भोलि पाँचसय जनालाई तक्मा

भोलि पाँचसय जनालाई तक्मा

बिहिबार बेलुकीको क्याबिनेट बैठकले भोलि संविधान दिवसको उपलक्ष्यमा प्रदान गरिने पदक तथा अलङ्कारसम्बन्धी निर्णय गरेको छ ।

स्रोतका अनुसार सबै दृष्टिकोणले विषम परिस्थिति देखिएको यो वर्षपनि गृह मन्त्रालयको सिफारिश र प्रधानमन्त्रीको अनुमोदनमा पाँच सयको हाराहारीमा पदक तथा अलङ्कार वितरण गर्ने योजना बनेको हो ।

यसपटक सबैभन्दा धेरै पदक स्वास्थ्यकर्मीहरूलाई पदक प्रदान गर्न लागिएको स्रोतको दाबी छ । चिकित्सकहरूमध्ये वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतलाई र हालै अवकाश भएका अख्तियार प्रमुख नवीन घिमिरेलाई पनि ठूलै पदक दिने निर्णय छ ।

उता, दाङमा ड्रागन फ्रुट खेती गर्दै आएका माओवादीबाट असन्तुष्ट पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्टलाई पनि पदक दिने निर्णय गरिएको छ । सर्वोच्चका न्यायाधीश दिपक कार्की, उच्च अदालतका किशोर सिल्वाललाई पनि पदकको निर्णय गरिएको बताइएको छ । वैशाखमा कोरोनाको कारण देखाउँदै दस जना पत्रकारलाई पुरस्कार वितरण गर्न सरकारले नै रोक लगाएको थियो ।

गत वर्ष मर्यादा नरहने गरी धेरैजनालाई पदक बाँडिएको आरोप लागेपछि सरकारले यस वर्षबाट दुई सयमा सीमित गर्ने बताएको थियो । तर, यो वर्ष कोरोना महामारी र लकडाउनबाट उत्पन्न विषम परिस्थितिमा समेत फेरि पाँच सय भन्दा धेरैलाई नै पदक दिने निर्णय गरेको हो ।

टिप्पणीहरू