मटरमा प्रतिबन्ध, राँगा तस्करी खुलेआम

मटरमा प्रतिबन्ध, राँगा तस्करी खुलेआम

कोभिड १९ ले गर्दा ८ महिनादेखि कृष्णनगर भन्सार बन्द रहे पनि खुला सिमानाकाको फाइदा उठाउँदै तस्करहरूले बैकल्पिक बाटो भएर राँगा तस्करी शुरू गरेका छन् ।

कपिलवस्तु जिल्लाको कृष्णनगर,महाराजगंज र विजयनगर संग सटेका भारतीय सीमाबाट अवैध रुपमा राँगा तस्करी हुँदै गरेको स्रोतले जनाएको छ ।

कृष्णनगरको कुकुरभुकवा, डुमाई,बगही,भिल्मी,बन्चौरालाई बैकल्पिक बाटो बनाई अवैधरुपले बहादुरगंजका बजारमा पुग्ने गरेको छ भने लक्ष्मीनगर,सिर्सिहवां,ठकुरापुर हुँदै बंसवरियामा एकत्रित भई पुन: बहादुरगंज पशु बजार पुर्याइएको छ ।त्यस्तै महराजगंजको सतभरा, कुशहवा, हर्दौना हुँदै तस्करहरूले रांगा भित्र्याउने गरेका छन् ।   

बहादुरगंजमा सोमबार पशु बजार लाग्ने गरेकाले आइतबार रातिसम्म वरपरका बगैँचा अथवा खुला चौरमा रांगाहरुलाई एकत्रित गरी सोमबार लाग्ने बजारबाट रमाना गराइन्छ ।

अचम्मको कुरा यो छ,राँगा नेपाल छिर्नेबित्तिकै पशु निरोगिता प्रमाणपत्र तस्करहरूको हातमा भएकोले तस्करी रोक्न गाह्रो बन्दै गएको प्रहरी स्रोतको भनाई छ । “रातभरि खटेपनि अवैध राँगा समाउन सकेका छैनौं,कहिलेकाहि थोरै मात्रामा मात्र पक्राऊ गर्न सकेका छौँ,सूचनाहरु धेरै प्राप्त भए तर तस्कर र रांगा भेट्टाउन सकिएन”-प्रहरी निरिक्षक सुकदेव पौडेलले बताए ।

केही तस्करले आफूसंगै पशु निरोगिता प्रमाण लिएरै हिंड्दै गरेको एकजना राँगा डोर्याउने क्यारियरले बताए । उनी भन्छन् -नेपाल सीमा कट्नेबित्तिकै पहेँलो कागज हातमा आउँछ र त्यसपछि भित्र लाइन सेटिङको आधारमा निश्चित रुट हुँदै दशदेखि पन्ध्र राँगाहरु एकसाथ डोर्याएर बजार पुग्ने गरेका छौं, धेरैजसो नबालकहरु नै यो काममा सक्रिय छन् ।

पहेंलो कार्ड पाएपछि पशु क्वारेन्टाइन पनि आवश्यक नरहेकाले धेरै समस्या नहुने भएपछि अहिले नाकाबन्द भएसंगै तस्करहरुले बैकल्पिक बाटो अपनाएका हुन् ।

सोमबारको बजारका दिन ५ देखि ८ गाडी राँगा लोड हुन्छन् भने त्यहि रफ्तारमा हप्ताभरि कृष्णनगर नगरपालिका -८ मा पर्ने बिसौ बगिचा, शिवराज नगरपालिका वडा ७ जवाभारी र वडा ८ महुलीलगायतका स्थानबाट समेत ट्रकमा लोड हुने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

सीमाक्षेत्रमा गस्ती गर्दै आएको सशस्त्र प्रहरी बल कृष्णनगर ,कर्मा र डालपुर बिओपी तथा नेपाल प्रहरीको बगही, भिल्मी, कुशाहवा, र्सिसेहवा, बहादुरगंजसमेत आँखा चिम्लेर बसेकाले तस्करहरुको हौसला बढदै गएको छ। देश लकडाउन हुँदा कपिलवस्तु प्रहरीले नेपालबाट आउने मटर (केराऊ)को दाल जिल्ला प्रवेश गर्न प्रतिबन्ध लगाए पनि भारतबाट आउने राँगा किन रोक्न नसकेको ? -स्थानीय व्यापारीहरूको गुनासो छ । राँगा तस्करीमा कपिलवस्तुका एसपी नवराज अधिकारीको मिलोमतो रहेको स्थानीय व्यापारीहरूले आरोप लगाएका छन् ।

टिप्पणीहरू