यी दलको आयु अब लामो छैन

यी दलको आयु अब लामो छैन

उनै सागर, जो ०६३ सालमा खुला भएको माओवादीले गठन गरेको वाइसिएलको उपत्यका इञ्चार्जका रुपमा निक्कै चर्चामा थिए । गुल्मीका बासिन्दा चन्द्रबहादुर थापा ०५६ मा एमालेबाट विभाजित मालेको विद्यार्थी नेता बनेका थिए । तर, ०५६ को चुनावलगत्तै माओवादीमा लागे । उनैले ०६४ को पहिलो संविधानसभा निर्वाचनमा गुल्मीबाट आफ्ना राजनीतिक गुरु गोकर्ण विष्टलाई हराए । उतिबेला वाइसिएलको नाममा जगजगी मच्चाएका सागर अहिले दृश्यमा छैनन् ।

० कुनै समय वाइसिएल भन्नेबित्तिकै सागर र सागर भन्नेबित्तिकै वाइसिएललाई सम्झिइन्थ्यो । आज पूरै गुमनाम भएर कता, के गर्दै हुनुहुन्छ ?

जनमुक्ति सेनाको ब्रिगेड कमाण्डर हुँदै ०६१ सालको अन्तिममा राजधानी प्रवेश गरें । पार्टी शान्तिप्रक्रियामा प्रवेश गरेसँगै वाइसिएल उपत्यका इञ्चार्जको जिम्मेवारी लिएँ । ०६४ सालमा गुल्मी निर्वाचन क्षेत्र ३ बाट जितें । सिंहदरबारभित्र प्रवेश गरेसँगै पार्टीभित्र युद्धकालमा जे स्कुलिङ गरिएको थियो त्यो सिद्धान्त र व्यवहारमा आकाश जमिनको अन्तर देखियो । त्यसपछि छुट्टै विचारको विकास गर्दै ०७१ सालदेखि राष्ट्रवादी केन्द्र, नेपालको केन्द्रीय अध्यक्षको भूमिकामा छु ।

० तपाईंहरूले बेरोजगारहरूको संगठन त बनाउनुभयो । तर, मान्छेहरू हँसिमजाक गर्दै छन् । किन होला ?

सही सत्य कुरा गर्दा हाँस्ने मात्र होइन, पागल पनि भन्छन् । बाफबाट वायुयान चल्छ भन्ने अनुसन्धान गर्दा ती वैज्ञानिकलाई पनि मूर्ख घोषित गरिएको थियो । सूर्यले होइन्, पृथ्वीले सूर्यको परिक्रमा गर्छ । पृथ्वी चेप्टो होइन, गोलो छ भन्ने घोषणा गर्दा जदिनो ब्रुनोलाई झण्डै फाँसी दिइयो । नेपालको प्रमुख समस्या भनेकै बेरोजगारी हो । हरेक दिन २५ सय हाराहारी र प्रत्येक वर्ष ७ लाख हाराहारीमा युवा खाडी मुलुकतिर भास्सिइरहेका छन् । देशका स्रोत साधन सबै बेवारिसे छन् । गणतन्त्रमा मुलुक प्रवेश गरिसक्दासमेत युवालाई खाडी मुलुकमा भेडा हेराउन पठाउनुपर्छ भने त्यस्तो गणतन्त्रको औचित्य के ? आज बेरोजगार वर्गको मुक्ति विना कसैले राष्ट्रियता खोज्छ भने बालुवाको पुल बनाउन खोजेजस्तो हो । आफ्ना सन्तानको विदेशमा श्रम बगाउने भिसा लाग्दा, दोस्रो दर्जाको नागरिक बन्दा पार्टी मनाउनुपर्ने जुन प्रचलन छ त्यसबाट राष्ट्रियता ध्वस्त हुँदै गएको छ ।

० बेरोजगार युवाको मुक्तिका लागि आवाज उठाउँछौं त भन्नुभयो तर त्यो संघ नै अहिले अस्तित्वमा देखिँदैन नि ?

