएको थियो ।

‘वर्तमान सरकारको निरंकुशता,फाँसीवाद र  दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताविरूद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनीतिक संयुक्त मोर्चा गठन गर्ने सहमति भएको छ’ चार पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कट्टेलले प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भएकाले यसले संविधान र संसदीय व्यवस्थाको असफलतालाई मुखरित गरेको पनि दाबी गर्नुभयो ।

टिप्पणीहरू