कन्ट्रयाक्ट ट्रेसिङमा डरलाग्दो ‘खेलाँची’

कन्ट्रयाक्ट ट्रेसिङमा डरलाग्दो ‘खेलाँची’

‘कन्ट्रयाक्ट ट्रेसिङमा परेको मान्छे सब ठाउँ भ्याइदिने ?’
‘हैन हजुर, परीक्षण गर्न निस्केको ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक अधिकारीको शंकामिश्रित प्रश्न नसकिँदै उनले जवाफ फालिहाले ।

‘म जिम्मेवार पत्रकार’ लेखिएको ज्याकेट देखेपछि उनले त्यही समूहको अर्को सदस्यलाई त्यसो भनेको हुनुपर्छ ।
सामान्यतया कोरोना परीक्षणका लागि स्वाब दिएपछि रिपोर्ट नआउँदासम्म अलग्गै बस्नुपर्छ । तर, अधिकांश पत्रकार कि असञ्चो भएर ढलेपछि कि त रिपोर्ट पोजिटिभ आएपछि मात्रै बन्दी बन्ने गरेका छन् । चिनेको साथीले पनि त्यही गरे । सामान्य बिमारी भएपछि कोरोना भाइरस परीक्षणका लागि स्वाब दिए तर भेटघाटलाई विश्राम दिएनन् । ४ दिनमा ‘पोजिटिभ’ रिपोर्ट आयो । त्यो बीचमा उनले कतिलाई भेटे होलान् । कति जना सँगै खाए होलान् ।

ज्वरो, रुघा, टाउको दुख्नेसहितका सामान्य लक्षण भएको एक अर्को साथी पनि कोरोना भयो कि भनेर अस्पताल गए । तर, डाक्टरले अहिलेको मौसमै यस्तै छ, कोरोना नै नहोला भनेर सिटामोल थमाएछन् ‘मनले नमाने परीक्षण गराउनुहोला’ भनेर । कन्ट्र्याक्ट ट्रेसिङमै रहेका उनी शुरुको संवाद भएकै दिन पनि साथीहरूकैबीचमा थिए । सुरक्षा सावधानी अपनाउने कुरा छुट्टै हो तर उनले पनि सम्पर्क, भेटघाट बन्द गर्न सकेनन् । साथी सँगसँगै हिँड्न छाडेनन् । नास्ता सँगै खाए, बाइकमा लिफ्ट मागे । अरू साथीहरूले उनको छुट्टै बसाइलाई स्विकारेनन् । ह्या केही हुन्न भनेर आफूसँगै हिँडाइरहे ।

भोलिपल्ट रिपोर्ट पोजिटिभ आयो । अब भएन फसाद !

म सामान्यतया कोठामै बस्न रुचाउने मान्छे, कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि भने ७ दिन कोठामा बन्दी बन्नुपर्दा निकै उकुसमुकुश भयो । रिपोर्टिङमा नजाने, काम विशेषले मात्रै बजार निस्किने मलाई त यी ७ दिन सकसपूर्ण भयो भने नियमित साथीसंगीसँग काममा वा गफिन गइरहने बानीपरेकाहरूलाई झन् कति उकुसमुकुस भयो होला ! स्वाब दिइसकेपछि रिपोर्ट पर्खाइको तनाव झन् कति कति !

कोरोना भाइरस संक्रमण नियन्त्रणको मुख्य आधार नै ‘चेन ब्रेक’ अर्थात् संक्रमितलाई अरू मानिसबाट अलग्याउनु हो भनिन्छ । संक्रमितको सम्पर्कमा रहेकाहरूको पहिचान गरी उनीहरूलाई पनि केही दिन सावधानीका साथ क्वारेन्टाइनमा बस्न लगाउनु हो । पोजिटिभ व्यक्तिले पहिले जसलाई भेट्यो र त्यो भेटेको मान्छेले फेरि अरू कसलाई भेट्यो ? शुरुदेखि अन्तिम व्यक्तिसम्म पुगेर उनीहरूको स्वास्थ्य अवस्था र हिस्ट्री उतार्नुलाई कन्ट्रयाक्ट ट्रेसिङ भनिन्छ । तर कन्ट्रयाक्ट ट्रेसिङमा बस्दा स्वास्थ्यसँग जोडिएका कुनै पनि आधिकारिक निकायबाट यस विषयमा सोधीखोजी भएन । कन्ट्रयाक्ट ट्रेसिङमा परेका सबै मानिसमा कोरोना भाइरस नसर्न पनि सक्छ । त्यो पहिचान गर्ने आधार भनेको परीक्षण नै हो ।

