मिल्दा लुट्ने, नमिल्दा फुट्ने « Jana Aastha News Online
Logo
१३ माघ २०७८, बिहीबार
|  Thu Jan 27 2022
Logo
१३ माघ २०७८, बिहीबार
|  Thu Jan 27 2022

मिल्दा लुट्ने, नमिल्दा फुट्ने

प्रकाशित मिति :  २९ मंसिर २०७७, सोमबार १३:३१


– संकेत कोइराला

सत्ययुगमा यही धराको अमर राज्यमा धुरन्धर विवेकी मन्त्री थिए । उनको प्रतापले देशदेशावरमा त्यस राज्यको सुवास फैलिएको थियो । मन्त्रीको निर्णय क्षमताको राज्यका हरेक सदस्य प्रशंसक थिए । कालान्तरमा उनको ख्याती सहकर्मीलाई रुचिकर भएन । उनीहरू भित्रभित्रै जलिरहेका थिए । मौका पाउनासाथ राजाको कान भर्न भ्याइहाल्थे । एक हैन, दुई हैन सबै मन्त्री मिलेर राजालाई झोसपोल लगाएपछि राजा पनि विश्वासमा परे । उनले राज्यसत्ता हडप्न षड्यन्त्र गरेको अभियोगमा लोकप्रिय मन्त्रीलाई फाँसीको सजायँ सुनाए ।

प्रसिद्धि पाएका मन्त्रीको शहादत हेर्न ठूलो भीड जम्मा भयो । मृत्युदण्डअघि अन्तिम इच्छा सोधियो । मन्त्रीले राजातर्फ इंगित गर्दै भने– ‘महाराजबाट सधैं सोधनी हुन्थ्यो– कतै कुनै रहस्य लुकाएको त छैनस् ? हो, मैले एउटा रहस्य लुकाएको छु । त्यो रहस्य मर्नुअघि भनेर मर्ने धोको छ ।’

बुद्धिमान मन्त्रीको घोषणाले राजाका कान चनाखो भए र तत्काल रहस्य खोल्न अनुमति दिए । अनुमति पाएलगत्तै मन्त्रीले कानमा खुसुक्क रहस्य खोले । कुरा सुन्नासाथ राजाको ब्रम्हाण्ड घुम्यो । ओंठतालु सुक्यो । उल्टै आफैंले मृत्युदण्ड दिएका मन्त्रीलाई सफाई दिएर तत्काल प्रधानमन्त्रीमा बढुवा गरे । उनीविरुद्ध दोषारोपण गर्ने सबैलाई हिरासतमा लिने फैसला सुनाए । आखिर के त्यस्तो चमत्कारपूर्ण वाणीले यस्तो परिवर्तन आयो ? सबै चकित थिए ।

बुद्धिमान मन्त्रीले राजाको कानमा फुसफुसाएको रहस्य यस्तो थियो – ‘महाराज, हजुरलाई थाहै छ– राज ज्योतिषको मृत्यु समयमा म उहाँकै समीपमा थिएँ । उहाँले अन्तिम सास लिनुअघि भन्नुभएको थियो– बुद्धिमान मन्त्री मरेको सात दिनमा महाराजको मृत्यु हुनेछ । महाराजको मृत्युपछि अमर राज्यको पतन आरम्भ हुनेछ ।’

