हाम्रा नेताहरु चुल्ठेमुन्द्रे जन्माउन खोज्दैछन्

हाम्रा नेताहरु चुल्ठेमुन्द्रे जन्माउन खोज्दैछन्

सिन्धुपाल्चोकमा जन्मिएका रामप्रसाद सापकोटाको साहित्यिक उपनाम हो दीपशिखा । जनमुक्ति सेनाको बटालियन कमाण्डर हुँदै जनयुद्धताका काठमाडौंको एसटीएफमा काम गरेका उनी कुनै समय भक्तपुर जिल्ला अध्यक्ष, नेवाः राज्य संयोजक, महासचिव थिए । ०७४ भदौ ४ गते तत्कालीन माओवादी केन्द्रको युवा संगठन (योङ कम्युनिष्ट लिग) वाईसीएलको अध्यक्षमा चुनिएका उनी पार्टी एकीकरणपछि राष्ट्रिय युवा संघको संयोजक छन् ।

० भारतीय जासुस प्रमुख नेपाल आउनु र उनी फर्किएलगत्तै नेकपाभित्र फुटको आगो सल्कनु यो संयोग मात्र हो वा अरू केही गडबडी छ ?

– हामी बाहिर बस्नेहरूले के गडबडी छ किटेर भन्न सक्दैनौं । तर, यसले आशंकालाई भरणपोषण गरेको छ । सामान्यता प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री वा अन्य देशको कूटनीतिक नियोगका पदाधिकारीसँग एक्लै नबस्ने वा नभेट्ने हाम्रो प्रचलन हो । हामीले किन त्यसो गरेनौं ? किन लुकाएर भेट्यौं ? यी प्रश्नले आशंकालाई अझै बल पुर्‍याउँछ ।

० अहिलेको विवादको चुरो के हो ?

– नेकपाभित्रको विवाद पार्टीलाई मान्ने कि नमान्ने भन्ने हो । एउटा पंक्ति छ, पार्टी केही होइन, व्यक्ति नै सर्वेसर्वा हो भन्ठान्ने, अर्काे पंक्ति छ पार्टी नै सबैथोक हो, व्यक्ति केही होइन भन्ने । पछिल्लो विचार राख्नेको संख्या दुई तिहाइभन्दा ठूलो छ । तर शक्ति र सत्तामा छैन । अहिलेको लडाइँ यही दुईवटा प्रवृत्तिबीचको हो । कतिपयले भन्छन्– पदीय भागबण्डाका आधारमा नेकपाभित्र संघर्ष छ । यो पूरै गलत कुरा हो । जसले नीति–नियम र विधि विधानको कुरा गरिरहेको छ उसले केही मागेको छैन । प्रधानमन्त्री, मन्त्री छोड भनेर कसैलाई भनेको छैन । विचार राजनीतिको यो बहसको विषयलाई केही मान्छेले पदीय भागबण्डाको रूपमा डाइभर्ट गर्न खोजिरहेका छन् ।

त्यो फुटेको हुँदैन, भागेको, छाडेको हुन्छ । विधि मान्ने ९९ प्रतिशत छन् । सत्तामा १ प्रतिशत मात्र छन् ।

० पार्टी फुटकै संघारमा पुगेको हो ? अबको भविष्य के देख्नुहुन्छ ?

– विधि, पद्धति, विचार, राजनीतिअन्तर्गत चल्दा कसैलाई सह्य भएन भने पार्टी छाडेर जान सक्छ तर पार्टी फुट्दैन । शक्तिमा हुनेहरूले त्यसको दुरूपयोग गरेर फुटेको नाटक गर्न सक्छन् । त्यो फुटेको हुँदैन, भागेको, छाडेको हुन्छ । त्यसरी भाग्ने खतरा छ तर फुट्दैन । कारण पार्टीमा विधि, विधान मान्ने ९९ प्रतिशत छन् । सत्तामा १ प्रतिशत मात्र छन् । तिनै १ प्रतिशतवालाले पार्टी, विधि विधान केही होइन । बाहुबली संगठन हो भन्दछन् ।

० पार्टी मिलेको लामो समय व्यतित भइसक्दासमेत एकीकरणको काम अलपत्र छ । के कारण हो ?

– एकतालाई सत्ता प्राप्तिको भर्‍याङ मात्र बनाइएको रहेछ । सत्ता नै सबथोक होइन । यो आज छ भोलि जान सक्छ । सबथोक भनेको पार्टी हो । सत्ताबाहेक पार्टी निर्माण, पार्टी जीवन, नेता, कार्यकर्ताबारे किन सोचेनौं ?

० पार्टी एकीकरणका व्यावहारिक पक्ष र अप्ठ्याराहरू के के देख्नुहुन्छ ?

