ऐनामा मुख र संसारमा सुख नखोजौं

ऐनामा मुख र संसारमा सुख नखोजौं

घर व्यवहारबाट वाक्कदिक्क भएपछि एक वृद्ध बनबास जाँदा उनीसँग दुईवटा लँगौंटीबाहेक अरू कुनै चीज थिएन । बिहानै नुहाउँदा एउटा लगौंटी लगाउँथे, अर्को सुकाउँथे । दिन यसैगरी चलिरहेको थियो । एकदिन सुकाएको लँगौंटी मुसाले काटेर ध्वस्त बनाएछ । मुसा मार्न नजिकैको गाउँबाट एउटा विरालाको बच्चा ल्याएछन् । बिरालोलाई दूध ख्वाउनु पर्‍यो, अब के गर्ने ? गाउँमा दूध मागेर बिरालोको प्राण धानिरहेका थिए । रातदिन अरूका घरबाट दूध मागेर ल्याउँदा उनलाई दिक्क लाग्यो । सधैं अरूको सित्तै खाँदा भारा लाग्ने ठानेर ती बृद्धले विचार गरे– ‘बरु एउटा गाई किन नपालौं ?’ अब आश्रममा गाईपालन शुरु भयो ।

बृद्धले गाई पालेपछि गाउँलेलाई अर्कै चिन्ताले सतायो– ‘भोलि बृद्ध तपस्वी बिरामी भएको खण्डमा गौमाताको स्याहार कसले गर्छ ? त्यसैले गौमाताको पापको भागी गाउँले हुन मिल्दैन ।’ गाउँलेहरूले ती बृद्धको गाउँकै एक एकल महिलासँग लगनगाँठो कसिदिए । अनि त के थियो र ? केही वर्षपछि बृद्ध सन्यासी आश्रममै लालाबालाको पिता बने । समयक्रममा मरणासन्न अवस्थामा पुगे । गाउँलेहरूले विदा हुने बेला आफूहरूलाई केही दिव्योपदेश दिन आग्रह गर्दा उनले भने– ‘सबैथोक गर्नु बाबु, तर बुढेसकालमा बिरालो झुक्किएर पनि नपाल्नु । त्यही बिरालो पाल्ने रहरले बनबास आएको म पारिवारिक जञ्जालमा फसें ।’ यति भनेर बृद्ध यो लोकबाट विदा भए ।
जीवनको उत्तराद्र्धमा तिनै बृद्धझैं प्रचण्डको निश्कर्ष हुनेछ– ‘अरू कसैले झुक्किएर पनि केपी ओलीको संगत नगर्नु । मैले उनको विश्वास गर्दा खलाँसी अध्यक्ष भएर जीवनको उर्जा रित्याउनु पर्‍यो ।’ सार्वजनिक खपतका लागि जनताको रगत, पसिनाका चर्का भाषण गरे पनि सबैको अन्तिम अभिष्ट सत्ता, शक्ति र द्रव्य नै हो । सारमा नेपालको राजनीतिको गन्तव्य ठाँटबाँटमै पूर्णविराम लागेको छ । दाँती मिलेको घर, घरमा गाडीघोडा, विदेशमा सन्तान, दैनिक दुईचार दर्जन मानिसको ओहोरदोहोर सम्भवतः यो संयोग नै सफलताको अन्तिम कसी हो ।

सबैको अस्तित्व झल्किने सलादजस्तै समाज बनोस् । राजनीति राजनीतिज्ञहरूले मात्र गर्ने साधन बनिदेओस् भन्ने आम मानिसको प्रार्थना छ । अविश्वासको अन्त्य नै सुशासनको प्राप्ति हो । एउटा सपना भाँचिएसँगै अरू अनन्त सपना जोडिन्छन् । जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ । एउटा सपना टुक्रिने, अरू नजोडिने हो भने मानव सभ्यता उहिल्यै डाइनोसर भइसक्ने थियो । सुखद् भविष्यको त्यान्द्रोले मानिसलाई सत्कर्ममा डोर्‍याउने हो ।

महाभारतमा भनिएको छ– ‘सत्य बोल प्रिय बोल, प्रिय छैन भने सत्य पनि नबोल । प्रिय छ भनेर असत्य पनि नबोल ।’ सत्य भनेको इच्छा हो । आग्रह भए ठाउँमा सत्य आउँदैन । आगोले सुनको शुद्धता जाँच्ने क्षमता राखेजस्तै मानिसको कर्मबाट सत्य निःसृत हुन्छ । सत्य भनेको इच्छा हो । आग्रह भएको ठाउँमा सत्य अटाउँदैन । जिब्रोभरि नून लिएर तिहुन चाख्न तम्सिनेहरूको साम्राज्यले सर्वत्र गिजोलिएको अवस्थामा सत्यको आराधना सजिलो नभएपनि असम्भव पक्कै छैन । सत्य मान्छेपिच्छे फरक हुँदैन । पटमूर्खहरू अनुहारमा पोतिएको कालो देख्दैन्, तर रातदिन ऐना पुछिरहन्छन् । तिनै ऐना पुछ्नेहरूको खबरदारी अहिलेको आवश्यकता हो । संसारमा सत्य मात्र त्यो शक्ति हो, जो सधैं संग्रहयोग्य हुन्छ ।

