नेकपाको राजनीति र कुहिराको काग

नेकपाको राजनीति र कुहिराको काग

अस्ति दिउँसो सचिवालय बैठकमा पूरै समय बसे पनि अन्तमा “मैले भनेको नमान्ने यस्तो बैठकको के काम’ भन्दै निस्कनुभएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा हिजोको बैठकमा पनि अनुपस्थित रहनुभयो ।

अस्तिको बैठकमा प्रधानमन्त्रीको पक्षमा खुलेर बोल्नेमा महासचिव विष्णु पौडेल मात्र एक्लो देखिनुभएको बताइन्छ । बरु सँधै प्रधानमन्त्रीको बचाव गर्दै आउनुभएका ईश्वर पोखरेलले भने बालुवाटार र खुमलटारको बीचमा बसेर धारणा राख्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको प्रस्तुतिलाई हेर्दा आफू अनुकूलको परिस्थिति नहुनेबित्तिक्कै केही पनि नमान्ने प्रवृत्ति देखिएको छ । तत्कालीन जमिन्दार र सामन्तीहरूलाई सफाया गरेर जन्मिएको कम्युनिष्ट नेताको प्रवृत्ति र व्यवहार अहिले तिनै जमिन्दार सामन्तीहरूको भन्दा कुनै अर्थमा फरक नदेखिएको नेताहरूको बुझाई छ ।

विगतमा आफू स्वयमले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनालको बिरुद्ध माओवादीलाई रक्षा र गृह मन्त्रालय जिम्मा दिने निर्णय फिर्ता नलिएमा ठीक हुँदैन भनेर लिखित चेतावनी दिने उहाँ नै हुनुहुन्थ्यो । त्यतिबेला उहाँलाई सहयोग गर्नेहरूमा विद्या भण्डारी र शंकर पोखरेल पनि हुनुहुन्थ्यो । त्यो बेलाको कुरोको चुरो भनेको ‘पार्टीको निर्णय वा भनाई मानिनस् भने कारबाही हुन्छ’ भन्ने नै थियो ।

अहिले केपी ओली प्रधानमन्त्री तथा नेकपा अध्यक्ष भएजस्तै त्यतिबेला पनि खनाल पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्थ्यो । ओलीको अग्रसरतामा खनाललाई पार्टीको बहुमतको निर्णय नमाने जे पनि हुने भनेर चेतावनी दिँदा त्यो बेला जायज ठानिएको थियो । अहिले त्यहि वाण आफूतिर तेर्सिंदा प्रधानमन्त्री क्रुद्ध र क्षुब्ध हुनुभएको जानकारहरुको टिप्पणी छ ।

अस्ति बिहान सबैभन्दा पहिलो चलखेलको रूपमा बैठक र बैठकस्थल सार्न खोजिएको थियो । राजावादीहरूको माइतीघरमा निकालिएको जुलुसलाई सुरक्षा थ्रेट देखाएर बैठकस्थल सार्न खोज्नुभित्रको चुरो अर्कै थियो । गृहमन्त्रालयमातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर विभाग) लाई अहिले प्रधानमन्त्री कार्यालय मातहत राखिएको छ ।

त्यहि विभागको सूचनाको आडमा गृह मन्त्रालयलाई साक्षी किनारामा राखेर बैठक धुम्बाराहीबाट एकाएक बालुवाटारमा सारिएको थियो । उता,सोहि दिन काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ लाई देखाउँदै जुलुस,नारा र आभसभामा रोक मात्र होइन आवश्यक कानुनबमोजिम कारबाहीको सूचनासमेत जारी गर्नुलाई नजरअन्दाज गर्न मिल्दैन । ती सबै विभागको गोप्य सूचना र सीडीयो कार्यालयको विज्ञप्तिहरू योजनाबद्ध ढंगले आएको रहस्य अब छिपेको छैन ।

नेकपाभित्रको पछिल्लो अवस्थालाई हेर्दा प्रधानमन्त्रीका विकल्पहरू थप साँघुरिँदै गएको देखिन्छ । उहाँले पटक पटक बैठकलाई छल्ने र छल्न खोजे पनि अर्का अध्यक्षको प्रस्तावलाई छलफलमा ल्याउन नदिने रणनीतिलाई समेत बैठकले बिफल तुल्याइदिएको छ । मंसिर १३ गतेको बैठकमा उहाँले अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्तावउपर छलफल हुँदैन, माफी नमागेसम्म बैठक बस्दैन र बहुमत तथा अल्पमत मान्दिँन भनेपनि तीन दिनपछिको बैठकमा ती सबै चेतावनीले फेल खाएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार दिनभर झण्डै ११ घण्टासम्म ढोलाहिटीस्थित छोरीको घरमा बसेर लेख्नुभएको दस्तावेजमा केही थपघट गरेर २१ गते स्थायी कमिटीको बैठकमा पेश गर्ने तयारी भएको बुझिएको छ ।

टिप्पणीहरू