– एकीकरणले लिएको उद्देश्य पवित्र थियो । हामीकहाँ जसरी पार्टी एकीकरण भयो यो दुनियाँमा नभएको मोडल थियो । हामी अहिले सफल वा असफल भन्ने ठाउँमा पुगिसकेका छैनौं । नेतृत्व कस्तो मान्छेले गर्छ भन्ने कुराले हरेक चिज निर्धारण गर्दाेरहेछ । उदेश्य पवित्र, सकरात्मक तर शक्ति प्राप्त भएपछि अन्तरनिहित चरित्र के थियो भन्नेमा निर्भर गर्दाेरहेछ ।

० पहिला युवासंघ, वाइसियललगायत संगठन थिए । यिनले पार्टी गलत ट्र्याकमा हिँडे सडकबाटै चेतावनी दिन्थें । अहिलेका संगठन बेकारजस्ता भए । किन यस्तो ?

– नेकपाको कुनै पनि कमिटीले पूर्णता पाएको अवस्था छैन । त्यसकारण तिनले हस्तक्षेप गर्ने हैसियत राख्दैनन् । जस्तोः वाइसियल र युवा संघ मिलेर राष्ट्रिय युवा संघ बन्यो । केन्द्रीय कमिटी र केही जिल्लाका संरचनाबाहेक सबै ठाउँमा । कमिटी नै डबल हुँदा साविक वाइसियल उसकै ठाउँमा र साविकको युवा संघ उसकै ठाउँमा उभिनुपर्ने अवस्था छ । मर्ज भइसकेको, सहकार्य भइसकेको वा अन्तरघुलित भइसकेको संगठन छैन । एकीकृत नेतृत्व पनि छैन । नेकपामा संगठनात्मक प्रणालीको कुरा गर्दा अहिले सचिवालयतिर शक्ति केन्द्रिकृत छ । यस्तोमा नेकपालाई सुदृढ गर्न केन्द्रीय कमिटीले पनि सक्दैन । यो बीचको अभ्यास हेरौं न केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक बोलाउनकै लागिसमेत सहमति गर्नुपर्ने ।

बंगारा खुस्किने गरी दण्डित गर्छन् । त्यसबाहेक अर्काे सजायँ छैन ।

० स्थिति यसैगरी बिग्रियो भने के हुन्छ ?

– अर्काे साल आउने चुनावमा जनताले बंगारा खुस्किने गरी दण्डित गर्छन् । त्यसबाहेक अर्काे सजायँ छैन ।

० चीनलगायत मुलुकमा पनि युथ लिग छ । उनीहरूले राम्रोसँग काम गरिरहेका छन् । नेपालको युथ लिग नाम मात्रको भो । किन काम गर्न सकेन ?

– वाइसियल र युवासंघ मिलाउँदा नाम र झण्डाको विषयमा बहस चल्यो । मेरो मान्यता थियो– पार्टीको नामबाट रातो र कम्युनिष्ट शब्द छुट्ट्याउनु हुँदैन । जिम्मेवार नेताले भन्नुभयो– तपार्इंलाई सिद्धिन मन भए कम्युनिष्ट नाम राख्नुहोस् । रातो खोज्नुहोस् । सिद्धिन मन छैन भने प्रजातन्त्रिक नाम रोज्नुहोस्, रातो होइन नीलो रंग रोज्नुहोस् । अरू देशका कम्युनिष्ट पार्टीहरूले युथ लिगबारे जसरी सोचेका छन् हाम्रा नेताहरुचाहिँ कम्युनिष्ट कार्यकर्ता जन्माउने संगठनको रूपमा होइन चुल्ठेमुन्द्रे जन्माउने र चुनाव जित्ने संगठनको रूपमा विकास गर्न चाहन्छन् । केही नेता यसलाई गुण्डा जन्माउने थलो बनाउन चाहन्छन् । केही नेताले चुनावको बेला केटाहरू कति आउँछन्, सरकार ढलाउने–बनाउने समय सडकमा नारा–जुलुस कसरी लाग्छ भन्नेतिरबाट मात्र सोचेका छन् । जब यसरी सोच्दैनन् तब के लगाव हुन्छ र यसप्रति ?

सिद्धिन मन भए रातो खोज्नुहोस् ।

० हिजोको लडाकु दस्ताको अवस्था आज दयनीय देखिन्छ । उनीहरूकै बुइ चढेर नेताहरूले सत्ता र शक्ति भोग गरे तर उनीहरूको जीवनस्तर उठाउने विषयमा किन चिन्तन गरेनन् वा सोच्न सकेनन् ?

