पुरानो इगो नेकपामा प्रकट

पुरानो इगो नेकपामा प्रकट

दुई पार्टी मिल्यो, मन मिलेन । झन् बढी कटमरियो कटुता । जनयुद्धकालमा माओवादी र एमालेबीच त्यति राम्रो सम्बन्ध थिएन । माओवादी एमालेलाई नवसंशोधनवादी र दक्षिणपन्थी अवसरवादी भन्थ्यो । एमाले माओवादीलाई आतंकवादी, अतिवादी वा उग्रवादी मान्थ्यो । एमालेका कतिपय नेता–कार्यकर्ता सुराकीको आरोपमा जनकारबाहीमा पर्दा कतिपय माओवादी नेता–कार्यकर्ता एमालेको सुराकीमा मारिएका वा पक्राउ परेका थिए । एमाले सरकारमा भएका बेला माओवादीमाथि सैन्य दमन गरिएको थियो । यसबाट दुवै पक्षका धेरैको जीवन बर्बाद भयो । त्यसले एकअर्काप्रति घृणाभाव र असहिष्णुता बढायो ।

नेपाल र ओलीको गठबन्धन बन्दा वामदेव गौतमले पार्टी फोडेकै हुन् । १५ वर्षसम्म महासचिव बनेका नेपाल नेतृत्वको एमालेले २०६४ को संविधानसभा चुनावमा लज्जाजनक हार व्यहोरी महासचिवबाट दिएको राजीनामापछि बल्ल झलनाथ खनाल र केपी ओलीको अध्यक्ष बन्ने पालो आएको हो । १५ वर्ष पार्टीको मुखिया बने पनि नेपाललाई प्रधानमन्त्री बन्न गणतन्त्रै आउनुपरेको थियो ।

अहिले ओली पार्टी र सरकार सबैतिर नेपाल–खनालपक्षलाई कुनै हालतमा उभिन नदिने दर्बिलो मनोविज्ञानमा देखिन्छन् । पार्टीमा जिम्मेवारी, चुनावमा टिकट, सरकारमा सहभागिता वा विभिन्न नियुक्तिका अवसरमा, कतै पनि ओलीले आफूइतरकालाई सितिमिति छिर्न दिएका छैनन् । बरु कतै झुक्किएर अर्को पक्षका मानिस नियुक्तिमा परेका रहेछन् भने पनि त्यसलाई गोडमेल गरेर हटाउन कानुन तोडमरोड गरी ह्याकुलाले ठेल्ने प्रयास गरेका छन् । पछिल्लो समय प्रेस काउन्सिलमा कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठलाई हटाएर आफ्नो गुणगान गाउनेलाई गरिएको नियुक्तिले छर्लंग बनाएको छ । पछि त्यो नियुक्तिलाई अदालतले खारेज गरिदिएको थियो । ओली र नेपालबीच इगोको लडाइँ चर्किंदा बीचमा परेका छन्–पूर्वमाओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड ।

ओलीसँगको सहमतिपछि चुनावी गठकन्धन र पार्टी एकता भयो, त्यसमा अन्य पक्ष लतारिन बाध्य भयो । प्रचण्डले पार्टी एकता सकेर मात्रै सरकार बनाऊँ भन्दा ओली मानिरहेका थिएनन् । भयो पनि यस्तै । पार्टी एकतालाई तपशिलमा राखेर उनी सरकारको नेतृत्व लिन सफल भए ।

तीन महिनापछि मदन भण्डारी स्मृति दिवसमा पार्टी एकताको घोषणा भयो । अध्यक्ष भए दुईजना, प्रचण्ड र ओली । माधवको असन्तुष्टि कायमै थियो । पार्टी एकतामा चालिस/साठीको कुरा टुंगिएपछि नेपालपक्ष आफ्ना मानिसलाई सबैतिर सम्मानजनक भागबण्डाको लडाइँमा केन्द्रित भयो । ओली त्यसको विपरित नेपाल पक्षलाई बढार्ने अभियानमा लागे । मुख्यमन्त्री बनाउँदा बागमती प्रदेशतिर अष्टलक्ष्मीको सट्टामा डोरमणिलाई हुलियो, १ नम्बरमा भीम आचार्यको ठाउँमा शेरधन राईलाई हुलियो, काठमाडौं उपत्यकामा तनाव भयो । नेकपाको एकतामा व्यवधान उत्पन्न भयो । पटक–पटक नयाँ निर्देशिका बनाउनुपर्ने अवस्था आयो । अद्यापि, एकताका बाँकी काम पूरा गर्न विधान र निर्देशिका अधुरो सिद्ध भइरहेका छन् ।

त्यसबीच प्रचण्ड र ओलीमा फाटो ल्याउने थुप्रै घटनाक्रम सक्रिए भए÷बनाइए । त्यो सफल पनि भयो । किनकि ओलीका वरिपरि यस्ता संकीर्ण, रुढीवादी, रुढ, मूर्ख र सन्कीहरूको घेराबन्दी रहेछ कि तिनीहरूको प्रस्तुति र अभिव्यक्ति प्रचण्ड र ओलीबीचको सम्बन्ध बिगार्न सहयोगी भयो । यसले स्वाभाविक रूपमा प्रचण्डको नजिक नेपाल भए । राजनीतिक कोर्ष नै फरक ढंगले अघि बढ्यो ।