सन्काहा शासकको अन्तिम कडी भनेकै मुख्याईं हो ।

साझेदारीमा चलेको सत्ता र शक्तिको ‘पोलिटिक्स’मा केपी ओलीले सम्झौता भंग गरी एकलौटी ‘ओलीटिक्स’ चलाउन थालेपछि प्रचण्डको जमिन काम्न थालेको छ । प्रचण्ड नेपाली सामाजिक बनौटभित्रको त्यो अपवाद दुखीआत्मा हो, जसलाई छोरीसंगै ज्वाईं पाल्नुपर्ने बाध्यता छ । एउटा सामान्य नागरिकले यो अप्राकृतिक दायित्व निर्वाह गर्नुपरेको अवस्थामा समाजबाट पाउने लाञ्छनाका अघिल्तिर उसका लागि तीनमिटर डोरीको पासो प्रियकर हुन्थ्यो होला । तर प्रचण्ड नामको जलप यो पीडासंगै देशकै बद्नाम ठेकेदारको घरमा बास बस्दा पनि चम्किएकै छ । मानिसका श्रापले नघोच्ने, नपोल्ने गैंडा छाप भएर नाफाको मोलमोलाईमा उत्रिएकै छ । कमिसनखोरका एजेण्डा केपी ओलीले भुत्ते बनाउन थालेलगत्तै शुरु भएको तरबार–घिउ व्यापारी भाँडभैलो अन्ततः बुद्धिमान मन्त्रीको शैलीमा टुंगिने पक्का छ । ओली यस्ता राजनीतिक प्राणी हुन्, जसभित्र क्षमाशील चरित्र शून्य प्रतिशत छ । उनीभित्र प्रतिशोधको विकल्प प्रतिशोधै मौलाएको छ । फेसबुक पेज, फोन ट्यापिङ, सुराकीमा मात्र ओली चरित्र सीमित छैन । देशका संवैधानिक निकाय कार्यकर्ताले भरिएको छ । सम्पत्ति शुद्धिकरण, जासुसी संस्था, राजश्व अनुसन्धान विभाग ओली मातहतमा छन् । यी निकाय देशमा विधिको शासनका लागि नभएर व्यक्तिको मनोरथ पूरा गर्ने थलो हुनेमा दुईमत छैन । सरकारी ठेक्का लिएर समयमै पूरा नगरेको अभियोगमा प्रचण्डका घरबेटीले एउटा सरकारी पत्र पाए भने त्यो छोरी कुटेर बुहारी तर्खाउने खेलको पहिलो खुड्किलो हुनेछ । बुहारीलाई जागिरबाट हटाएका दिन उनको राजनीतिक चीरहरण हुनेछ । प्रचण्डको जोरबाहु मध्येको महरा बाहु यस्तै षडयन्त्रको शिकार भएर सकिएका छन् । अर्को बाहु छिनाल्न ओली तरबारमा धार लगाएर बसेका छन् । सन्काहा शासकको अन्तिम कडी भनेकै मुख्याईं हो । प्रचण्ड नाम नेपालको कानुनका लागि त्यो घिउ पात्र हो, जसमा हिङदेखि हर्दीसम्मका दफा आकर्षित हुन्छ । सरकारी अनुदानको सेतो चामल नछोड्ने कर्णालीका जनता र सरकारी सेवाबाट विमुख हुन नचाहने सरकारी हाकिमको प्रवृत्ति गुणगान मात्र सुन्न चाहने ओलीका लागि टनिक हुन् । अब पनि ४, ५ दशकअघि युवावस्थामा रुसले चिल्लो गातामा छापेको कम्युनिष्ट रसरंगका किताव पढेर निभेको खरानीमा क्रान्तिको विगुल फुक्नु भनेको खरानीले आफ्नै दृष्टि टाल्नु हो । साँचो अर्थमा यहाँ राजनीतिको आवरणमा चलाइने गोरखधन्दाको उपचार कहिल्यै भएन । अन्नको रासमा उभिएर भोकको गीत गाउनेहरू नेता कहलिए ।

