पति मारिएपछि राष्ट्रपतिपत्नीको पीडा « janaaasthanews
१३ कार्तिक २०७७, बिहीबार

पति मारिएपछि राष्ट्रपतिपत्नीको पीडा



हत्यापछि अप्रिल २० (सन् १९६५) मा अब्राहम लिंकनको शव समाधि गरियो । अन्तिम संस्कारमा मेरीले सहभागिता जनाइनन् । उनी ह्वाइटहाउसमै शोकमा डुबिरहिन् । राष्ट्रपति भवन बिस्तारै सुनसान बन्न थाल्यो । मानिसहरूले उक्त भवनमा रहेका वस्तु, लिंकनले प्रयोग गरेका स–साना सामान स्मृतिका लागि लिएर जान थाले । ठूलो शोखले किनेका महँगा यी वस्तुहरू ह्वाइटहाउसबाट गायब हुँदै गरेको छनकसमेत मेरीलाई भएन । लोग्ने मारिएको पीडाबाट मुक्त हुन केही समय लाग्यो । उनले कसैसँग भेटघाट गर्नै चाहिनन् ।

अमेरिकाको १६ औं प्रथम महिला मेरी टाड लिंकनको अब ह्वाइटहाउसबाट बहिर्गमन शुरु भयो । सामान ठुल्ठूला बाकसमा राखियो । उनलाई सिकागो पठाउने तयारी शुरु भयो । ह्वाइट हाउसमा १७ औं राष्ट्रपति एन्ड्रयु जोन्सन बस्न आइसकेका थिए । उनले मेरीलाई डेढ महिना बस्न दिए तर त्यस अवधिमा मेरीसँग एकपटक पनि भेटेनन् । समवेदना प्रकट गर्ने र सन्देश पठाउने कामसमेत गरेनन् । जबकि उनी अब्राहम लिंकन राष्ट्रपति हुँदाका उपराष्ट्रपति थिए । सायद मेरीलाई आफू मन नपरेको उनलाई थाहा थियो । अर्को कुरा, लिंकनको हत्यारा जोहन विल्कस् बुथसित मेरीले उनको नाउँ जोडेर हेर्ने गरेकी थिइन् । मेरीले साथी सेली ओर्नलाई लेखेकी थिइन्, ‘मेरो लोग्नेको हत्या हुन लागिरहेको जोन्सनलाई पहिल्यै थाहा थियो । नभए, बुथको भिजिटिङ कार्ड जोन्सनको दराजबाट कसरी निस्क्यो ? उनीहरूबीच चिनजान त रहेछ नि ! बुथले एउटा कुरो भनेका थिए तर तिमीलाई त्यो कुरा भन्दिन । अर्को कुरा, जोन्सनले मेरो लोग्नेको मृत्युमा शोकको एक शब्द पनि खर्चेका छैनन् । मलाई समवेदना सन्देशसम्म पनि पठाएनन् । उल्टै ममाथि बर्बर व्यवहार गरे । मलाई पक्का विश्वास छ, मेरो लोग्नेको हत्यामा उनको पनि हात छ ।’

वास्तवमा बुथ र जोन्सनबीच एकपटक भेट भएको थियो । हत्याको दिन पनि बुथ जोन्सनको सरकारी निवास कर्कबुड हाउस होटल पुगेका थिए । जोन्सन र उनका सचिव विलियम ब्राउनिङलाई भेट्न । तर, त्यो बेला दुवै जना त्यहाँ थिएनन् । त्यसैले बुथले आफ्नो भिजिटिङ कार्डमा ‘म तपाईंको शान्ति भंग गर्न चाहन्न, के तपाईं घरमै हुनुहुन्छ ?’ लेखेर लेटर बक्समा छाडेका थिए । पछि ब्राउनिङले उक्त कार्ड जोन्सनकै लागि छाडिएको त हो नि भन्दै उनको दराजमा राखिदिएका थिए । तर, मेरी यो तर्क मान्न तयार भइनन् । हत्याको षड्यन्त्रमा सामेल एकजना जेफर्सन डेभिडमाथि मुद्दा नचलाउनु र जोन्सनको घनिष्ठ मित्र प्रेस्टिन किंगले आत्महत्या गर्नु संयोग मात्र नभएको दाबी थियो उनको ।

सन् १८६५ को मे २३ मा मेरी ह्वाइटहाउसबाट निस्किइन् टाउकोदेखि पैतालासम्म छोपिने कालो वस्त्रमा । उनलाई बिदाइ गर्न कर्मचारी तथा अधिकृतहरूले खासै रुचि देखाएनन् । त्यतिञ्जेलसम्ममा मेरीको विक्षिप्तता दूर भइसकेको थियो । यसको प्रमाण बेलायती महारानी भिक्टोरियाले पठाएको शोक सन्देशमा उनले दिएको प्रत्युत्तर थियो । मे १२ मा उनले लेखिन्, ‘महामहिमले कृपापूर्वक पठाएको पत्र पाएँ । त्यसमा व्यक्त कोमल शब्दप्रति आभारी छु । यसमा उल्लेख हृदयको उद्गारले मलाई पीडा बिर्सन प्रेरित ग¥यो । हृदयदेखि तपाईंमा आधार व्यक्त गर्न चाहन्छु । म तपाईंको सदा निष्ठावान र कृतज्ञ मित्र रहनेछु ।’

