ज्वाइँको पीएचडी छताछुल्ल

ज्वाइँको पीएचडी छताछुल्ल

हालै राजीनामा दिएका अर्थमन्त्री युवराज खतिवडा मात्र पीएचडी होल्डर होइनन् ।  छोरी ज्वाईं पनि बेलायत उत्पादित डक्टर हुन् । खास विषयमा पीएचडी गरेका स्वःघोषित् विद्धानहरूले अरुसँग सल्लाह नगरी कलम धस्काउँदा कसरी स्खलित हुन्छन् भन्ने उदाहरण तिनै मन्त्रीका ज्वाईं रामशरण खरेल तीन वर्षअघि बिराटनगरमा बनेका थिए ।

सरकारी औपचारिक पत्राचार त्यसमा पनि जिल्ला अदालत, मोरङ्गले नेपाल राष्ट्र बैंक, बिराटनगरलाई लेखेको ‘अति जरुरी तथा गोप्य पत्र’ लाई उनले हलुका ढङ्गले लिँदै केरमेट गरिदिएका थिए । सोही कारण प्रहरीको खोरमा पर्नबाट बालबाल बचे ।

स्रोतका अनुसार अढाई वर्ष पहिले जिल्ला प्रहरी कार्यालय,मोरङ्गले पाँच सय र दुई हजार दरका झण्डै चार लाख भारतीय अवैध रूपैयाँ बोकेर हिँडेको आरोपमा एकजना भारतीय नागरिकलाई पक्राउ गर्यो र भोलिपल्ट निजलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत,मोरङ्गमा पेश गर्यो ।

अदालती प्रक्रिया नसकिउञ्जेल बरामद भारतीय रूपैयाँ सुुरक्षित तवरले ढुकुटीमा राखिदिन अदालतका स्रेस्तेदारले राष्ट्र बैंक,बिराटनगर कार्यालयलाई पत्र लेखे । बैंकका मेनेजरले पनि बैंकिङ्ग फाँटसमेत हेर्ने उपनिर्देशक खरेललाई ‘आवश्यक कार्यार्थ’ भनेर तोक लगाइदिए । अदालतका कार्यालय सहयोगी तोक लगाएको पत्र बोकेर बैंकको पहिलो तलाको पश्चिमपट्टी अनुसन्धान फाँटमा रहेको खरेलको कोठामा पुगे ।

‘काग बाठो भएपछि के खान्छ’ भनेझैं मौद्रिक विषयमा पीएचडी गरेर गफ हानेको बाहेक अरु प्रशासनिक र व्यवहारिक अनुभव नभएका खरेलले अदालतका बिचरो कार्यालय सहयोगीलाई उभ्याएरै गाली गरे । त्यत्तिले नपुगेर चिठीको व्यहोरा नमिलेको भन्दै चर्को स्वरमा पुनः पत्र लेखी पठाउन बैंकका हाकिमले तोक लगाएको अदालतको पत्रमा स्वाईं स्वाईं रातो मसीको पाइलट पेनले सच्चाएर उनै सहयोगी हस्ते फिर्ता गरिदिए ।

बैंकका उपनिर्देशक त्यसमाथि पीएचडी होल्डरको अल्पज्ञान,प्रशासनिक र कानुनी ज्ञानको हालत देखेर उता अदालतका स्रेस्तेदारलाई पनि कहिल्यै नछुटेको पारा छुट्यो । उनले पत्र सच्याउनु त कता हो कता उल्टै ‘अदालतको महत्वपूर्ण र गोप्य पत्रमा अनधिकृत तवरले रेजा लगाउँदै रातो मसिले सच्चाउने अधिकार खरेललाई नभएकाले सरकारी कागजमा केरमेट गरेको’ अभियोगमा ‘आवश्यक कारबाही गरी जानकारी गराउन’ बैंकको बिराटनगर कार्यालयलाई अर्को पत्र काटिदिए ।

सरकारी पत्राचार त्यसमा पनि मुद्दासँग जोडिएको अदालती पत्रमा केरमेट गर्ने हैसियत कहाँबाट पाउनुभयो, मिस्टर ?’