आधा–आधा कार्यकाल पार्टी र सरकार चलाउने दुई अध्यक्षबीच पार्टी एकताको सहमति भएको थियो । त्यसको बेलै नभई कसैले प्रचण्डलाई त्यसबारे बोल्न लगायो । प्रचण्ड त्यसमा फसे । उनलाई सत्ताबाट बाहिर बस्नै नसक्ने, धैर्य गर्न नसक्ने, लालचीको रूपमा प्रस्तुत हुने गतिविधि गर्न प्रेरित गरियो । त्यो बुझेपछि २०७६ मंसिर ४ गते प्रचण्डले ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री चलाऊ भनेर छाडिदिए । पार्टीमा देखापरेको विवाद मिलाउन र एकता सम्पन्न गर्न उनले यसो गरेका थिए ।

तर, त्यसपछि पनि पार्टीमा ओलीले हस्तक्षेप गर्ने तर सरकार सञ्चालनमा प्रचण्डसँग कुनै राय नलिने गर्न थाले । यसैबीच ओली सरकार अमेरिकी प्रोजेक्ट एमसिसीको मतियार बन्यो । ओली सरकार जसरी पनि नेपालमा एमसिसि कार्यान्वयन गर्ने, त्यसको लागि सदनबाट पास गर्ने कुरामा अडियो । सभामुख कृष्णबहादुर महराले नमान्दा ओलीले उनको सभामुख पदै चैट बनाइदिए । माओवादीको भागमा परेको सभामुख पदमा कहिले उपसभामुख तुम्वाहाम्फेलाई उचालेर त कहिले सुवास नेम्वाङलाई अघि सारेर बखेडा गरे । केन्द्रीय समितिले सर्वसम्मत गरेको निर्णयलाई मानेनन् । कार्यकारी अध्यक्ष प्रचण्डलाई अपमान गरे । सरकारका मन्त्रीहरूको कार्यशैली र बोलीको सामाजिक सन्जालमा मजाक र ट्रोल बन्न थाले । भ्रष्टाचारको पहाड बन्यो, कुशासनले देश अकर्मण्यतामा फस्यो । त्यसको चौतर्फी विरोध भयो । सरकारले राम्रो मात्रै गरेको निर्लज्ज कुतर्क गरिरह्यो ।

यसले प्रचण्डलाई नेपालनजिक पु¥याइदियो । ओलीको निकम्मापन, संकीर्णता, तानाशाही र चटकेवाजीको बिकल्प नखोजे अब समस्या झनै बढ्ने निश्कर्ष निकालियोे । प्रचण्डलाई कमाण्डर बनाएर नेपाल, खनाल र गौतम हुटिङ गर्न थाले । चुनाव हारेका बामदेव अहिल्यै प्रधानमन्त्री बन्ने सपना देख्न थाले । त्यसमा उनले प्रचण्डलाई प्रयोग गर्न सफल भएपनि आफ्नो मिशनमा सफल भएनन् ।

यसबीच पार्टीको विधान, प्रतिवेदन, विचार, विधि, पद्धतिका सबै सीमारेखा पार भए । प्रधानमन्त्री ओलीले पार्टीका कुनै निर्णय नमान्ने, आफूप्रतिकूल निर्णय गरे देखाइदिने धम्की दिइरहे । कोरोनाको माहामारीबीच उनले आफ्नो बचावटमा देशैभरि नाराजुलुस गर्न लगाए । अर्को दलका सांसदलाई अपहरण गर्न भूपू आइजिपिलाई प्रयोग गरे । पार्टी फुटाउन सजिलो हुने अध्यादेश ल्याए । तर उनको गलत कार्यशैलीका कारण असफल भए । प्रचण्डलाई शीतलनिवास बोलाई प्रधानमन्त्री खानेभए जबज मान्छु भन भनेर अपराधी शैलीमा ब्ल्याकमेलिङ गरे । केही कनिष्ठ पात्रहरू प्रयोग गरेर प्रचण्ड, माओवादी नेता र जनयुद्धविरुद्ध मिडियामा कराउन लगाए, अझै कराउँदैछन् । यसरी राजनीतिक पृष्ठभागलाई देखाएर वर्तमान एकतालाई भाँड्न ओलीले मान्छे र मिडिया परिचालन गरेका छन् । सत्ता र सरकारको दुरुपयोग गरेका छन् । आफ्नो जयजयकार नगर्नेलाई ठीक पार्ने नीति लिएका छन् ।

सबैलाई समन्वय गरेर पार्टीमा सर्वमान्य र सर्वस्वीकार्य नेता बन्ने कोसिस गर्दागर्दै प्रचण्ड अनिर्णयको बन्दी बनिरहेका छन् । जनताको सपना पूरा गर्न एकीकृत पार्टी र बहुमतको सरकार बाध्य छ । भाग्ने छुट छैन । घनीभूत विवाद र रस्साकस्सीबीच मजबुत एकता हासिल हुनुपर्छ । सही विचार र कार्यदिशा पहिल्याउन अबको बहस केन्द्रित गर्न सक्नुपर्छ । नेतृत्व र सबै पार्टी सदस्य त्यसका लागि हरेक ढंगले तयार हुन आवश्यक छ । हिजोको इगो पार्टी एकताको बाधक बन्नु हुँदैन ।

टिप्पणीहरू