बाबुको हत्यापछि लिंकनका जेठा छोरा रोबर्ट स्कुल जान बाध्य भए । उनी मैक कैग र फुलरकोमा कानुन पढ्न जान थाले । साँझ थकित भएर सिकागोको उपनगर हाइडपार्कस्थित स–सानो तीन कोठायुक्त घरमा फर्कन्थे । त्यहाँ आमा मेरी र कान्छो भाइ टाढ बस्थे । लिंकन र मेरीको माइलो र साइँलो छोरा एडबर्डको (सन् १८५० मा) र विलियमको सन् १८६२ मा निधन भइसकेको थियो । उनीहरूको परिवारलाई गरिबीले घेर्न शुरु थालिसकेको थियो । त्यसो त लिंकनको नाउँमा ७५ हजार डलर बराबरको सम्पत्ति थियो । केही सरकारी वचतपत्र र केही नगद । लिंकनले कुनै इच्छापत्र लेख्न भ्याएकै थिएनन् । त्यसैले प्रचलित कानुनअनुसार ती सम्पत्ति मेरी, रोबर्ट र टाडबीच बराबर भाग लगाएर बाँडियो । यो सबै उपभोग गर्ने अधिकार मेरीले पाइनन् । छोराहरूको सम्पत्ति लिंकनका मित्र तथा पूर्वन्यायाधीश डेभिड डेबिसले सम्हाले । सरकारी वचतपत्रबाट वार्षिक १५ सय डलर आम्दानी हुन्थ्यो । मेरी भन्थिन्, ‘यति त एउटा क्लर्ककै तलब हुन्छ ।’

जीविकोपार्जन गर्न जटिल बन्न थालेपछि मेरीले धेरैसँग कृपा लिन खोजिन् । ऋण ७० हजारसम्म पुग्यो । मेरीले ऋण तिर्ने अनौठो जुक्ति निकालिन् । प्रथम महिला हुँदै छोराहरूलाई पढाउन ह्वाइटहाउसमा शिक्षकको व्यवस्था गर्न लगाएकी थिइन् । अलेक्ज्याण्डर विलियम्सलाई पछि वित्त विभागमा जागिर ख्वाइदिएकी थिइन् । उनले सांसदहरूलाई भने, ‘लिंकनको पूरा कार्यकालको तलब मेरीलाई दिनुपर्छ ।’

उनी मेरीका ऋणदाताहरूसँग भेटेर ऋणको रकम घटाउन जोड गर्थे । समय–समयमा मेरीको अनुपयोगी सामान लिलाम गरेर रकम जम्मा पनि पार्थे । वास्तवमा उनी कमिसनको भरमा मेरीसँग मिलेर काम गरिरहेका हुन्थे । यसबीच सन् १८६५ को डिसेम्बरमा राष्ट्रपति लिंकनको एक वर्षको तलब मेरीलाई दिने निर्णय ग¥यो, संसद्ले । कूल २५ हजार डलर मेरीले पाइन् । यद्यपि रकम थोरै भयो भन्ने असन्तुष्टि रह्यो । जबकि लिंकनभन्दा पहिलाका विधवा प्रथम महिलाहरूलाई त्यति नै रकम दिने गरिएको थियो । मेरीले उक्त रकमबाट सिकागोको वेष्ट वासिंगटन सडकमा अवस्थित एउटा आलिशान बंगला खरिद गरिन् । सन् १८६६ को जुनमा मेरीको परिवार उक्त घरमा स¥यो । योभन्दा पहिला बहिनीको घरमा बस्थिन् । उनी त्यो घरबाटै निस्किन्न थिइन् । स्वास्थ्य ठीक नभएको बहाना बनाउँथिन् । यथार्थमा उनमा हीनताबोध थियो । उनी पहिला उक्त समाजमा वैभवशाली जिन्दगी बिताएकी महिलाको रुपमा परिचित थिइन् । त्यसमाथि गृहयुद्धपछि उनका अधिकांश मित्र र नातेदारको आर्थिक स्तर उन्नत बनिसकेको थियो । मेरीको जिन्दगी भने ठीक उल्टो दिशामा दगुर्दै थियो ।

