मृत्युको पूर्वाभाष हुन्छ मान्छेलाई ?

मृत्युको पूर्वाभाष हुन्छ मान्छेलाई ?

एक वर्षअघि पारिवारिक र व्यावसायिक जिम्मेवारी हस्तान्तरण गरेसँगै कोभिडका कारण अस्पताल भर्ना हुनुभएका पत्रकार विष्णु चौलागाईंंलाई के मृत्युको पूर्वाभाष भएको थियो ? उहाँले ७ दिनअघि मात्रै छोरा समीरलाई पोहोर बितेका बुबाले लिन आउनुभएकाले सँगै जानुपर्ने भयो भन्नुभएछ । शुक्रबार कात्तिक १४ गते बिहान १ बजे आईसियुबाटै छोरा समीरलाई सबै घर व्यवहार राम्रोसँग सम्हाल्न अनुरोध पनि गर्नुभएको छ । आफ्नै गाडी चढ्ने सपना दुई महिनादेखि विष्णु दाइले पूरा गर्नुभएको थियो । तर, निरन्तरको एसी चलाई उहाँका लागि काल बनेर निम्तियो ।

पत्रकार विष्णु चौलागाइँ

थेम्स मिडिया प्रालिका तर्फबाट नेपालका राष्ट्रिय दैनिकहरूसँग सम्झौता र सम्बन्ध विस्तार मृत्युको पूर्वाभाषको अर्काे अध्याय थियो । विष्णु दाइले पत्रकारिता क्षेत्रका अग्रज तथा दिग्गज व्यक्तिहरूको परिचयसहित भेटघाटलाई पनि अन्तिम अवस्थामा पुर्‍याउनुभएको थियो । उहाँलाई कसरी त्यस्तो भयो ? मृत्युको पूर्वाभाष सम्भव थियो वा छ ? समीरकै शब्दमा विष्णु चौलागार्इंको निधन छिट्टै हुँदै थियो कारण हो कोरोनाले गर्दा फोक्सो कहिल्यै उपचार गर्न नसकिने गरी ड्यामेज हुनु । तैपनि, कोरोनाको पछिल्लो परिणाम नेगेटिभ भएकाले आफन्त र साथीभाइहरूले लाशमाथि अँगालो हाल्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न सम्भव भयो ।

संयोग पनि कस्तो ! जुन दिन विष्णु दाइको असामयिक निधन भयो त्यही दिन सामाजिक सञ्जालमा हामी साथी भएको १३ वर्ष पुग्दैथियो । आर्यघाटमा अन्त्येष्टि सकेर मोबाइल हेर्दा फेसबुकले विष्णु दाइसँग सम्बन्ध गाँसेको देखायो । मेरो पत्रकारिताको शुरुवातिदेखि नै विष्णु दाइसँग सम्बन्ध थियो । म सानै थिएँ । ०५७ साल कात्तिक महिना । २० वर्ष पहिले पत्रकारिता शुरु गरेको । दुई वर्षअघि ०७५ कात्तिक १२ गते पत्रकार भाइ जीवन पराजुली दुर्घटनामा परेर बितेको दिन । ०७७ कात्तिक १४ गते विष्णु दाइ हामीमाझ रहनु भएन । म चेष्टा साप्ताहिकको बजार प्रतिनिधिका रूपमा काम गर्दा दाइले धेरै सल्लाह, सहयोग र हौसला दिनुहुन्थ्यो ।

उहाँ प्रेस युनियनमा आवद्ध हुनुहुन्थ्यो । पछि नेपाली कांग्रेसको जिल्ला प्रचार विभाग प्रमुख बन्नुभयो । तर पनि फरक पार्टीको व्यवहार गर्नुभएन । कोशिपारि उहाँको पहिलो कार्यक्षेत्र हो । त्यसपछि मात्रै पार्टी र पत्रकारिता । उहाँ पत्रकारिताबाहेक अरु पेशामा पनि संलग्न हुनुहुन्थ्यो । तर पत्रकारिताको माया र स्नेहले अरु पेशा र व्यवसायिकतालाई छाँयामा परेको थियो । संविधानसभा, पछिल्ला तीन तहका सरकारको निर्वाचनताका पार्टीले गरेको व्यवहारले मन अमिलो भएको थियो । पत्रकार महासंघको २०७४ जेठ ६ गते सम्पन्न निर्वाचनमा मलाई खुलेर समर्थन र सहयोग पुर्‍याउनु भयो । उहाँको मन जितेकैले होला उहाँले महासंघका हरेक गतिविधिमा आफ्नो सहयोग र उपस्थिति देखाउनुभयो । सक्रियता जनाउनुभयो । जुन पार्टीमा लामो योगदान पु¥याउनुभयो त्यहींबाट सम्मानजनक व्यवहार हुन नसकेपछि पार्टी परित्याग गर्नु भयो । प्रधानमन्त्री नहुँदै केपी ओलीसँग भेट्ने र नेकपामा प्रवेश गर्ने कुरा सुनाउनुभयो । उहाँ आफैँ सक्रियतासाथ नेकपामा प्रवेश गर्नु भयो । पछिल्ला निर्वाचनहरूमा सक्रियता पनि बढ्यो । उहाँ नेकपाको प्रचार विभागमा हुनुहुन्थ्यो । पार्टी एकीकरणको काम नसकिएकाले थप जिम्मेवारी तोकिएको थिएन ।