यो संघ रूपान्तरण भएर राष्ट्रवादी केन्द्र, नेपाल बनेको छ । पार्टीका रूपमा निर्वाचन आयोगमा दर्ता त छैन । यो प्रष्ट राजनीतिक संगठन हो अहिले अभियानको रूपमा अघि बढ्दै छ । शान्तिपूर्ण आन्दोलन गर्ने भएपछि मूल बेस राजधानी नै हो । राजधानीको प्रत्येक वडा र टोलमा संगठन छ । राजधानीबाहिरका मुख्य १० वटा शहर बिर्तामोड, वीरगञ्ज, विराटनगर, चितवन, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरामा व्यवस्थित संगठन परिचालन भइरहेको छ ।

० माओवादी आन्दोलनबाट किन अलग हुनुभयो ?

आफूले जे सोचेको छ त्यो नहुने भइसकेपछि त्यहाँ रहिरहनुको के अर्थ ? अहिले माओवादी एमालेमा गएर विलिन भयो । हिजो म माओवादीमा कसैको लोभ–लालच वा धम्कीले लागेको थिइनँ ।

० तपाईंले वाइसिएल अध्यक्ष नपाएको कारण पार्टी छाडेको भन्ने कुरा कति सत्य हो ?

हिजो एमाले विद्यार्थी संगठनको नेता थिएँ । बुटवल क्याम्पसबाट स्ववियु र बिएल थर्ड इयरको निर्वाचन जितेर बसेको धेरै ठूलो टिमलाई माओवादीमा लगें । त्यहाँ प्रवेश गर्दा कुनै बार्गेनिङ गरिनँ । जब बेरोजगार वर्गको कुरा उठाएँ त्यसले पार्टीभित्र विवाद पैदा भएपछि अलग्गिएँ ।

० अबको राजनीतिक भूमिका कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

गणतन्त्र आएपछि जनताका समस्याको आमूल सुधार हुनेछ भन्ने जुन अपेक्षा थियो त्यो ओरोला लाग्दै गरेको देखेपछि संसदीय व्यवस्था नै असफल हो भन्ने हाम्रो बुझाइ छ । अहिले राष्ट्रवादी केन्द्र नेपालले ५ वटा बुँदामा बैचारिक संश्लेषण गरेको छ, बेरोजगार वर्गको मुक्ति, वैदिक सनातन धर्मसापेक्ष राष्ट्र र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, यस्तै संघीयता अखण्ड राष्ट्र र नेपाली जनताको पक्षमा नभएका कारण हाम्रोजस्तो गरिब मुलुकले सात वटा सरकार थेग्न सक्दैन । स्थानीय सरकारलाई अझै सम्पन्न र केन्द्रबाट व्यवस्थित गर्नुपर्छ । राष्ट्रिय पँुजी र राष्ट्रिय लगानीको सुरक्षा हुनुपर्छ ।

० तपाईं अब कम्युनिष्ट रहनुभयो कि भएन ?

म अब कम्युनिष्ट रहिनँ । माक्र्सवादी दृष्टिबाट न मेरो विचार प्रभावित हुनेछ न त मेरो संगठन नै ! नितान्त राष्ट्रवादी र लोकतान्त्रिक धारबाट हामी अगाडि जानेछौं ।

० नेपालका कम्युनिष्ट पार्टीलाई कसरी बुझ्नुहुन्छ ?

यी नाम मात्रका कम्युनिष्ट पार्टी हुन् । हामीले माक्र्स, लेनिन, माओ त्सेतुङबारे पनि अध्ययन ग¥यौं । त्यही अध्ययनले हजारौं मान्छे मर्न तयार भए । तर, जीवन व्यवहार हेर्ने हो भने यस्तै कम्युनिष्टको नीति र दुई तिहाइको सरकारले जो विचार प्रयोग गरिरहेको छ । त्यही प्रयोग गर्ने हो भने त संसारभरमा कोही पनि कम्युनिष्ट नबने हुन्छ भन्न चाहन्छु ।

० हिजो सेल्टर दिएका जनताको बीचमा जाने काममा नेताहरू लागेनन्, दलाल पुँजीपतिकै सेवामा तल्लीन छन् भन्नुहुन्थ्यो । अहिले के अवस्था छ ?

