आजको बैठक केही न केही

आजको बैठक केही न केही

नेकपाको आज अपरान्ह बालुवाटारमा बसेको बैठक फासफुसमै सकिएको छ । बैठकमा मन्त्रिमण्डल पुनर्गठन र राजदूत नियुक्तिबारे कसैले एक शब्द पनि उच्चारण गरेनन् । अस्ति सरकारले अमेरिका र बेलायतको लागि गरेको राजदूत सिफारिशको आधार र मापदण्डको कुरो चल्न थालेपछि मन्त्रिमण्डल पुनर्गठन र थप राजदूत नियुक्तिबारे गाईंगुईं नै नभएको बताइन्छ । हुन तः त्यो बारेमा न एजेण्डा नै राखिएको थियो । अन्य झिना मसिना कुरामै बैठक सकिएको र ठोस कुरा केही पनि नभएको एकजना सदस्यले बताए ।

बैठकमा सांगठानिक एकीकरणको विषय अहिलेसम्म टुंगोमा नपुगेको प्रसङ्ग उठे पनि उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमले यसअघि नै पेश गर्नुभएको सांगठनिक कार्ययोजनासम्बन्धी प्रस्ताव अहिलेसम्म कसैले पनि अध्ययन गर्न पाएका छैनन् । त्यसबारेमा पनि कुरो उठाइएन ।

बरु आजको बैठकमा पूरै समय डा. गोविन्द केसीको अनसनबारे लम्बेतान चर्चा भएको थियो । केसीलाई भेट्न सरकारको तर्फबाट शिक्षा सचिवलाई शिक्षण अस्पताल पठाइएको र सचिवले केसीलाई तपाईंका ‘यी यी मागहरू पूरा भइसकेका र ती सबै कार्यान्वयनको क्रममा रहेकाले अहिले कोरोना महामारीमा अनसन रोकेर थप विषयमा आगामी दिनमा वार्ता र छलफल गरौंला’ भनेको विषयले बैठकमा प्रमुखता पाएको थियो । नेकपाले पनि केसीलाई अनसन तोडाउन त्यहि कुरो भन्ने निर्णय गरेपछि आजको सचिवालय बैठक सकिएको घोषणा गरियो ।

पटक पटक सचिवालयको बैठक बोलाउने तर धेरैजसो स्थगित हुने र बसिहाले पनि पद्धतिसंगत ढंगले आयोजना नगर्ने रोगको पछिल्लो शिकार आजको बैठक पनि बनेको छ । बैठकमा एजेण्डा प्रस्तुत गरेपनि राम्रो र मिहिन ढंगले छलफल नगरी एक्कासी सकिएको घोषणा गर्ने रोग बढ्दै गएकोमा धेरैजना सदस्यले गुनासो गरेको बताइन्छ ।

बैठकमा आजको मुख्य एजेण्डा यो हो भनेर गहन ढंगले छलफल नै गर्न छाडिएको बताइन्छ । एजेण्डा धेरै अघिको बैठकदेखि थुप्रिँदै थुप्रिँदै चाङ्ग लागेको छ । तर,एकाध घण्टा यसो सतही छलफल भएपछि बैठक सकिएको घोषणा गर्ने रोगले नेकपा थिलथिलो भएको एकथरिको निचोड छ ।

वामदेव गौतमले आज हरेक दिनको बैठक त्यहि दिन औपचारिक रूपमा सकिएको घोषणा गर्दै माइन्युट गर्नुपर्ने विषय उठाउनुभयो । तर,अन्य सदस्यले भने त्यस्ता बैठक हरेक दिन सकिने भन्दा पनि विषय र एजेण्डामाथिको छलफल नसकिउञ्जेल भोलिपल्ट वा लगातार छलफल गरेर टुंगोमा पुग्नसक्ने बनाउनुपर्ने राय पोखेका थिए ।

टिप्पणीहरू