टुटे हुए एक परिन्देकी कहानी

‘उडेर जून छुन्छु भन्थें तर आज पिँजडाको चरी भा’छ जीवन । जुगौंजुग जिउँछु भन्थें तर आज आफ्नै काखमा मरिरा’छ जीवन…..।’ साँच्चै यो गीतले भनेजस्तै भएको छु । धुँवासरी आकाशमा उड्न खोज्दै थिएँ । जूनै छुन नसके नि बादलझैं डुलेर संसार चियाउने अनि देखे/भेटेका कुरा कलमको सहायताले कागजमा उतारेर फेरि दुनियाँलाई नै देखाउने प्रयत्नमा थिएँ । के गर्नु, सानैदेखि पौडिन जानिएन । खोला र नदीमा त पौडिन आएन, राम्ररी सिक्नै पाइएन । झन् जीवनरूपी सागरमा पौडिन के जान्नु ? अरूहरू जीवनको ताल अनि समुद्रका छालमा पनि मज्जाले पौडिएर रमाएको देख्छु । तर, आफूलाई त्यो मज्जा लुट्ने नसिबै भएन वा भनौं आउँदै आएन । न माया गर्न जानियो, न बिहे गरी घरजम गरेर बस्न सकियो । किशोरावस्थासम्म त मीठै थियो कल्पना । उमेर बढ्दै जाँदा प्रेम, यौन र बिहेप्रतिको दृष्टिकोण नै फेरियो । तर, मेरो बुझाइ खालि भ्रम पनि होइन । यो सत्य नै हो कि यस संसारमा प्रेम र यौनको कुनै सिमाना छैन । खुला छ यसको संसार । यसका रहरलाई वैवाहिक बन्धनले कदापि बाँध्न सक्दैन । त्यसैले एउटैसितको सुखमा समाहित हुने चाहना आफैंले टुक्र्याइयो अनि छरियो चारैतिर जहाँ–जहाँ मन जान्छ, उतै उडाइयो भावनाहरूलाई ।

सायद प्रकृतिले पनि पौडाउन भन्दा उडाउनै खोज्यो । सानोमा पानीमै डुबेर दाइको देहान्त भएको रहेछ । म एक/डेढ वर्षको छँदा पाँच वर्षजतिको दाइ उही उमेरका साथीहरूसित नहरमा खेल्न जाँदा कसैले धकेलिदिएछ । सुन्छु त्यही दिन नहरमा पानी छोडिएको थियो, मेरो दाइलाई बगाएर मारेछ, त्यो पानीले, त्यो नहरले । त्यसैले ममीले मलाई जहिल्यै खोला–नालादेखि टाढै राख्ने प्रयास गर्नुभयो । बरु बाटोघाटो–डाँडापाखा निकै डुलें । १३ १४ वर्षकै उमेरदेखि गाँजा खान सिकें । हावाले धुँवालाई उडाएजस्तै जताजता मन उडी जान्छ, उतैउतै रमाउन थालें । भावनाको झोंक्कासँगै उडान भर्नुको आनन्द अन्त पाइनँ ।
बाबु पत्रकार, चितवनबाट साप्ताहिक पत्रिका चलाउने । १८/२० वर्षको उमेर भएपछि पत्रिकाको वितरण र मार्केटिङ गरेर सघाउन थालें । अलिअलि गरेर विस्तारै समाचार पनि लेख्न सिकें । गाँजा खाए पनि समाचार कहिल्यै गलत लेखिनँ । गलतलाई गलतै देखाउँदै झन् बढी सत्य उजागर गर्न लागिपरें । स्थानीय पत्रिकामा काम गर्दागर्दै पछि काठमाडौंबाट प्रकाशित हुने नेपालकै नामी साप्ताहिकमा पनि सामाचार पठाउन थालें । समाचारले राम्रै स्थान पाउन थाल्यो । विषयवस्तु राम्रो भएर नै राष्ट्रिय मिडियामा स्थानीय समाचारले राम्रै स्थान पाउने हो । अझ मेरो लेखनशैलीलाई सम्पादकले बढी रुचाउनुभएजस्तो लाग्छ । त्यसैले उहाँले लेखहरू पनि लेख्न उत्प्रेरित गर्नुभयो । कोसिस गर्दै लेखेर पठाउन थालें । लेखले पनि राम्रै स्थान पाउने ग-यो ।

