स्कुल बन्द, तस्करीमा केटाकेटी सामेल

केही समयअघि भारतबाट सुनसरीको सीमा क्षेत्र हुँदै तस्करीको सामान बोकेर घुस्दै गरेका एकजनालाई सशस्त्र प्रहरीको गोली लागेपछि उपचारार्थ धरानको बिपी मेमोरियल अस्पतालमा भर्ना गरिएकोमा मरणपछि झण्डै एक साता उपचार गराउँदा लागेको करिब चार लाख रूपैयाँ खर्च सरकारले ब्यहोर्ने भएको छ । अस्ति सोमवारको क्याबिनेट बैठकबाट यससम्बन्धी निर्णय भएको हो ।

पारिबाट दश जनाको समूहमा अवैध सामान ल्याउन खोज्दा सिमानामा तैनाथ सशस्त्र प्रहरीको टोलीले रोकेको थियो । प्रहरीले सोधपुछ गर्ने क्रममा गाउँले पूरै उल्टिएर सशस्त्रको हतियार खोस्न थालेपछि गोली चलाउन बाध्य भएको बताइन्छ । सुनसरीको सिमानामा भएको उक्त घटनामा मारिएका व्यक्ति घुस्की गाउँका हुन् ।

स्थानीय जनप्रतिनिधि र सशस्त्रको संयमताका कारण घटनाले उग्र रूप भने लिन पाएन । कोरोनाको कारण स्कुल बिदा भएकाले पछिल्लो छ महिनादेखि पारिको भारतीय बजारबाट दैनिक हरियो केराउ (मटर),चिनीको पोका र मलको बोरा वारी ल्याउने काममा विद्यार्थीहरू समेत संलग्न भएका छन् । वारी र पारीका बजारमा इधरको माल उधर गरेर दैनिकी चलाउँदै आएका सीमा क्षेत्रका अधिकांश महिला र बालबालिकाले प्रायः पाँचदेखि १० केजीको पोको बोक्ने गर्छन् । निश्चित रकम उठेपछि बेलुकी राशन किनेर घरतिर लाग्ने उनीहरूको वर्षौंदेखिको दिनचर्या हो ।

हाम्रा सरकारी र स्थानीय निकायले पनि खाद्यान्न,सुपारीलगायतका वस्तुको गोदाम घर बनाउने अघोषित स्वीकृति सीमा नजिकै दिएका छन् । सिमानाको एकान्तमा सशस्त्र प्रहरी नदेखिएको मौका छोपेर यता आएका भारतीयले त्यसैगरी पोको सीमा कटाउँछन् र उताबाट हाम्रा स्थानीयले बोकेको पोको यता ल्याउँछन् । सिमाना कटिसकेपछि दुबैथरीले सहज ढंगले पोको वारपार गरेको खुशियालीमा सशस्त्रलाई हाँसेरै भएपनि गिज्याउन छाड्दैनन् ।

सिमाना व्यवस्थापनको लागि खटाइएका सशस्त्र र नेपाल प्रहरीको शक्ति वर्षौंदैखि त्यस्तै पोका समाउने र लठ्ठी बजाउने काममा सीमित छ । तर,त्यहाँ हुने विभिन्न खालका अपराध(हत्या,अपहरण,बिस्फोट), तस्करी र लागूपदार्थ ओसारपसारलगायतका विषयमा हाम्रा सुरक्षाकर्मीको ध्यान नै पुग्न सकेको छैन । कागजमा लेखिएपनि व्यवहारमा उक्त विषय कार्यान्वयन हुन सकेको छैन । यता अपराध गरेर अपराधी सजिलैसँग उता भाग्ने गरेका घटना र लागू पदार्थको ओसारपसार रोक्नेतर्फ राज्यले प्राथमिकता नै दिन नसकेकोमा केही सुरक्षा अधिकृत खिन्न देखिन्छन् ।