– हामीले गणतन्त्र ल्याउन लड्यौं, भिड्यौं, रगतको खोलो बगायौं । गणतन्त्र प्राप्त भयो, संघीयता आयो । यसरी लड्नेहरूले के पाए ? पहिलो पटक माओवादी सरकारमा पुग्यो, ९ महिना सिक्दैमा सकियो । माओवादी सत्तासीन त भयो तर निर्णायक ठाउँमा पुगेन । अरू पार्टीले पनि राजनीतिक ढंगले सोचिदिएनन् । त्यसलाई संबोधन गर्न नमान्दाको परिणाम अहिले विप्लवको नयाँ शक्ति जन्मिरहेको छ । यदि, त्यसलाई हिजो सम्बोधन गरिदिएको भए आज विप्लव शक्तिशाली हुँदैनथे । यसमा साविक माओवादी पनि दोषी छ तर तत्कालीन एमाले र नेपाली कांग्रेस मुख्य दोषी हुन् । उनीहरूको सेटलमेन्ट गर्नु सबैको दायित्व र जिम्मेवारी थियो । तर, के लाग्यो भने यी प्रचण्डका कार्यकर्ता हुन्, उनीहरूको अझै बिजोग बनाइदिनुपर्छ ।

० नयाँ विद्यार्थी र युवालाई राजनीतिमा तान्ने के कार्यक्रम हुन सक्छ ?

– एउटा ठूलो अभियान शुरु गर्नुपथ्र्याे तर नेकपाभित्रकै अन्तरविरोधका कारण शुरु गर्न सक्ने अवस्थामा छैनौं । प्लस टु पढ्दै गरेको युवाले राजनीतिबारे के सोच्छ ? कलेज क्याम्पसमा पुगेर यो विषयमा बहस गर्न सकिन्थ्यो । बाहुबली पाखुरा लिएर मजदुरी गरिरहेका युवा मजदुरहरूसँग छलफल गर्न सकिन्थ्यो । हामीले राजनीतिक परिवर्तन गरेर सत्ता त बदल्यौं तर प्रणालीहरू बदल्यौँ कि बदलेनौं ? आज पनि कुनै नयाँ विधेयकको ड्राफ्ट कम्प्युटर चलाउन नजान्ने, विश्व प्रविधिसँग साक्षात्कार नगरेको खरिदारले गर्छ । एउटा मान्छे दुईपटक प्रधानमन्त्री, मन्त्री भइसकेपछि फेरि किन हुने ? न हामीलाई लाज, शरम लाग्छ न त प्रश्न उठाउन पाइन्छ । प्रणालीमाथि बहस नगर्ने हो भने अहिलेका युवा राजनीतिप्रति आकर्षित हुँदैनन् । समृद्धि र विकासमा हाम्रो मोडल कस्तो हुने ? सम्भावना कृषि, जडीबुटी वा के हो ? हामी त्यता जानुपर्ने हो तर जान पाइरहेका छैनौं । यसमा युवाहरूसँग माफी माग्दछु ।

० नेपालको कम्युनिष्ट धार किन भुत्ते भयो ?

– कम्युनिष्ट कांग्रेस, राप्रपा, नयाँ शक्ति जे भने पनि थुप्रै पार्टी देख्यौं । तर पार्टी सञ्चालन गर्नेहरू त यही समाजका पात्र न हुन् ! कम्युनिष्ट भए पनि कांग्रेस भए पनि । घरतिर फर्केर हेर्दा काकाबाउको छोरा माओवादी, ठूलोबाउको छोरा एमाले, कान्छोबाउको छोरा कांग्रेस छ । जीवनको महत्वपूर्ण शिक्षालय घर हो । बाआमा वा अभिभावक, समाजले के सिकाउँछन् त्यही सिक्ने हो । कसैले धर्म, संस्कार मान्छ कसैले मान्दैन । कसैले सरल जीवनशैली मान्छ । कसैले हाइफाइ । कोही कसैको प्रतिनिधित्व गर्छ कोही–कसैको । तर, चरित्र यही समाजको हो । तिनै पात्र र प्रवृत्ति हाबी हुँदा नेपालको कम्युनिष्ट आन्दोलन समस्यामा पर्छ । अहिले नेकपासँग के छैन ? दुई तिहाइ मत, राष्ट्रिय सभामा बहुमत, सात प्रदेशमध्ये ६ वटा नेकपाकै हातमा, स्थानीय तहमा झण्डै ५ सय । तर, कोरोनाको उपचारमा कति खर्च लाग्छ ? कोरोनाको उपचारमा अप्रेशन गर्नुपर्छ र ? सिटामोल हामीकहाँको सबैभन्दा सस्तो औषधि । सिटामोल खुवाएर अस्पतालको बेडमा सुताउन सक्दिनँ भनेर सरकारले किन हात उठाएको ? सत्तामा भएकाहरूमा जनताको हितमा नसोच्ने सामन्तवादी चिन्तन कहाँबाट आयो ?

टिप्पणीहरू