जाते जाते ट्रम्पले फेरि खोजे चीनसङ्ग निहुँ

जाते जाते ट्रम्पले फेरि खोजे चीनसङ्ग निहुँ

आगामी जनवरी २० तारिखको मध्यान्हदेखि ह्वाइट हाउस छाड्नैपर्ने अवस्थामा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद विधेयकमा हस्ताक्षर गरेका छन् । एक चीन नीतिको बिरुद्ध हुने भन्दै चीनले बिरोध गरिरहेकै बेला उनले तिब्बतको ल्हासामा अमेरिकी कन्सुलेट अफिस खोल्नैपर्ने व्यवस्थासहित सिनेटले पारित गरेको विधेयकमा आइतबार हस्ताक्षर गरेका हुन् ।

अमेरिकाले टिबेटन पोलिसी एण्ड सपोर्ट ऐन,२०२० मा तिब्बतसँग जोडिएका धेरैवटा कार्यक्रम समावेश गर्दै आवश्यक संशोधन गरेपछि उक्त विधेयक सिनेटमा प्रस्तुत गरेको थियो । चीनको चर्को बिरोधका बाबजुद अमेरिकी सिनेटले अघिल्लो साता उक्त विधेयकलाई पारित गरेको थियो ।

टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले जनाएअनुसार अमेरिकी ऐनमा अब अमेरिकाको कुनैपनि शहरमा चीनको नयाँ कन्सुलेट कार्यालय खोल्नको लागि ल्हासामा अमेरिकी कन्सुलेट खुल्नैपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । चीनले हालका १४ औं दलाई लामाले तिब्बतलाई मुख्यभूमिसँग छुट्याउन पृथकतावादी कार्य गरिरहेको आरोप लगाउँदै आएको सन्दर्भमा अमेरिकाले तिब्बत र ल्हासालाई लक्षित गरी ऐन पारित गरेको हो । चार वर्षअघि सत्तामा आएपछि एकपक्षीय ढंगले चीनसँगको सम्बन्ध बिगारेका ट्रम्पले पदमुक्त हुन तीन हप्ता बाँकी छँदा सबैभन्दा तिक्ततापूर्ण अवस्थामा पुर्याइदिएका हुन् ।

टिप्पणीहरू