कुरो अवैध भारतीय रूपैयाँ बोकेको आरोपमा पक्राउ परेको एकजना भारतीय नागरिकको मुद्दासँग सम्बन्धित थियो । तर, पछिल्लो पत्रले पीचडी होल्डरको क्षमता र हैसियतलाई अदालत र बैंकको बिराटनगर कार्यालयमा निमेषभरमा उदाङ्गो पारिदियो ।

‘खरेललाई कारबाही गरी जानकारी गराउन’ लेखिएको दोस्रो पत्र बैंकमा पुगेपछि सर्वत्र खैलाबैला मच्चियो । आफ्नै उपनिर्देशकको कारण संस्थाको बेइज्जत हुने डरले बैंकका केही कर्मचारी विभिन्न ठाउँमा अनुनय र विनय गर्न थाले । ठूलै ठाउँबाट फोन गएपछि अदालत प्रशासनले कारबाहीको पत्र बोकेर तत्काल उपस्थित हुन खरेललाई मौखिक निर्देशन दियो ।

त्यसपछि खरेल आत्तिँदै जिल्ला अदालत पुगे । कुर्सीमा नबस्दै ‘सरकारी पत्राचार त्यसमा पनि मुद्दासँग जोडिएको अदालती पत्रमा केरमेट गर्ने हैसियत कहाँबाट पाउनुभयो, मिस्टर ?’ स्रेस्तेदारले जङ्गिएर प्रश्न राख्नेबित्तिकै उनी हडबडाएको स्रोतले बताएको छ । उनले त्यसबखत हात जोड्दै ‘गल्ती भयो’ भन्ने वाक्य मात्र पटक पटक दोहोर्याएका थिए ।

तर, स्रेस्तेदार उनको गल्तीलाई माफ दिने पक्षमा देखिएनन् र भने ‘तपाईंलाई सरकारी कागजपत्र केरमेट गरेको आरोपमा कारबाही गर्नुको विकल्प छैन । हामी प्रहरीलाई बुझाउँछौं ।’ ‘अदालत प्रशासनको उक्त चेतावनीपछि रन्थनिएका खरेल सम्भवतः शौचालय जान पनि भ्याएनन् जस्तो देखिन्थे ।’ घटनालाई प्रत्यक्ष नियालेका अदालतका एकजना कर्मचारी भन्छन् ‘त्यसपछि उहाँ अदालतको हाताभित्रैको शौचालयमा दौडिएर जानुभयो ।’

अन्तमा, बैंकका केही कर्मचारीले गरेको निरन्तरको हारगुहारबाट आफ्ना उपनिर्देशकको इज्जत बचाइदिन अनुरोध गरेपछि साँझमा खरेल अदालतबाट मौखिक चेतावनी बोकेर बाहिरिएका थिए । तर, अरुले त्यत्ति धेरै सहयोग गरेपनि उनले बैंकमा फर्केर धन्यवाद व्यक्त गर्न आवश्यक ठानेनन् । उल्टै केही पनि नभएको शैलीमा भने ‘अदालतका मान्छेले कुरै बुझ्दैनन् । पछि मेरो कुरामा बल्ल बल्ल सहमत भए ।’

खतिवडा अर्थमन्त्री बन्नुअघि खरेल बैंकको बिराटनगर कार्यालयमा उपनिर्देशक थिए । मन्त्री बनेकै दिन अर्थले काजमा बोलाएपछि उनी हुरदुराउँदै सिंहदरबार आइपुगे । पदीय हैसियत नपुगे पनि खतिवडाले ज्वाईंलाई अघोषित सल्लाहकार बनाएर राखे ।

अढाइ दशकअघि प्राविधिक कारणले विश्वविद्यालय टपर बनेपछि खरेल सोझै बैंकको अधिकृतमा छिर्ने थोरै भाग्यमानी मध्येका एक बनेका हुन् । त्यसपछि बैंकको अनुसन्धान विभागमा रहेका खरेलले सोही विभागका तत्कालीन कायम मुकायम आर्थिक सल्लाहकार खतिवडाले कन्यादान गरेर छोरी सुम्पेपछि बैंकमा हाजिर गर्न बाहेक कहिल्यै कलम चोप्न परेको छैन ।

‘अहिले विद्युतीय हाजिरी भएकाले त्यहि कलम पनि निकाल्न पर्दैन’ अनुसन्धान विभागका एकजना निर्देशक भन्छन् ‘उनी रेडियो र टेलिभिजनका समाचार वाचकभन्दा बढी मुख चलाउँछन्,हात त त्यस्तै हो’ ।

अढाइ दशकको अवधिमा उनले दुई वटा बढुवा र बैंक प्रवेश सबै लिखित परीक्षाको सामना नै नगरी हात पारेका हुन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्यालय,वासिङ्गटनमा दुई वर्षे काजमा पनि कनिष्ठ उपनिर्देशक हुँदाहुँदै ससुराले गभर्नरको तजबिजीमा पठाइदिएका थिए । बेलायतमा पीएचडी लण्डन निवासी खतिवडाकै बालसखा प्राध्यापकको विशेष सहयोगमा गरिएको बताइन्छ । जबकि पढाइको सबै खर्च झण्डै ४५ लाख रूपैयाँ नेपाल राष्ट्र बैंकले ब्यहोरेको थियो ।

टिप्पणीहरू