जे हिजो थियो आज पनि उही छ । कुनै अन्तर आएको छैन । नेपाली जनताले न कम्युनिष्ट खोजेका हुन्, न कांग्रेस । जनताले शिक्षा निःशुल्क, स्वास्थ्य निःशुल्क र काम गरिसकेपछि महिनाभर खान पुग्ने तलब वा उत्पादन खोजेका हुन् । त्यो जसले दिन्छन्, जनता उतै जान्छन् । जनता कसैका दास, नोकर र रैती होइनन् । एक जमानामा सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भनिन्थ्यो । एउटा अवस्थामा भैंसी, गोरु बाख्रासमेत कांग्रेस भन्ने स्थिति पनि आयो । त्यस्तै, स्थिति एमाले हुँदै जरा, मूढा पनि माओवादी हुन् भन्ने बनायो तर त्यही स्थिति त सदैव रहँदैन । केही व्यक्तिगत लाभ लिएकाबाहेक स्वतन्त्र जीवन जिउनेहरूले त ठीक र बेठीक छुट्ट्याउने रहेछन् । लाग्छ, नेपालमा सत्ता सञ्चालन गरिसकेका दलको आयु त्यतिधेरै लामोचाहिँ छैन ।

० आजकल प्रचण्डबारे यहाँको बुझाइ के छ ?

उहाँले जुन निष्ठापूर्वक जनयुद्ध शुरु गर्नुभएको थियो त्यो निष्ठा शक्तिमा गइसकेपछि देखाउन सक्नुभएन ।

० प्रचण्डलाई एमालेमा लगेर पार्टी विलय गर्न केले बाध्य पार्‍यो होला ?

शक्तिमै रहिरहने उहाँको व्यक्तिगत सोच हो कि ? अहिले पूर्वराजा ज्ञानेन्द्र जुन कुनै देशमा गएर पनि बस्न सक्छन् तर गएका छैनन् । २४० वर्ष सत्ताको लिगेसी चलाएर बसेका ज्ञानेन्द्रमा कुनै औडाहा, चलखेल देख्दिनँ । तर, राजनीतिक दलका नेता एक मिनेट पनि सत्तामा नहुने हो भने निद्रै नलाग्ने रोग हो कि जस्तो लाग्छ । स्थानीय तहको चुनावको परिणाम आकलन गर्दा अब माओवादी पार्टी कमजोर भयो । तेस्रो पोजिसन पुग्नेभयो । आफू त सदैव फस्र्टै हुनुपर्छ भन्ने भएपछि एमालेसँग मेल भयो । एमाले नमानेको भए कांग्रेस वा राप्रपासँग पनि मिल्नुहुन्थ्यो उहाँ । यो सबै कुनै न कुनै रूपमा पावरमै रहनुपर्छ भन्ने सोचको उपज हो ।

० एमालेसँग एकता भएको कुरा कति आवश्यक र कत्तिको फलदायी देख्नुहुन्छ ?

यथार्थपरक विश्लेषण गर्दा यो एकता धेरै लामो समयसम्म टिक्यो भने महाधिवेशनसम्म मात्र हो । त्यो सेरोफेरोमा पार्टी धुजा–धुजा हुन्छ । त्यो ध्वजा एमालेको एमालेमै वा माओवादीको माओवादीमै भएर हुन्छ वा केही एमाले माओवादीतिर, केही माओवादी एमालेतिर भएर हुन्छ त्योचाहिँ हेर्न बाँकी नै छ ।

० युवा आन्दोलनका नाममा गुण्डा पाल्ने, धन कमाउने प्रवृत्ति छ भन्छन् । तपाईंको नाम पनि यो मामिलामा लिने गरिन्छ । वास्तविकता के हो ?

हिजो युद्धको रणनीति, कार्यशैलीअनुरूप विकास प्रक्रिया एउटा थियो । त्यहीँभित्र पनि कसैले गलत फाइदा लिए । हिजो म वाइसिएलको चिफ हुँदा मेरो नाम बेचेर गलत कार्य भए भन्ने चर्चा सुनिन्थ्यो । माओवादीका साथीबाट आएकाहरूको तामझाम देख्दा हो रहेछ कि जस्तो लाग्छ ।

टिप्पणीहरू