रिपोर्टिङ गरिसकेपछि समाचार अनि लेखहरू लेख्नुअघि प्रायः गाँजा तान्ने बानी थियो । त्यो कुरा कतैबाट काठमाडौंका सम्पादकले पनि पछि थाहा पाउनुभएछ, गाँजा छाड्नू भनेर निकै सम्झाउनुभयो तर सकिनँ । घरकालाई त पहिल्यैदेखि थाहा थियो । छुटाउन भनेर सुधार केन्द्र पनि पु¥याए । तर, गाँजामा गएको दिल मोडिनै चाहेन । गाँजा खाए पनि देशकै प्रख्यात राष्ट्रिय पत्रिकामा समाचार अनि लेखहरू लेखिरहेकै थिएँ । बाबुको पत्रिका पनि आफैंले चलाइरहेको थिएँ, स्थानीयस्तरमा राम्रै माया पाइरहेको थियो । तर, मेरो बाबुको स्वभाव रुखो अनि घमण्डी । त्यही कारण बेलाबेला खटपटचाहिँ भइरहन्थ्यो । म गँजडी भएर बाबुलाई त्यस्तो सोचेको कसैले भन्छ भने नजिकबाट चिनेजानेका गाँजा नखानेहरूले पनि स्वभावलाई राम्ररी जानेकै छन् । बढ्ता मैले के भन्नु ?

हो, बेलाबेला बाबुसित ठाकठुक पर्दा पत्रिका निकाल्न मन लाग्थेन । यस्तैमा मलाई केही समयअघि आफ्ना केही साथीभाइको कुरा सुनेर चितवन मोडेल हस्पिटल पु¥याउनुभयो गाँजा छुटाउने भनी । मौका पाउँदा अरूको अस्पतालबाट समेत बिरामी चोरेर लैजाने त्यहाँको दलाल केदार सुवेदीले मान्छे पाएपछि के छाड्थ्यो र ! म पटक–पटक भागेर हिँड्दा पनि पछ्याउन छाडेन । शुरुमा एकाबिहानै घरमै आएर काठमाडौंको पत्रिकालाई विज्ञापन दिनु छ भन्दै ढोका ढक्ढक्याउँदा शंका लागी झ्यालबाट भागेर बचेको थिएँ । त्यसपछि घर छाडेर केही पर जंगलनजिक एउटा घरमा भाडा तिरेर बस्न थालें । तैपनि त्यसले मेरो पिछा छाडेन । बाबु नहुँदा कहिलेकाहीँ खाना खान घर पनि जान्थें । ममीलाई मेरो खानामा हालेर दिनू भनी निद्राको दबाइ दिएछ सायद । एकदिन ममीले दिएको खाना खाएपछि आफू बस्ने थलोमा पुग्दा निद्राले लठ्याएर सुतें । त्यही मौकामा मलाई जबर्जस्ती समाती पछाडि हात बाँधेर गाडीमा हाली चितवन मोडल हस्पिटल पु¥याइयो ।

मलाई छाडिदिनुस् भन्दा रिह्याब पठाइदिने भन्दै डा. खगेन्द्र काफ्लेले गाँजा छुटाउने नाममा जबर्जस्ती साइकियाट्रिक दबाइ खुवाएर राखे २५ दिनसम्म । सुधार केन्द्रमा ६ महिना बस्नुपर्ने त्रासले चुपचाप औषधि खाँदै बसें हस्पिटलमा । तर त्यो औषधिको कारण अहिले मेरो हालत नराम्ररी बिग्रिएको छ । घरमा आएर गाँजा खाँदा एन्जाइटी र डिप्रेसनको शिकार बनायो । अहिले औषधिबिना निद्रै नलाग्ने भएको छ । सुधार केन्द्रमा नशा छुटाउन औषधि खुवाइँदैन । पूरै ६ महिना बसेर आई फेरि गाँजा खाँदा कहिल्यै केही भएन । साइकियाट्रिक औषधि खानुअघि सयपटक सोच्नु भनी औषधि र उपचारबारे जानकार डाक्टरहरू नै बताउँछन् तर मलाई आफूले केही सोच्नै नपाई जबर्जस्ती त्यस्तो औषधि खुवाइयो हस्पिटलमा । यस्तो हुन्छ भन्ने थाहा पाएको भए त बरु सुधार केन्द्र नै जान्छु भन्थें । तर, पाएको क्लाइन्टलाई उनीहरू कुनै पनि बहानामा राख्थे राख्थे । मान्छे ल्याएबापत केदारले र बिरामीको रूपमा हेरेबापत खगेन्द्रले खर्च जो पाउँथे हस्पिटलबाट । उनीहरूकै कारण अहिले अस्पताल, डाक्टर र औषधि भन्नेबित्तिकै डर र घीन पैदा हुने भएको छ ।