कन्ट्रयाक्ट ट्रेसिङमा परेका व्यक्तिले परीक्षण गर्न खोज्दा लक्षण छैन भने किन गर्नु ! नगरे नि हुन्छ भन्दा रहेछन् स्वास्थ्य संस्थाले । तर, त्यसो गर्दा समस्या झन् बढ्ने रहेछ । कन्ट्रयाक्ट ट्रेसिङमा परेका एक जनालाई पनि त्यसै भनियो । कुनै लक्षण नभएका उनले परीक्षण गर्दा पोजिटिभ देखियो । मानिलिऊँ उनले परीक्षण नै नगरेको भए के हुन्थ्यो होलान् ? कतिलाई भेट्थे होला ? कतिलाई सार्थे होलान् ? सोच्दा पनि डर लाग्ने ।

सम्पर्कमा आएको व्यक्ति भन्नाले कोभिड–१९ को बिरामीसँग एक मिटर भन्दा कम दूरीमा कम्तीमा १५ मिनेटसम्म आमने सामने भएको, बिरामीसँग बन्द स्थानमा बसेको जस्तै सँगै काम गर्ने थलो, कक्षा कोठा, एउटै फ्ल्याट वा कुनै किसिमको समूह वा भीडमा जम्मा भएको व्यक्ति, बिरामीसँग १ मिटरभन्दा कम दूरीमा बसेर कुनै पनि सवारी साधन प्रयोग गरी यात्रा गरेको व्यक्तिलाई बुझिँदो रहेछ । तर, नेपालमा चिनेकै, बुझेकै अधिकांश व्यक्तिले यी आधारलाई बेवास्ता गरी आफूलाई केही नभएको स्वघोषणा गरेकै आधारमा उन्मुक्ति पाइरहेकै छन् ।

‘सञ्चारमाध्यम र सामाजिक सञ्जाल हेरेपछि अब त केही बाँकी रहँदैनजस्तो लाग्ने । त्यो हेर्न र पढ्न छोडेमा सब ठीकठाक अर्थात् सामान्यजस्तै हुने ।’

माघमा एकजना कोरोना भाइरस संक्रमित हुँदा र चैत ११ गतेपछि लकडाउन शुरु गर्दा धेरैले यस्तै भन्ने गर्थेे । त्यसबेला कोरोना संक्रमण दर कम थियो, त्रास धेरै । त्रासले झन् सन्त्रास फैलाउँदै गयो । मानिसमा सचेतना पनि बढ्यो होला । तर, एक महिना, दुई महिना हुँदै ६ महिनासम्म लकडाउन बढ्दै गएपछि मानिसको स्वभाव बदलियो । रोगभन्दा भोकसँग लड्ने भन्दै घरबाट निस्किने बहाना खोज्न थाले । मनोविज्ञान बुझेरै होला सरकारले पनि जनजीवनलाई सहज बनाउन विभिन्न मापदण्डसहित लकडाउन खुकुलो बनाउने नीति अख्तियार गरिरहेको छ ।

हत्केलाको मोबाइलमा सिंगो संसारको सूचना बोकेर हिँडिरहेको मान्छे कोरोना भाइरस संक्रमण हुने कारण, समस्या र त्यसबाट बेच्ने उपायकाबारेमा बेखबर छैन । तथापि दिनानुदिन अवस्था भयावह किन बन्दै छ ? सूचना र सन्देश ग्रहणकर्ता मात्रै होइन संवाहकको जिम्मेवारीमा रहेका व्यक्ति पनि किन प्रतिदिन संक्रमित हुँदै छन् ? हरेकले सोधिरहने तमाम् प्रश्नको उत्तर त्यति सजिलै भेटिनेवाला छैन ।

टिप्पणीहरू