गृहमन्त्री सिँहदरवारमा, गृह मन्त्रालय बालुवाटारमा ?

गृहमन्त्री सिँहदरवारमा, गृह मन्त्रालय बालुवाटारमा ?

नेकपाको शीर्ष तहको कलहमा पर्सा हत्याकाण्डसमेत थपिएको छ । मारिएका स्थानीय विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसिया पूर्वएमाओवादी निकट हुन् । अहिले पूर्व एमाओवादी र पूर्व एमालेकै माधव नेपाल खेमा जति सबै उक्त हत्याको न्यायिक निरूपणको लागि प्रहरीले परिवारले दिएकै जाहेरी दर्ता गर्नुपर्नेमा अडिग छन् ।

तर,पूर्व एमालेनिकटमध्ये पनि प्रधानमन्त्री केपी ओलीनिकट अधिकांश केन्द्रीय,प्रादेशिक र जिल्लास्तरीय नेता तथा कार्यकर्ता खास खास ब्यक्तिको नाम सम्लग्न जाहेरी दर्ता गर्नै नहुने अडानमा रहेको कारण छ दिनदेखि लाश उठ्न सकेको छैन । पूर्व माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री हुनुभएता पनि,गृह मन्त्रालयको पूर्ण कमाण्ड बालुवाटारको हातमा छ । जाहेरी दर्ता गर्दा पूर्व एमालेमा गुटका हस्तीबिरुद्ध कदम चालिएको अर्थ लाग्ने भएकाले मुद्दा दर्ता हुन नसकेको पूर्व एमाओवादीहरूले आरोप लगाएका छन् ।

गत बिहीबार गाउँ कमिटीको शपथ ग्रहण कार्यक्रम हुँदै गर्दा दुई पक्षबीच भएको भिडन्त सांघातिक आक्रमणमा परिणत भएको थियो । उपचारार्थ अस्पताल लगेपनि चौरसियाको त्यहिँ निधन भयो । दुबैथरिले उनको हत्या भएको विषयलाई भने स्वीकारेका छन् । सामाजिक सञ्जालहरूमा पोष्ट गरिएका कतिपय भिडियोमा समेत स्पष्टसँग प्रहार गरेर मारिएको देखिन्छ ।

जाहेरी दर्ता नगर्न सरकारले दबाब दिएको सन्दर्भ चुलिँदा उता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जोसुकै दोषी भएपनि कानुनबमोजिम कारबाहीको माग गर्नुभएको छ । पर्साको पछिल्लो घटनाले उता मातृका यादवहरूलाई पनि क्षुब्ध बनाएको छ । यादवलगायत तीन दर्जन केन्द्रीय समिति सदस्यले जारी गरेको विज्ञप्तिमा चौरसियाको मृत्युलाई ‘सुनियोजित आक्रमणको घटना’ भनिएको छ ।

यता,गृहमन्त्री पनि पूर्व एमाओवादीकै नेता हो । तर,यतिखेर उहाँ प्रधानमन्त्रीका थोरै विश्वासपात्रमध्ये एक बनेकाले उक्त हत्याको जाहेरी दर्तामा सुनियोजित अवरोध पुर्याइएको पर्सा र तराईका अधिकांश पूर्व एमाओवादी नेताहरूको बुझाई छ । प्रशासनमा बालुवाटारको नियन्त्रण र नेकपाभित्र उत्पन्न कलहमा पर्साको पछिल्लो घटनाले मलजल पुर्याउनसक्ने बताइन्छ ।
यस्तो तानातान र दवावको राजनीति बिगतमा काङ्रेस र कम्युनिस्ट मर्दा-मारिँदा सिर्जना हुने गर्थ्यो भने अहिले त आफैभित्र मारामारको अवस्था छ । यसवीच सरकारी वकिल कार्यालयमार्फत साँसद राजकुमार गुप्तालाई समेत बिपक्षी बनाएर मुध्दा भर्खरै दर्ता गरिएको छ ।

टिप्पणीहरू