पाँच महिनामा कोरोना खर्च १२ अर्ब

पाँच महिनामा कोरोना खर्च १२ अर्ब

कोभिड–१९ महामारीले पछिल्लो नौ महिनादेखि संसार आक्रान्त छ । नेपालमा चैत पहिलो सातादेखि शुरु गरिएको बन्दाबन्दी र निषेधाज्ञाको बाबजुद संक्रमितको संख्या अस्वाभाविक ढंगले झण्डै एक लाखको हाराहारीमा पुगेको छ । मृत्यु हुनेको संख्या पनि पाँच सय नाघेको छ । सक्रिय संक्रमितको संख्या समेत २१ हजार नाघिसकेको छ ।

यसबीच सरकारले कोरोना रोकथामको लागि गरेको व्यापक पहलमा अरबौं रूपैयाँ खर्चेको बताएको थियो । तर, उक्त रकमप्रति सर्वसाधारण आश्वस्त नभएको सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियाले नै पुष्टि गर्दछ । स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र संक्रमण रोकथामको लागि अग्रभागमा खटिने सबैलाई आकर्षक रकम प्रदान गर्ने घोषणा गरेको सरकारले उक्त रकम हालसम्म पनि उपलब्ध नगराएकोमा उनीहरूले दुःखेसो पोखेका छन् ।

स्रोतका अनुसार सरकारले चैतदेखि साउन मसान्तसम्मको पाँच महिनामा मात्र झण्डै १२ अर्ब रूपैयाँ खर्च गरेको बताएको छ । त्यसमध्ये असार मसान्तसम्म मात्रै ११ अर्ब ८७ करोड रूपैयाँ खर्च भएको थियो । प्रदेश सरकार र स्थानीय निकायले गरेको खर्चमध्ये दोहोरो पर्न गएको रकम नै करिब डेढ अर्ब रहेको उल्लेख छ ।

संघीय सरकारको सञ्चित कोषबाट साउन मसान्तसम्म ५ अर्ब ८४ करोड रूपैयाँ खर्च भएको देखिन्छ । त्यसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयले ६ लाख ५० हजार, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयले १ करोड २९ लाख र कोभिड कोषबाट १ अर्ब ३ करोड रूपैयाँभन्दा बढी खर्च गरिएको थियो ।

त्यसैगरी, औषधी र स्वास्थ्य सामग्री खरिदमा भएको खर्च रकम १ अर्ब ७५ करोडभन्दा बढी, स्वास्थ्य पूर्वाधारमा २ अर्ब ९३ करोडभन्दा बढी, जनशक्ति परिचालनमा पौने ६ करोड, क्वारेण्टिन व्यवस्थापनमा पौने ५ करोड र अन्य शीर्षकमा सवा करोड गरी ४ अर्ब ८१ करोड रूपैयाँभन्दा बढी चैतदेखि साउन मसान्तको पाँच महिनामा खर्च भएको थियो ।

उता, प्रदेशगत रूपमा प्रदेश नं. १ ले अघिल्लो पाँच महिनामा कोरोना रोकथामको निम्ति गरेको खर्च २० करोड ७१ लाखभन्दा बढी, प्रदेश नं. २ ले १७ करोडभन्दा बढी, बागमतीले १३ करोड ६७ लाख, गण्डकीले १८ करोड ५४ लाख, प्रदेश नं. ५ ले १० करोड ५९ लाख, कर्णालीले २६ करोड २६ लाख र सुदूर पश्चिम प्रदेशले ४२ करोड ८८ लाख गरी १ अर्ब ४९ करोड ७० लाख रूपैयाँभन्दा बढी खर्च गरेका छन् ।

सबै स्थानीय तहले गरेको एकमुष्ठ खर्च रकम ६ अर्ब २ करोड ८१ लाख रूपैयाँभन्दा बढी देखिएको छ । यसबीचमा कोभिड–१९ महामारी रोकथामको लागि संघ, प्रदेश र स्थानीय तहले जोहो गरेको स्रोत व्यवस्थापनको कूल रकम १३ अर्ब ३७ करोड ३१ लाख रूपैयाँभन्दा बढी देखिन्छ ।

टिप्पणीहरू