नेपालका कम्युनिष्ट मिलेको नभई फाइदाको ठूलो केक खान गरिएको पीठो संकलन मात्र हो ।

विश्वमा कम्युनिष्ट जुटेको समाचार विरलै सुन्न पाइन्छ । नेपालका कम्युनिष्ट मिलेको नभई फाइदाको ठूलो केक खान गरिएको पीठो संकलन मात्र हो । शिकार गरिएको चीजमा विलो लगाउँदा तुलोमा तलमाथि भएपछि रडाको छताछुल्ल भएको वर्तमान दृश्य हो । केपी ओलीले नजन्माएका बग्रेल्ती सन्तानको उत्तरदायित्व र प्रचण्डका जन्माइएका सन्तानको दीर्घकालीन व्यवस्थापनको अहं प्रश्न किलो भएर उभिएपछि समस्या चट्टान बनेको हो । त्यसो त देश समुन्नत नबनाउने मुद्दामा सबै दलका शीर्ष नेताको सहमति रहेकोमा कुनै शंका छैन । कसैले प्रेमको नाटक धेरै प्रदर्शन ग¥यो भने बुझे हुन्छ, एकांकी जीवन बाँचेको छ । अघोरै मन्दिर धायो भने पापले भतभती पोलेको छ । ओली र प्रचण्डको एकता प्रहसन मात्र थियो । बसाई, हिँडाइ, बोलाइका ढर्रा सहकार्य नभएर अभिनय थिए । दुईवटा अध्यक्षको परिकल्पना जसको अनुकूल पर्छ , भड्खालोमा हुत्याउने मनोविज्ञानबाटै शुरु भएको हो । सामन्त मासेर आफू सामन्त हुने अभ्यासका परिपालनाबाट यिनीहरूको राजनीतिक आधार निर्देशित छ । मत्स्य न्याय र कम्युनिष्ट चरित्रमा तालमेल खान्छ । इतिहासमा अति मिलेकै जोडीले एकअर्काविरुद्ध निर्मम कैंची चलाएका छन् । पुष्पकमललाई बाघ प्रचण्ड बनाउने बाबुरामभित्र एकाएक घृणाको त्यो ज्वारभाटा कसरी उत्पादन भयो ? प्रचण्डहरू जन्माउने मोहनविक्रमसिंहको हविगत के छ ? मोहनचन्द्र अधिकारीको उत्तराद्र्ध कसरी त्यो अनपेक्षित पात्रमा रुपान्तरण भयो ? केपीविरुद्ध सीपी हतियार किन उधियो ? मदन भण्डारीलाई नेता मान्ने ओली–माधव नेपाल भाले भिडन्तमा किन उत्रिए ? प्रचण्ड र नेपालभन्दा ओलीका लागि शेरबहादुर देउवा निकटपात्र किन भए ? गणतन्त्र शासन व्यवस्था गणतन्त्रवादीलाई नै किन बिझाउँदैछ ? यी प्रश्नको उत्तर मनचिन्तेहरूले आआफ्नो स्वार्थअनुकूल देलान् । तर इतिहासको संगीन उपस्थिति यिनै विन्दुमा छ ।
संसदमा माननीयको उपस्थिति संख्याले देशको राजनीतिक भविष्य निर्धारण गर्दैन । सरकार ढल्ने अघिल्लो दिनसम्म यो देशका सर्वशक्तिमान शासकलाई सरकारको आयुबारे प्रक्षेपण नहुने पुरानै रोग हो । नेपालका राजनीतिज्ञ बाघचाल गोटी हुन् । निर्धो बाख्राले बाघलाई निस्तेज बनाएका थुप्रै ठेली छन् । नेपाली भाषाका पोख्त भारतीय विदेश सचिव गोर्खा पुगेर पृथ्वीनारायण शाहको बखान गर्नु र नेपालको परराष्ट्र नीतिमा पृथ्वीनारायण शाहको उर्दीलाई गणतान्त्रिक सरकारले स्वीकार्नु कूटनीतिभित्रको अर्को कूटनीति व्यंग्य हो । सिंहदरबार अगाडि रहेको पृथ्वीनारायणको शालिकमाथि गणतन्त्रवादीले हानेको ढुंगाको चोट पुर्ने साहस कसैले गरिनसकेको अवस्थामा यस्तो कथानक बुनिएको पटकथा किन लेखियो ? कसैले कोरिदिएको गाथा पढेर हामी पृथ्वीनारायणको उपासक भयौं या रिमिक्स भर्सन हाम्रा लागि रुचिकर भयो ? हामी त्यो भूगोलमा उभिएका छौं, जे असम्भव सोचिन्छ आखिर हुन्छ त्यही । राजाको छोरा सडकछाप होलान् भन्ने कसैले परिकल्पना गरेको थियो ? प्रचण्डका छोरा असमयमै दैवका प्यारा होलान् भन्ने कसैले सोचेको थियो ? बीपीले आफ्नो उत्तराधिकारी बनाउने योजनाअनुसार जेठो छोरा प्रकाशलाई कतै जागिर नख्वाई राजनीतिशास्त्रको अब्बल विद्यार्थी बनाए । आखिर आँखा जाँच्ने कान्छो छोरा विरासत सम्हाल्न आए । बीपीका छोरा प्रकाश, गणेशमानका छोरा प्रकाश, मनमोहनपुत्र प्रकाश, प्रचण्डपुत्र प्रकाश हुँदै नेत्रविक्रम चन्दपुत्र प्रकाश को कति चम्किए, सबैका नजरमा सार्वजनिक छँदैछ ।

चुनावी भोटलाई समय नै खरिद गरेको भ्रममा राजनीतिक गाडा चलाइयो भने त्यसको दुर्दिन सन्निकट छ भनेर बुझे हुन्छ । जुँगामुठेहरू सबै रावण हुँदैनन् । धनुधारीहरू राम भएनन् । शिखण्डी खेल खेलाउने सबै कृष्ण भएनन् । सत्य बोल्ने जति न युधिष्ठिर हुन सके, नीतिवानहरू सवै विदुर नै कहाँ कहलिए र ? पात्र जन्मिन समयको भागभोग हुन्छ । मलामी हिँड्ने बाटोमै जन्तीको लस्कर लाग्छ । जीवनभित्र मृत्यु छ । संयोग, वियोग दाजुभाइ हुन् । प्रकृतिको अद्भूत कला हेर्नुस् त त्यो निष्ठुरी ढुंगाकै पहरोमा नरम पानीको झंकार सुहाउँछ । मानिस सुखानुभूतिका लागि चारैतर्फ दौडन्छ, तर सुखको मुहान प्रकृतिले सित्तै दिएको वस्तुमा छ । निद्रा सित्तै पाउने हो । माया प्रकृतिकै बरदान हो । हावा प्रकृतिकै उपहार हो । यी तीन विनाको संसार कस्तो होला ? अस्पतालको बेडमा हावा किनेर बाँच्नु परेको दिन मात्र फिरफिरे बायुको महत्व थाहा होला । अहंको घरबार आजै छोडेको जाति हो । त्यो चाहे राजनीति होस् या व्यवहारमा । संसारलाई फेरो हालेको विराट आकाश हेरेर घमण्ड छोडेका दिन नेकपाका मात्र हैन, संसारका सबै समस्या निदान हुन्छन् । समस्या समस्यामा नभएर समस्या हेर्ने नजरमा छ । यही बुझेका दिन मोक्ष प्राप्त छ ।


प्रतिक्रिया दिनुहोस !