हुन तः पोके र झोले तस्करीलाई रोक्दा सरकारको राजश्व उठ्तिमा उल्लेख्य बृद्धि भएको छ । प्रदेश नं. १ का कतिपय भन्सार कार्यालयमा पछिल्ला वर्ष तीन गुणासम्म राजश्व बढेको छ । तर,सरकार राजश्व बृद्धिमा मख्ख हुँदा मुलुकको शान्ति सुरक्षा र सीमापार अपराध नियन्त्रण ओझेलमा परेको अवस्थामा त्यो अझ ठूलो घाटा हुने सुरक्षाविज्ञहरू बताउँछन् । मूलतः सशस्त्रको प्रमुख दायित्व र कर्तव्य सिमानामा गाडिएका सीमा स्तम्भ र सिमानालाई नै अद्यावधिक गर्नु हो । तर,परिस्थितिले तोकिएको दायित्व नै छायाँमा पर्ने जोखिम बढ्दै गएको छ ।

झापासँग जोडिएको सिमानामा मानिस आवतजावत गर्ने साना नाका मात्रै ९५ वटा छन् । तर, सामान आयात निर्यात हुँदा राजश्व उठाउने प्रयोजनको लागि जम्मा दुईवटा भन्सार तोकिएका छन् ।

उदाहरणको लागि झापासँग जोडिएको सिमानामा मानिस आवतजावत गर्ने साना नाका मात्रै ९५ वटा छन् । तर, सामान आयात निर्यात हुँदा राजश्व उठाउने प्रयोजनको लागि जम्मा दुईवटा भन्सार तोकिएका छन् । ती साना नाकाका अलावा अन्य खुल्ला ठाउँबाट पनि पोका बोकेका हुल धेरैजसो नेपालतिरै छिरेको देखिन्छ ।

कतिपय जिल्लाका धेरैजसो ठाउँमा दश गजालाई आँगन बनाएर दुबैतिर बकाइदा घर ठड्याइएको छ । हिजोका दिनमा नेताहरू झापाको सीमा नाघेर नक्सबाडी,सिलिगुडी,दार्जिलिङ गई बस्थे भने,भूटानी नेता टेकनाथ रिजाललगायत उताका कतिपय यता आएर पनि बस्थे । तर अहिले दश गजालाई आँगन बनाएर निर्माण गरिएको दोहोरो बजारले तस्करी,अपराधीलगायतका सबैलाई दुई नम्बरी काम गर्न हाइसञ्चो भएको छ ।

उता,झापामा पनि हालै सशस्त्रलाई अर्को समस्या आइलाग्यो । सीमा नजिकै गाईं काटेको खबर सबैभन्दा पहिले नेपाल प्रहरीलाई आएपछि वास्तविकता बुझ्न एउटा टोली त्यता गयो । गाई काटेको आरोप लागेका व्यक्तिलाई आवश्यक कारबाहीको लागि सदरमुकाम पठाउने तयारी गरिरहँदा एकाएक सरोकार नै नभएको सशस्त्रको गाडी तोडफोड गरेर गाडीभित्रका व्यक्तिको ज्यानै जोखिममा पर्ने भएपछि सशस्त्रले गोली चलाउन पर्यो ।

सीमा नजिकै सर्वत्र सशस्त्र प्रहरी परिचालन गरिएकाले स्थानीय सर्वसाधारणमा जे कुरामा रिस उठे पनि रिस साँध्ने र पहिलो निशाना सशस्त्र नै बन्ने गरेको देखिन्छ । बोर्डरको फ्रन्ट लाइनमा सशस्त्र खटिएकाले सीमानाकाको आउजाउमा कडिकडाउ गरेको रिस नेपाल प्रहरीले अनुसन्धान र कारबाही गर्ने विषयमा पनि सशस्त्रमाथि रिस पोख्ने गरिएको छ । सशस्त्र स्रोतका अनुसार संयम अपनाउँदा अपनाउँदै पनि सशस्त्रमाथिको प्रहार भने बढ्दै गएको छ ।

टिप्पणीहरू