जे छैन त्यो किन लेख्ने ?

जे छैन त्यो किन लेख्ने ?

अब उप्रान्त ‘नेपाल’ देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ लेख्न नपर्ने भएछ । नेपालको पूरा नाम लेख्दा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने कुरा संविधानमा उल्लेख छ । तर संविधानमा उल्लेख भए पनि व्यवहारमा भने अब त्यसरी लेख्न नपर्ने भनेर नेपाल सरकारले निर्णय गरेको छ ।

धेरैलाई त यो निर्णय मन परेको पनि छैन होला । किनभने यो ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने कुरा जो छ, त्यो धेरै संघर्ष गरेर प्राप्त भएको हो । संविधानमा त्यति लेखाउन धेरै नै पापड बेल्नुपरेको थियो । अहिले व्यवहारबाट निकाल्ने बेलाचाहिँ एउटै निर्णय काफी भइदियो ।

तर त्यो निकालेर सरकारले कुनै गल्ती नै गरेको भने होइन कि जस्तो लाग्छ । किनभने सरकारले हालै लेख्न नपर्ने गरेको यो ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ जो छ त्यो अहिले देशमा विद्यमान छैन । संविधानमा ‘संघीय’ लेखिए पनि देशमा केन्द्रीय शासन नै कायम छ । संविधानमा ‘लोकतान्त्रिक’ लेखिए पनि देशमा ‘जोकतान्त्रिक’ शासन चलिरहेको छ । संविधानमा ‘गणतन्त्र’ लेखिए पनि देशमा ‘राजतन्त्र’ कायमै छ । संविधानमा लेखिएको भए पनि व्यवहारमा न संघीयता छ, न लोकतन्त्र छ, न गणतन्त्र नै छ । जे कुरा छँदै छैन त्यो किन छ भनेर उल्लेख गर्ने ? अतः राखिराख्नु भन्दा निकाल्नु नै राम्रो भयो । सरकारले त्यही गरेको हो । के आपत्ति भयो र यसमा ?

टिप्पणीहरू