ओली शासनको ‘खुफिया कनेक्सन’

ओली शासनको ‘खुफिया कनेक्सन’

अनिल शर्मा विरही

‘इतिहासले केही पनि सिकाउँदैन तर यसबाट पाठ नसिक्नेलाई खाली सजायँ मात्र दिन्छ ।’
– भासिली क्लि उचेस्की (रुसी इतिहासकार र साँस्कृतिककर्मी)

एक वर्षअघिको प्रसंग हो, एक जना काठमाडौं निवासी वरिष्ठ पत्रकारको निवासमा पुगेको थिएँ, त्यहाँ तीन दिन बस्दा एक दिन सुसांख्य गरिएको केही पानाको छायाँ प्रति दिएर उनी कार्यालय गए । त्यो छायाँ प्रति तिनै सञ्चारकर्मीको अप्रकाशित संस्मरण थियो । त्यसको दुईवटा प्रसंग सम्झिरहेको छु ।

एउटा हो, दक्षिण एशियाका सञ्चारकर्मीहरुको प्रतिनिधिमण्डल विभिन्न देश भ्रमण गर्दै काश्मिर पुग्यो । टोलीमा एकजना महिला सदस्य पनि थिइन् । तिनी जहाँ पुग्यो, तत्काल त्यहाँका शक्तिशाली कर्मचारीसँग सम्बन्ध बनाएर काम पट्याइहाल्थिन् । काश्मिर पुगेकै दिन त्यसै गरिन् । अर्को दिन काश्मिरका एकजना शक्तिशाली व्यक्ति भ्रमण टोलीसँगै गए । शहरको एटिएममा महिला पसिन्, ती पुरुष पनि पसे । उनीहरुले अस्वाभाविक समय लिएपछि एटीएम बाहिर भीड भयो । ती महिला छरिएको कपाल मिलाउँदै निस्किन् । पुरुषको पनि उस्तै हालत थियो ।

अर्काे थियो, तत्कालीन एमाले पार्टीमा ओली–भण्डारी सम्बन्धको चर्चा । केही नेताले ओलीलाई कारवाहीको माग पनि गरे तर माधव नेपालले विषयलाई पाक्न दिनुपर्छ, पर्खिनुस् भनेको र त्यो कहिल्यै नपाकेको बरु पार्टी नै ओलीले समाप्त गरेको विषय थियो । मदन भण्डारीको हत्या, महाकाली सन्धि र केपी ओलीको अस्वाभाविक उदय एक साथ भएको छ । माथि उल्लेख गरिएको प्रसंग पनि जोडिएर आउने गरेको छ र त्यसो हुनु अस्वाभाविक छैन ।

महाकाली सन्धिविरुद्ध उभिएकै कारण मदन भण्डारी र उनका सहकर्मी जीवराज आश्रितको हत्या भएको मानिन्छ । उनीहरुको हत्यामा भारतको गुप्तचर संस्था ‘रअ’ को हात रहेको पनि भनिन्छ । मदन भण्डारीको हत्या गरेर, अरु देशभक्तहरुलाई गिरफ्तार गरेर, भद्रकालीमा निषेधाज्ञा र लाठीचार्ज गरेर मध्यराति १२ बजे देशद्रोही महाकाली सन्धि पारित गरिएको थियो । महाकाली सन्धि पारित गराउन सदनभित्र कांग्रेसका शेरबहादुर देउवा र एमालेका केपी ओलीको मुख्य भूमिका थियो । भण्डारीको चर्को वकालत गर्दै, विद्या भण्डारीको थप नजिक हुँदै ओली भ¥याङको खुट्किला चढ्दै गए । झलनाथ, माधव सबैलाई माथवरसिंह थापालाई झैं भ¥याङमै गुल्टाइयो । ओली र देउवाको लागि ‘रअ’ ले बाटो सफा गर्दै गयो । महाकाली सन्धि र भण्डारीको हत्यादेखिको ओली–देउवा ‘कनेक्सन’ आज पनि जारी छ । सिंहदरबारबाट बालुवाटार निर्वाध चहार्दै छ ।

मदन भण्डारीसहित देशभक्तहरुले महाकाली नदीको मुहान र पानी बाँडफाँडको विवाद टुंगो लगाएर मात्र टनकपुर सम्झौता हुनुपर्ने अडान राखेका थिए । भारत त्यसो गर्न चाहँदैनथ्यो । ओली र देउवाकै कारण नेपालले कालापानी, लिम्पियाधुरा, लिपुलेकको विवाद टुंगो नलगाई महाकाली सन्धि गर्‍यो ।

२०७२ सालमा भारतले नाकाबन्दी लगायो । त्यसबेलासम्म देउवामार्फत ओलीको ‘अमेरिकी कनेक्सन’ पनि बलियो भइसकेको देखिन्छ । गणतन्त्र र संघीयताविरोधी ओली अडान सिआइएको राजा र संसदीय पार्टीहरुबीच एकता हुनुपर्ने र माओवादीलाई एक्ल्याउनुपर्ने रणनीतिकै प्रभाव हो ।