सुधार केन्द्रमा ६/६ महिना बसेर आई फेरि गाँजा खानेले हस्पिटलबाट गएपछि पनि खान्छ भन्ने कुरा निश्चितप्रायः हुँदाहुँदै मलाई किन त्यस्तो औषधि खुवाइयो ? घर छोडी म जहाँ गएर बसें, ती घरका मान्छेलाई सोध्दा पनि हुन्छ । गाँजा खाएपनि आफ्नो काम गथ्र्याे, अरूसँगको बोली–व्यवहार पनि सधैं राम्रै थियो, उनीहरूले यही सत्य भन्नेछन् । साथीभाइको नजरमा पनि राम्रै थिएँ । वर्षाैंदेखि मलाई पत्रकारको रूपमा चिन्ने, रिपोर्टिङको क्रममा भेट भइरहने विभिन्न संघसंस्था तथा कार्यालयका हाकिम–कर्मचारीले ममा मानसिक समस्या कहिल्यै देखेनन् । सधैं राम्रा–राम्रा सूचना र विज्ञापनहरू दिएर सघाइरहे भने चिन्नु न जान्नुका केदार सुवेदी र डा. खगेन्द्र काफ्लेले किन मलाई गलत ठाने ? नचाहिँदो औषधि चढाए ? खगेन्द्रले जबर्जस्ती खुवाएको औषधिले नै बरु अहिले मलाई पागलजस्तो बनाएको छ । दिल–दिमाग ठेगानमा छैन, मेरो प्राकृतिक निद्रा लुटिएको छ, औषधिले लठ्ठिएर निदाउँदा पनि रातभर अनेक सपना खेलेर गहिरो निद्रा पाउनै सकेको छैन ।

पछिल्लो समय साइकोसिसमै पुगेको हो कि, टिनिटस हो– कानमा किरा कराएको आवाज आएर राति निदाउन निकै छटपटी हुन्छ । औषधिकै असरले शरीरमा एलर्जी अनि कब्जियत भइरहेछ । मुड छिनछिनमा डिप्रेस्ड भइरहन्छ दिनमा । केही गर्नै मन लाग्दैन, जोश जाँगर मरेको छ । साँच्चै डेढ वर्ष बढी भयो, राम्ररी काम गर्नै सकेको छैन । अब म कसरी बाँचुँ ? मेरो यस्तो हालतको क्षतिपूर्ति कसले देला ? मलाई मेरो मर्जीबेगर अपहरण शैलीमा जबर्जस्ती समातेर लैजाने उनीहरूले यसको मूल्य चुकाउनु नपर्ला ? कसैले भनेकै भरमा मान्छेलाई क्लायन्ट देख्ने अनि बिरामी ठानेर आफूखुशी औषधि कोच्याउने कमिसनखोरहरूले के देलान् र केचाहिँ हुन सक्ला मेरो हालतको क्षतिपूर्ति ? पहिलेको जस्तो हिम्मत, खुशी, उत्साहपूर्ण आशा, मीठा सपना, जीवनको लक्ष्य, आत्मबल, जोशजाँगर अब म कहाँ पाऊँ ? अलिअलि उड्दै रमाउँदै पत्रकारितालाई निखार्दै थिएँ । तिनले पखेटा नै काटिदिएझैं भएको छु ।

‘टुटा टुटा एक परिन्दा ऐसे टुटा, के फिर जुड ना पाया । लुटा लुटा किस्ने उसको ऐसे लुटा, के फिर उड ना पाया । गिरता हुआ वो आसमाँ से आ कर गिरा जमिन पर, ख्वाबोंमे फिर भी बादल ही थे वो केहता रहा मगर । के अल्लाह के बन्दे हँस्दे अल्लाह के बन्दे । अल्लाह के बन्दे हँस्दे, जो भी हो कल फिर आएगा ….. ।’ कैलाश खेरले गाएको यो गीतमा आफूलाई राखेर अघि बढ्ने चेष्टा गर्दैछु । के गर्नु मरिहाल्न पनि सकेको छैन, बाँच्न भन्दा यहाँ मर्न गाह्रो । त्यसमाथि भोलि कुनै दिन ठीक हुँला कि ! फेरि आफ्नो दिन आउला कि ! भन्ने झिनो आशा साँचेर बाँचिरहेछु व्यथाहरूसित लड्दै ।– औषधिपीडित पत्रकार

टिप्पणीहरू