बालुवाटारमा युवराज र लालशंकर सँगसँगै

बालुवाटारमा युवराज र लालशंकर सँगसँगै

सरकारले अर्थमन्त्रीबाट राजीनामा दिएका युवराज खतिवडालाई हिजोदेखि प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । खतिवडाबाहेक अरु कसैलाई अर्थतन्त्रको बारेमा ज्ञान नभएको अर्थ लाग्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले बिछट्टै मन पराएपछि बालुवाटारको किचेन क्याबिनेट पनि झस्किएको छ ।

यता, मन्त्रीसरहको सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकार बनाइएको भनिएको छ । तर, पनि खतिवडाले मन्त्रीको शान, झण्डा र डण्डा (अधिकार) भने गुमाइसकेका छन् । पछिल्लो छ महिना दुईवटा प्रभावशाली मन्त्रालय चलाउने अवसर पाएका थिए । साथै सरकारको प्रवक्ता भएरसमेत काम गरेका उनी अहिले पूर्वसचिव लालशंकर घिमिरेको हैसियतमा सीमित भएका छन् ।

घिमिरे तिनै पूर्व अर्थसचिव ९राजश्व० हुन् जो खतिवडा मन्त्री हुँदा गत वर्षसम्म अर्थ मन्त्रालयमा थिए । आफ्नै जोडबलमा पश्चिमाहरूको योजनालाई सहयोग पुर्याउन घिमिरेलाई बालुवाटारको आर्थिक तथा विकास सल्लाहकारमा नियुक्त गराउन उनैले प्रमुख भूमिका खेलेका थिए । ‘घुम्दै फिर्दै रुम्जाटार’ भनेझैँ अहिले खतिवडा आफैँ घिमिरेसँगैको पल्लो कोठामा बस्न पुगेका छन् ।

हुन तः मर्यादा र हैसियत खतिवडाले अरुलाई सिकाउने पाठ र दिने अर्तिमा मात्र सीमित छ । उनी आफूलाई परेको बखत ती सबै मर्यादा र हैसियतलाई विभिन्न अर्थमा धोती लगाइदिन माहिर छन् भनिन्छ । विगतमा राज्यमन्त्रीसरहको योजना आयोग उपाध्यक्षबाट मुख्य सचिवभन्दा तलको मर्यादाक्रममा रहेको राष्ट्र बैंकको गभर्नरमा ‘ग्ल्यामर’ भन्दै हाम्फालेका थिए ।

पछि, फेरि योजना आयोगको उपाध्यक्षको अवसर हात पार्दा उनैको चाहनाबमोजिम पहिलो चोटी प्रधानमन्त्री बन्दा केपी शर्मा ओलीले मन्त्रीको हैसियत दिनुभयो । तर, अहिले विधि, प्रक्रिया र सिद्धान्तलाई तिलाञ्जली दिएर व्यक्तिको सेवामा रमाएका खतिवडा आफू मातहतको पूर्व सचिवसँगै सल्लाहकार भएर बस्नुपर्दा दङ्ग पर्नुभएको छ ।

खतिवडा एकपटक योजना आयोगको सदस्य, दुईपटक उपाध्यक्ष, एकपटक राष्ट्र बैंकको गभर्नर र अढाई वर्ष अर्थमन्त्रीको जिम्मेवारीमा रहिसकेका छन् ।

टिप्पणीहरू