सशस्त्रमा कोरोना संक्रमित आठ सय

सशस्त्रमा कोरोना संक्रमित आठ सय

सशस्त्र प्रहरी बल नेपालमा कोरोना संक्रमितहरूको संख्या आठ सय पुगेको छ । स्रोतका अनुसार कोरोना फैलिएका जिल्लाको फ्रन्टलाइन र तराईका बोर्डर अब्जरभेसन पोष्ट (बीओपी) मा खटिएका अधिकांश सशस्त्र प्रहरी संक्रमित भएका हुन् ।

सरकारले फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आकर्षक भत्ता प्रदान गर्ने बताएपनि अहिलेसम्म उक्त रकम निकाशा गरेको छैन । सशस्त्र र नेपाल प्रहरीको मुख्यालयले गृह मन्त्रालयमार्फत् र सेनाले रक्षा मन्त्रालयमार्फत् थपिएको भत्ता रकम निकाशाको लागि धेरै पटक पत्राचार गरेपनि काम बनेको छैन ।

थपिएको भत्ता नपाउँदा र कर्तव्य पालनाको क्रममा संक्रमित हुनुपर्दा आफूहरूलाई दुःख लागेको पीडितहरूले बताएका छन् । सरकारको घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले महामारीमा दिलोज्यान दिएर खटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई निराश बनाउँदै लगेको छ । सशस्त्रको बलम्बुस्थित कोरोना डेडिकेटेड अस्पतालको १ सय ३० वटा बेड केही महिनादेखि भरिभराउ छ ।

अस्पताल स्रोतका अनुसार ‘निको भएर घर जानेले डिस्चार्जको तयारी गर्न नभ्याँउदै अर्को बिरामी आइसक्छ’ । उक्त अस्पतालमा बर्दिधारीभन्दा तीन जना पत्रकार र सर्वसाधारण बिरामी नै धेरै भर्ना भएका छन् । तीन जनाभन्दा बढी सञ्चारकर्मीको समेत त्यहिँ उपचार भएको स्रोतले बताएको छ । सयौं संक्रमितको उपचारमा अस्पतालका २७ जना चिकित्सक महिनौँदेखि अहोरात्र खटिएका छन् ।

स्रोतका अनुसार चिकित्सकहरूमध्ये पनि जनरल फिजिसियन र एनेस्थिसियोलोजिष्ट चौबिसै घण्टा व्यस्त हुन्छन् । विषय विज्ञ चिकित्सकलाई भने बिरामीको अवस्था र आवश्यकताअनुसार बोलाउने गरिएको छ । संक्रमितको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

आईसीयुमा राखिएका बिरामीको लागि प्रतिदिन पाँच हजार रूपैयाँभन्दा बढी र साधारण बेडमा भर्ना गरिएका बिरामीको हकमा प्रतिदिन एक हजार रूपैयाँको हाराहारीमा हुने खर्च सरकारले शोधभर्ना दिने बताइएको छ ।

नेपाल प्रहरीमा संक्रमितको संख्या अझ बढी रहेको स्रोतको दाबी छ । नेपाली सेनाले पनि कोरोना संक्रमित सैनिकको संख्या हालसम्म सार्वजनिक गरेको छैन ।

टिप्पणीहरू