घर खरिद त गरियो तर मासिक आम्दानी थिएन । त्यसैले उनले त्यो घर भाडामा लगाइन् र सस्तो घरमा बस्न गइन् । कान्छो छोरा टाडलाई सिकागो एकेडेमीमा भर्ना गरिदिइन् । उनीसँग दर्जनौं गाउन थियो । मुलायम ऊनको वस्त्र थियो । सल, माइलौं माइल लामो झल्लर, गरगहना, महँगा वस्तुहरू थिए । उनले ती सामान न्युयोर्कको बजारमा बेच्ने योजना बनाइन् । यसका लागि दलाल एसी कैकसँग भेटिन् । कैकले ती सामान बिक्रीबापत एक लाख डलर पाइने आश्वासन दिए । उनले भने, ‘यसको लागि लिंकनका हितैषी सबैलाई पत्र लेख्नुपर्ने हुन्छ । लिंकनबाट लाभान्वित सबैसँग सहयोग माग्नुपर्छ । यदि ती व्यक्तिहरू सहयोग गर्न तयार भएनन् भने सबै पोल खोलिदिने धम्की दिनुपर्छ । कैकको तल्लो स्तरको योजनामा लोभी मेरीले सहमति जनाइन् । कैकको योजनाअनुरुप पत्रहरू तयार भए तर जब ती पत्र लिएर उनी राजनीतिज्ञहरूकोमा पुगे, कसैले वास्तासमेत गरेनन् । त्यसपछि मेरीले आफ्ना लुगा बिक्रीका लागि प्रदर्शन गरिन् । वस्त्र हेर्न आउनेहरूको घुइँचो लाग्यो तर कसैले किनेनन् । अन्त्यमा दलालले अर्को योजना बनाए– वस्त्रको प्रदर्शन अमेरिकाभरि गर्ने । त्यसमा रगत लागेको लिंकनको लुगा पनि थियो । तर, अन्त्यमा त्यसो हुन पाएन । किनभने सरकारले त्यस्तो गर्ने अनुमति नै दिएन ।

मेरीको यो हर्कतको सर्वत्र आलोचना भयो । मेरीले लेखेका पत्रको कपी जस्ताको तस्तै पत्रिकामा प्रकाशित भयो । मेरीले सबैतिरबाट उपहासको सामना गर्नुप¥यो । मेरी लुगा र सामानसहित सिकागो फर्किइन् । लुगा तथा मालसामान बिक्री गरेर पैसा कमाउने सपना चकनाचुर भयो । उल्टो उनले दलाललाई खर्चबापत ८ सय २४ डलर दिनुप¥यो । त्यसपछि मेरीको भेट विलियम हेनरी हर्नडोनसँग भयो । हर्नडोन लिंकनले वकालत गर्दाको साझेदार थिए । उनको र मेरीको कहिल्यै राम्रो सम्बन्ध भएन । त्यसैले व्यवसाय–साझेदार भए पनि हर्नडोनलाई मेरीले कहिल्यै साथमा खाना खुवाउन घरमा बोलाएकी थिइनन् । तर, लिंकनको हत्यापछि दुवैको भेट भयो । उनले मेरीलाई लिंकनको जीवनी पुस्तक लेख्ने तयारीमा रहेको जानकारी दिए र मेरीसँग मेरी र लिंकनको अन्तरंग धेरै कुरा सोधे । यथार्थमा हर्नडोन लिंकनसँग इष्र्या गर्थे, पुस्तकमार्फत लिंकनको छवि फिक्का बनाउन चाहन्थे । उनले स्प्रिङ फिल्डमा आयोजित लिंकनको स्मृति सभामा बोले, ‘म भूतपूर्व राष्ट्रपतिको अन्तरंग मित्र हुँ । लिंकनले मेरी टाडसँग बिहे गरे, २३ वर्ष उनीसँग जीवन बिताए तर उनी मेरीसँग प्रेम गर्दैनथे । उनी एन रटलेजसँग प्रेम गर्थे । सम्पूर्ण आत्माले उनीसित प्रेम गर्थे ।’

उनको कुरा सुनेर मेरीलाई दुःख लाग्यो । उनी तिल्मिलाइन् । पछि लिंकनका छोरा रोबर्टले पनि ‘दि ट्रयु स्टोरी अफ ग्रेट लाइफ’ पुस्तकमा उल्लेखित कतिपय घटना सत्य नभएको बयान दिए । यथार्थमा लिंकन एनसँग प्रेम गर्थे । दुवै केन्टुकीका थिए । एन विवाहित थिइन् तर उनको लोग्ने जोहन म्याकनमार स्वास्नीलाई अमेरिकामै छाडेर युरोपतर्फ लागे । यसबीच लिंकन र एनबीच प्रेम भयो । दुवैले पत्राचार गरे । एनले लोग्नेबाट सम्बन्धबिच्छेद गरी बिहे गर्छु पनि भनेकी थिइन् तर अनायास सन् १८३५ मा टाइफाइडबाट २२ वर्षकै उमेरमा निधन भयो । एन लिंकनभन्दा चार वर्षले कान्छी थिइन् । एन लिंकनको पहिलो प्रेमिका हुन् । पहिलो भेटको समय लिंकन २० र एन १६ वर्षका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

गृहमन्त्री सिँहदरवारमा, गृह मन्त्रालय बालुवाटारमा ?
मन्त्री अझै ओछ्यानमा
प्रदेशलाई आदेश दिँदै प्रधानमन्त्री
कोरोनाले झन झन पेल्दै