रातभर छटपटी थियो । केही दिनदेखि सपनाहरू बिग्रिन थालेका थिए । जिल्लाबाट प्रकाशन आरम्भ भएको काभ्रे पोष्ट साप्ताहिकका प्रधान सम्पादक विष्णु चौलागाइँ पिपिई, मास्क, स्यानिटाइजरलगायत अन्य सुरक्षा सामग्रीबारे चासो मात्रै राख्नु भएन सहयोगको लागि प्रस्ताव गर्नुभयो ।

२०७७ कात्तिक १४ । बिहान ५.०७ बजे अखिल नेता दीपक गौतमको फोन बज्यो– विष्णु मामा बित्नुभयो । ४ बजे उठेर मर्निङवाक जाने नियमित बानी त्यो दिन हुन सकेन । तत्काल केही साथीलाई फोन गरें । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झालाई उहाँले कोरोनासँग जुध्ने औषधि र त्यसबारे जानकारी गराउनु भएको रहेछ । डा. झाले पनि गोपनीयता राखिदिनु भएको थियो । तर उहाँको मनले मानेन । असोज २८ गते मलाई फोन गर्नुभयो– म संक्रमित भएँ । मलाई पोजेटिभ देखियो । छातिमा केही समस्या जस्तो छ– घरमै आराम गर्छु ।

म निरन्तर सम्पर्कमै थिएँ । सोमबार बिहानसम्मको तथ्यांकमा ८ जना सञ्चारकर्मी संक्रमित भइसक्नुभएको छ । केही साथी संक्रमण जितेर कार्य क्षेत्रमा क्रियाशील भइसक्नुभएको छ । असोज २९ गते विष्णु दाइलाई घरमा केही असहज भयो । छोरा समीरले नजिकै ओम अस्पतालमा भर्ना गरिएको जानकारी दिए । विष्णु दाइलाई छातीमा समस्या देखियो । निमोनियाको लक्षण मिलेकाले उपचार शुरु गर्ने गरी भर्ना गरिएको रहेछ । कात्तिक २ गते दिउँसो दाइले एसएमएसमार्फत फोनमा कुराकानी गरौं भन्ने सन्देश पठाउनुभयो । झण्डै २७ मिनेट कुराकानी भयो । त्यही दिन मेरो जन्मदिन थियो । उहाँले शुभकामनासमेत भन्न भ्याउनु भयो ।

कोभिडकै बीचमा विष्णु दाइले जिल्लाका झण्डै ६ सय स्वास्थ्यकर्मीहरूको कोरोना बिमा गराउन दाता खोजिदिनुभयो । पत्रकारहरूको बिमाका लागि ३० हजार रकम उहाँमार्फत नै उपलब्ध भयो । महासंघको विकास र उन्नतिका लागि उहाँले साधारणसभाको अवसरमा अन्य दातासमेत खोजिदिनुभयो । महासंघले बनाउन लागेको पत्रकार स्तम्भका लागि समेत उहाँले दाताको खोजी गरिरहनुभएको थियो । कोभिडको महामारीले उहाँले सोचेको र आँटेका केही कुरा पूरा हुन सकेका थिएनन् र छैनन् । जुन काम हामी पूरा गर्नेछौँ ।

विष्णु चौलागाईंले बुबा दिलनाथको स्मृतिमा कोशिपारि पत्रकारिता पुरस्कार कोष स्थापना गर्नुभएको थियो भने डाँडापारिमा गोपालकृष्ण सापकोटाले स्व. उर्मिला सापकोटाको स्मृतिमा कोष स्थापना गर्नुभएको थियो । कोशिपारि पत्रकारिता पुरस्कारबाट जिल्लाका ६ जना सञ्चारकर्मी पुरस्कृत भइसक्नुभएको छ । पछिल्लो पुरस्कार महासंघको साधारणसभामा म आफँैले प्राप्त गरेको थिएँ । केही दिनअघि मात्रै महासंघको आउँदो साधारणसभामा दुई वर्षको पुरस्कार उपलब्ध गराउने विषयमा छलफल भएको थियो । म आफैँले त्यतिबेलासम्म के हुन्छ हुन्छ आजै निर्णय नगरौं भनेको थिएँ । त्यो उहाँकै शान्तिको लागि भए पनि आउँदो साधारणसभामा, परिवारको सल्लाहमा वितरण गर्न सकियो भने सहजता हुन सक्छ ।

महासंघले उहाँको स्मृतिमा उहाँलाई सच्चा श्रद्धाञ्जली व्यक्त गर्न १३ दिनसम्म आफ्नै कार्यालयमा शोकपुस्तिका राखेको छ । १३ औं दिनको दिन अर्थात् कात्तिक २६ गते बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । पत्रकारिता क्षेत्रमा उहाँको निरन्तर क्रियाशीलताको स्मरण गर्दै उहाँप्रति उच्च सम्मान व्यक्त गर्दछु । परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

(लेखक नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष हुनुहुन्छ ।)

टिप्पणीहरू