प्रेसजगत् संक्रमणकालीन अवस्थामा छ : सभामुख सापकोटा

प्रेसजगत् संक्रमणकालीन अवस्थामा छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले प्रेसजगत् संक्रमणकालीन अवस्थामा रहेकाले समस्या देखिएको बताउनुभएको छ । उहाँ आज प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो । उहाँले समस्या औँल्याउदै गर्दा समाधानका लागि पहलकदमी लिने वचन दिदै आफू प्रेसका मुद्धामा सकारात्मक रहेको बताउनुभयो ।

सोही समारोहमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्वायत्तताका पक्षमा उभिदाँ र गल्ती कमजोरी औँल्याइदिँदा काउन्सिलमाथि प्रहार भएको बताउनुभयो । उहाँले पटकपटक काउन्सिलको स्वायतत्ता खोस्न खोजिएको भन्दै त्यस्ता कदमका विरूद्ध न्यायालय गुहार्नुपरेको तीतो यथार्थ राख्नुका अलावा सरकारले जोखिमपूर्ण अवस्थामा दायित्व निर्वाह गरिरहेको काउन्सिलको बजेट कटौती,पुरस्कार वितरण रोक्का र बोर्ड बैठक तथा वार्षिकोत्सव कार्यक्रममा तालुकदार सम्पर्क मन्त्रालयका पदाधिकारीलाई सहभागी हुन नदिइएकोमा आपत्ति जनाउनुभयो । राज्यका तीनवटा अङ्गलाई खबरदारी गर्ने चौथोे अङ्गलाई अङ्गभङ्ग गराउँदै हिँड्न नहुने धारणा उहाँको थियो ।

संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखेर कानुनमार्फत् चाहिँ कस्न खोजिएको भन्दै श्रेष्ठले संविधान उदार र कानुन कडा गर्दा समस्या भएको बताउनुभयो । ‘यदि हामी यति कञ्जुस हुन्थ्यौँ भने संविधानमा किन पूर्ण प्रेस स्वतन्त्रता भन्ने वाक्य राखेको रु’ अध्यक्ष श्रेष्ठले सभामुख अग्नि सापकोटासँग जिज्ञासा राख्नुभयो ।

सरकारले हरेक वर्ष वैशाख २५ गतेका दिन १० जना पत्रकारलाई राष्ट्रिय र वरिष्ठ पत्रकारिता पुरस्कार वितरण गर्दै आएकोमा कोरोनाको कारण देखाउँदै यसवर्ष रोकिएको तर अन्य क्षेत्रको हकमा भने उत्कृष्ट पेशागत पुरस्कार र पदकमा दोहोरो मापदण्ड देखाइएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिमा प्रेस काउन्सिलका अध्यक्ष र पत्रकार महासङका अध्यक्षसमेत सदस्य रहने व्यवस्था छ ।

कोरोनाका कारण पत्रपत्रिका प्रकाशन बन्द भएको र सञ्चारमाध्यम धरासायी भएको बेला काउन्सिलले वर्गीकरण टुंग्याएर नतिजा तयार पारेपनि सरकारले रोकेका कारण यसपटक नतिजा सार्वजनिक गर्न नसकिएको जानकारी समेत दिनुभयो । प्रेस काउन्सिल नेपालका सदस्य एवं नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले सरोकारवालाको राय,परामर्शबिना मिडिया काउन्सिललगायत विधेयकहरु ल्याउँदा विवाद उठेको बताउनुभयो । उहाँले लोकतन्त्रमा जसको लागि कानुन बनाउन खोजिएको हो, त्यसमा सरोकारवालाको सहभागिता अनिवार्य हुनुपर्ने उल्लेख गर्नुभयो ।

५१ औं वार्षिकोत्सवको दोस्रो चरणको महासंघ सभाहलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले भन्नुभयो, ‘लोकतान्त्रिक मुलुकमा सरकारले काउन्सिल चलाउँदैन, नेतृत्व हटाउँदैन, हस्तक्षेप एवं नियन्त्रण पनि गर्दैन । काउन्सिलले आचारसंहिता नियमन गर्ने हो । मन्त्रालयमातहत शाखा बनाउन खोजे हामीलाई स्वीकार्य हुँदैन, त्यस्तो काउन्सिलमा पत्रकारको सहभागिता रहन्न ।’

पछिल्लोपटक पत्रपत्रिका वर्गीकरण सम्परीक्षण समितिका अध्यक्ष, सूचना विभागका महानिर्देशक वर्गीकरण बैठकमा सहभागी नहुनु र वर्गीकरणसम्बन्धी काम नगर्नु भन्ने आदेशले काउन्सिलको स्वायत्तता र प्रेसमाथि हस्तक्षेप प्रष्ट देखिएको भन्दै आचार्यले काउन्सिलमार्फत मिडियालाई नियन्त्रण खोजेकोमा महासंघको तर्फबाट आपत्ति प्रकट गर्नुभयो । बिहान ११ बजे पहिलो चरणमा वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण कार्यक्रमअन्तर्गत शीतलनिवासमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार र प्रेस काउन्सिल आचारसंहिता पुरस्कार वितरण भएको थियो ।

टिप्पणीहरू