अख्तियारले टुङ्ग्याएन गोकुलको फाइल

अख्तियारले टुङ्ग्याएन गोकुलको फाइल

कार्यकाल सकिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेको भोलि आइतबार बिदाई कार्यक्रम राखिएको छ । कोरोना भाइरस सङ्क्रमण देखिएपछि उनी तीन हप्ता लामो होम आइसोलेशनमा बसेका थिए ।

पछिल्लो टेष्ट नेगेटिभ आएपछि आइतबारदेखि कार्यालयमा हाजिर भएका हुन् । शुक्रबार उनको प्रमुख आयुक्तको रूपमा अन्तिम कार्य दिन रह्याे।

बिहीबार आयोग बैठक बसेपनि पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको ७० करोड कमिशन मोलमोलाईको एजेण्डा नै नरहेको स्रोतले बताएको छ । बाँस्कोटालाई आरोप लगाउने विजय मिश्र पनि आजसम्म जापानबाट आइपुगेका छैनन् ।

स्रोतका अनुसार आयोगको प्रक्रियाअनुसार मिश्रसँग प्रत्यक्षरूपमा भेटेर बयान लिनको लागि पटक पटक प्रयास गर्नुपर्ने हुन्छ । त्यसपछि कमिशन मोलमोलाईको अडियो टेपको आधिकारिकतासमेत पुष्टि गर्न बाँकी छ ।

नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिदको विषयमा अनुसन्धान थालेको आयोगले फ्रान्सस्थित एअरबस कम्पनीसँग आवश्यक विवरण माग गरेको बुझिएको छ ।

उक्त आरोपका अनुसन्धान अधिकृत पनि हालै फेरिएका छन् । एसपी प्रवीण पोखरेल सरुवा भएपछि बाँस्कोटाको आरोपको फाइलको पोको डिएसपी सञ्जिवबाबु खड्कालाई जिम्मा लगाइएको हो । प्रवीणको ठाउँमा नयाँ अधिकृत तोकिन बाँकी नै छ ।यी सबै घटनाक्रमले उक्त आरोपको छिनोफानो हुन अझै केही समय लाग्ने देखिएको छ ।

आयल निगमको जग्गा खरिदमा अनियमितता भएको भन्ने उजुरीको फाईल आयोगले तीन महिना पहिले नै तामेलीमा राखेको थियो । आयोग स्रोतका अनुसार जग्गा खरिदको प्रक्रिया कानुनसम्मत देखिएकाले तामेलीमा राख्ने निर्णय भएको हो ।

उता, नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिदको विषयमा अनुसन्धान थालेको आयोगले फ्रान्सस्थित एअरबस कम्पनीसँग आवश्यक विवरण माग गरेको बुझिएको छ । निगमले खरिद गरेको जहाजको मूल्य सोधनी गर्दै एक महिनाअघि पत्र पठाएपनि हालसम्म जवाफ भने आएको छैन ।

टिप्पणीहरू