हल साहुहरू फेरि पनि हिस्स

हल साहुहरू फेरि पनि हिस्स

अघिल्लो शुक्रबार हल व्यवसायीको दौडादौडी हेर्नलायक देखियो । नौ महिनापछि बल्ल हल खोलेकोमा सिडिओ कार्यालयले बबरमहलतिर बोलाएपछि दौडादौडी चल्यो ।

कोरोना कहरपछि सबै क्षेत्र खुला हँुदा पनि सरकारले अनुमति नदिएको भन्दै चिढिएका हलमालिकले जबर्जस्ती सिनेमा हल खोले । तर, सरसफाइ र मर्मत सम्भारको कामभन्दा अरू केही हुनै पाएन । फेरि पूर्ववत् ताला झुण्ड्याउन विवश भए । यही बीचमा सञ्चार सचिव हरि बस्यालले उपत्यकाका प्रजिअहरूलाई निर्देश दिए– हल कुनै हालतमा खोल्न नदिनू । त्यही पछि एक्सन लिए भर्खरै प्रजिअ बनेर भित्रिएका कालिप्रसाद पराजुलीले । उनको सम्झाई बुझाइपछि हलमालिक गले । र, ताला झुण्ड्याएर घर फर्किए ।

पूर्ववत् घोषणाअनुसार हल खुलेको चाल पाएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले छलफलका लागि डाक्यो । त्यहाँ प्रशासनका कर्मचारी र हल मालिकबीच चर्काेचर्की प¥यो । मालिकले तर्क गरे, सरकारले सिनेमा हल खोल्न चासो नदेखाएका कारण बाध्य भएर खोलेको । उनीहरूले दुःख बिसाए नौ महिनादेखि चलचित्र उद्योग ठप्प हुँदा ४० हजारको प्रत्यक्ष रोजगारी जोखिममा परेको, देशैभरका २१९ वटा हल पूर्णतया बन्द रहेको, रिलिजको मुखमा रहेका २२ चलचित्र दराजमा थन्किएको, छायांकनकै क्रममा रहेका १५ र तयारी चल्दै गरेका २० गरी ५७ वटा चलचित्रका निर्माता कोरोना कहरको प्रत्यक्ष पारमा परेको, नौ महिनाबीच झण्डै ६ अर्ब गुमाएको पीडा सुनेपछि जिल्ला प्रशासन कार्यालयले सिने हल खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउन सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । यसअघि हलवालाहरूको छाता संस्था नेपाल चलचित्र संघले पुस १० बाट चरणवद्ध आन्दोलन गर्ने भन्दै एकलौटी रूपमा हल खोल्ने निर्णय गरेको थियो ।

टिप्पणीहरू