रक्सी पिए कोरोना निको हुन्छ भन्ने हल्ला फैलिएपछि…

रक्सी पिए कोरोना निको हुन्छ भन्ने हल्ला फैलिएपछि…

पछिल्लो केही दिनयता डोटीमा यसो गर्दा कोरोना निको हुन्छ भन्ने हल्ला फैलिएपछि मदिरा पिउनेको संख्या बढेको छ । स्यानिटाइजरमा समेत मदिरा प्रयोग गरिएको हुने भएकाले यो पिए कोरोना निको हुन्छ भन्ने भ्रम फैलिएपछि पारखीहरू बढेको स्थानीय बताउँछन् । हल्ला फैलिएपछि अहिले यहाँका शहर बजारदेखि गाउँघरमा खुलेआम मदिरा बिक्री–वितरण हुने गरेको छ ।

मदिराका कारण सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । कोरोनाबाट बच्न कहिलयै मदिरा नपिउनेहरूले पनि पिउन थालेको केआइसिंह गाउँपालिका–६ सेलेनाका स्थानीय रमेशबहादुर बलायरले बताए । उनले भने, ‘मदिरा पिए कोरोना लाग्दैन भन्ने भ्रम चलाएका कारण गाउँमा मदिरा पिउनेहरू बढेका छन्, जसले गर्दा समाजमा थुप्रै घटना घट्न थालेका छन् ।’ मदिरा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले जति प्रयास गरे पनि सफल हुन सकेको छैन ।

मदिराकै कारण जिल्लामा यो आर्थिक वर्षमा मात्रै दजर्न बढी घटना भएको प्रहरीको तथ्यांक छ । मदिरा नियन्त्रणका लागि गाउँ गाउँमा आमा समूह गठन भए पनि लुकीछिपी तथा कोरोनाबाट बच्न भन्दै मदिरा पिउनेहरूका कारण रोक्न नसकिएको ती समूहमा आबद्ध महिला बताउँछन् । सदरमुकामलगायत ग्रामीण क्षेत्रमा बिनाइजाजत खुलेआम मदिरा बिक्री हुने गरेको दिपायलका स्थानीय उत्तम द्वारियाले बताए ।

ने, ‘बजारदेखि गाउँसम्म खुलेआम मदिरा बिक्री भइरहेको छ, रोक्नुको साटो नेताहरू नै पक्राउ परेकालाई छुटाउन खोज्छन्, चुनौती थपिने नै भयो नि !’ मदिरा सेवनका कारण ठूलै घटना नभए पनि सामान्य घटना दैनिकजसो हुन थालेको आदर्श गाउँपालिकाका स्थानीय योगेन्द्रबहादुर बोहराले बताए । उनले भने, ‘प्रहरीको सामुन्ने कसैले मदिरा बेच्दैनन्, प्रहरी नभएको बेला खुला रूपमा दारु बिक्री भइरहेको छ, झगडा पनि कहिल्यै बन्द भएन ।’ जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख तथा डिएसपी इन्द्रबहादुर मल्लले भने, ‘पूर्णरूपमा निर्मूल पार्न सकेका छैनाँै, पहिलेभन्दा अहिले मदिरा बेचबिखन नियन्त्रणमा आएको छ ।’ यहाँका ग्रामीण क्षेत्रमा सबैभन्दा सस्तो खालको सोफी नामक मदिरा बढी बिक्री हुँदै आएको छ ।

– विमल विष्ट

टिप्पणीहरू