हनुमान आफैंमा धेरै बलशाली थिए । एकपटक त्यही बलको घमण्डका कारण सूर्य निल्ने दुस्साहस गरे । यो खबर देवलोकमा पुगेपछि देवताहरूको अपर्झट आपतकालीन बैठक बस्यो । हनुमानले सूर्य नै निले भने त अनिष्ट निम्तिने भो । देवताहरूको बैठकले हनुमानको घमण्ड निस्तेज गर्ने उपाय निकाल्यो । बैठकको निश्कर्ष थियो– ‘आइन्दा हनुमानलाई कसैले उनको शक्तिका बारेमा सम्झाएपछि मात्र आफ्नो शक्तिको ख्याल हुने अवस्था सृजना गरिदिने ।’ देवताहरूले हनुमानभित्रको विवेकीय ढोका बन्द गरिदिएपछि उनको सामथ्र्य एक प्रकारले निर्देशित बन्न पुगेको थियो । सम्भवतः यो अघोषित श्राप हाम्रा नेताहरूमा पनि परेको छ । जब यो देशमा पञ्चायत थियो, यिनै नेताहरू भन्थे– हातमा नेल ठोकिएका छन् र पो ! पञ्चायत गएर बहुदल आयो । त्यसपछि पनि यिनीहरूको घैंटोमा घाम लागेन । सत्तालाई मापदण्ड बनाएर भुट्भुटिन कहिल्यै छोडेनन् ।
राजनीतिका नाममा कांग्रेस र एमालेको दन्तबजानका कारण केही वर्षभित्रै जुन प्रवृत्तिविरुद्ध तीन दशक आन्दोलन गरिएको थियो, तिनै पञ्चहरू राजनीतिको चुलो चौकामा पु¥याइए । सूर्यबहादुर र लोकेन्द्रबहादुरलाई नेता मानेर कांग्रेस, एमाले लाचारीपूर्वक सरकारमा गए । एकातिर यस्तो दृश्य देखिन थाल्यो भने अर्कातिर नेपाली राजनीतिका भीष्म पितामह मानिने गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीहरू तासको जोक्कर जस्तो फाल्टो हुँदै गए । नवप्रवेशी चैतेहरूको पार्टीमा हालीमुहाली बढ्न थाल्यो । यी सवै दृश्य हेरिरहेको माओवादीले जातीय, क्षेत्रीय, शोषण, दमनको मुद्दा उठाएर वितण्डाको विष घोलिदियो । त्यो वितण्डालाई ठीक ठाउँमा ल्याउने नैतिक सामथ्र्य सरकारमा रहेन । आखिर ठट्टाठट्टैमा आतंकको ज्वालाले देश तहसनहस् भयो । विधिमा चल्नुपर्ने सिंहदरवार त सच्चिएन भने आतंकलाई हतियार बनाउनेहरूबाट विवेकी निर्णयको अपेक्षा गर्नु आपैंmमा सुल्टो कर्म नहुने पक्का थियो । हजारौंको बलिदानपछि देशले अनपेक्षित युटर्न ग¥यो । त्यसपछिको राजनीतिक कोर्सले राजाका कारण देश उँभो नलागेको निष्कर्ष निकाल्यो । जनताले पनि हो मा हो मिलाइदिए । राजा फालिए । गणतन्त्र आयो । तर यो व्यवस्थाले राजनीति यसरी गिजोलियो कि टाउको र फेद नै नचिनिने अवस्था आयो । यतिले पनि नपुगेपछि देशलाई संघीयताको सुरुङमा लगेर विकासका नाममा हजारौं ठूला मानिस जन्माइएको छ । ती ठूला मानिसको व्यवस्थापन फलामको चिउरा बन्दै गएको छ ।

जेल बसेको एउटा कैदीलाई सिर्कनो र खुर्सानीमध्ये एक रोज्न लगाइएछ । खुर्सानीले राल सिंगान भएपछि ऊ भन्दो रहेछ, योभन्दा त सिर्कनो बेस । अनि सिर्कनोले पाँसुलामा छरछरी रगत आएर पोल्न थालेपछि उसलाई फेरि लाग्दोरहेछ, यो भन्दा त खुर्सानी जाति । नेपाल कम्युनिष्ट पार्टी र कांग्रेसको रोजाइ पनि त्यही म्युजिकल चियर खेलको कहालीलाग्दो अध्याय हो ।

टिप्पणीहरू