भारतमा केजिबी र रअको सम्बन्ध कमजोर हुँदै गएको छ, सिआइए र रअ नजिकिँदै छन् । त्यसको प्रभाव नेपालमा पनि परेको छ । भारतद्वारा २०७२ सालमा नाकाबन्दी लाग्दा रअकै निर्देशन र ग्रिन सिग्नलअनुसार ओलीलाई सत्तारुढ गराउन र ठूलो फाइदा लिन कथित राष्ट्रवादी नारा उराल्न लगाएको ठानिन्छ । रअले आफ्नै मान्छेलाई मात्र स्थापित गराउने अनेक प्रोक्सी वार गराइरहन्छ । नक्सा प्रकरण त्यही प्रोक्सी वार थियो किनकि महाकाली सन्धिकै कारण नक्सा प्रकरणमा नेपाल कमजोर भएको हो ।

भारत र अमेरिकाका गुप्तचर संस्थाहरुबीचको सहकार्य एमसीसी परियोजनामा राम्ररी प्रकट भएको छ । एमसीसी प्रकरणलाई जोडेर भारत र अमेरिका दुवै चीनविरोधी मोर्चामा एकै स्थानमा उभिन पुगेका छन् । नेपालभित्रै ओली–देउवा गुट एउटै पार्टी जसरी एमसीसीको विषयमा एकै स्थानमा उभिनुले राष्ट्रिय स्वाधीनतामाथि खतराको मापन गर्न सकिन्छ । भारत र अमेरिकी गुप्तचर संस्थाको बलियो समर्थन भएकै कारण ओली पार्टीभित्र जस्तोसुकै तोडफोड, विभाजन र कदम चाल्न तयार भएको हुनुपर्छ । एमसीसी, युवराज खतिवडा मोह, देउवा गठबन्धन र उत्तर कोरियाविरुद्ध अस्वाभाविक पूर्वाग्रहले उनी जनमतको आधारमा नभएर गुप्तचरको आशीर्वादमा चलिरहेका छन् भन्ने सहजै बुझ्न सकिन्छ ।

गुप्तचर संस्था रअले पाकिस्तान टुक्रा पा¥यो । भारतभन्दा पनि पुरानो र अंग्रेजकालमा पनि स्वतन्त्र रहेको देश सिक्किम खायो । उसको अबको मिसन नेपाल हो । तत्कालीन भारतीय गृहमन्त्री सरदार बल्लभभाइ पटेल र रअ गठन भएपछि इन्दिरा गान्धीले नेपाल खान खोजे पनि सकिनन् । नेपाललाई घेर्दै, कमजोर बनाउँदै उपयुक्त समय र दलालको खोजी र प्रतीक्षा रअको नेपाल रणनीति हो । त्यस्तो नेपालविरोधी संस्थाप्रति घृणा जगाउनु, जनतालाई सतर्क–सचेत बनाउनुपर्नेमा बालुवाटारमा स्वागत गरेर ओलीले भयानक देशद्रोह गरेका छन् । सिक्किम काण्डमा रअले बहुमत सांसद पु¥याउने, सदनलाई घेरामा पार्ने, राजदरबारको फोनसमेत काट्ने र सिक्किमे राजपरिवारलाई विदेशमा शरण लिनसमेत रोकेको थियो । दलाल र फौज दुवैलाई एक साथ परिचालन गरिएको थियो । आज नेपालको सन्दर्भमा पनि रअले त्यही गरिरहेको छ । ओली त्यसको मतियार भएका छन् ।
प्रचण्डसँग विद्रोह गरेर अर्थात् संशोधनवाद र राष्ट्रिय आत्मसमर्पणवादविरुद्ध हामीले ‘क्रान्तिकारी र देशभक्त धारा निर्माण गर्दा नै सामाजिक दलाल फासीवादले निजी स्वार्थ र कुर्सी रक्षाको लागि भयानक जनघात र राष्ट्रघात गर्नेछ’ भनेका थियौं । आज त्यो प्रक्षेपण शानदार रुपले पुष्टि भएको छ । ओलीलाई देशभित्र र पार्टीभित्र सिआइए–रअ गठबन्धन बनाउन पनि अनुकूल बन्दै गएको छ । तर अमेरिकी विश्वव्यवस्थामा आएको स्खलनले त्यसको विरोधी धारा निकै सबल बन्दै गएको छ । दशैंताका जनता चाडबाड र कोभिड १९ को माहौलमा अल्झिएको बेला नेपालविरोधी गुप्तचर झुण्डलाई बालुवाटारमा स्वागत गरेर सम्पूर्ण देशभक्त जनता र इतिहासलाई लज्जित बनाइएको छ । ओलीको खुफिया कनेक्सन लेण्डुपपथकै नयाँ संस्करण हो । रुसी इतिहासकार तथा सांस्कृतिक चिन्तक भासिली क्लिउचेस्कीले भनेझैं हामीले ओली शासनविरुद्ध संघर्ष गर्न सकेनौं भने इतिहासले हामी सबैलाई दण्डित गर्नेछ । ओली समूहले गोयलको भ्रमण र भेट लुकाएको र छाराष्ट भएपछि बाध्य भएर स्वीकार गरेको सन्दर्भ अझ गम्भीर छ ।
(संखुवासभा, जिप्रका)

टिप्पणीहरू