जातीय र धार्मिक सहिष्णुतामा खेलाँची नगरौं (भिडियाेसहित)

जातीय र धार्मिक सहिष्णुतामा खेलाँची नगरौं (भिडियाेसहित)

उपत्यकाको प्रख्यात मत्स्येन्द्रनाथ र मीननाथको रथ यात्रा लकडाउन र निषेधाज्ञाका कारण बैशाखदेखि रोकिँदै आएकोमा आज पाटनको घटनाले सबैलाई झस्काइदिएको छ ।

युवाहरुले निषेधाज्ञा तोड्दै स्वःस्फूर्त रूपमा रथ तान्न थालेपछि प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले लाठीचार्ज,पानीको फोहरा र केही सेल अश्रुग्याँस प्रहार गरेको छ । प्रतिकारमा युवाहरुले पनि ढुङ्गा र ईंटा बर्साएपछि रथ निर्माण गरिएको पुल्चोक क्षेत्र एकाएक रणमैदानमा परिणत हुन पुग्यो । पोहोर सरकारले एकतर्फी रूपमा ल्याएको गुठी विधेयकका कारण उपत्यकामा कस्तो जनअसन्तुष्टि देखिएको थियो सम्झना ताजै छ ।

विषम परिस्थितिका कारण यो वर्ष अधिकांश जात्रा र पर्व घरभित्रै सीमित भए । विशेषगरी उपत्यकाको पहिचान बनेको बिस्केट,गाइजात्रा र इन्द्रजात्रा त्यत्तिकै रह्यो । कुमारी जात्रा पनि त्यस्तै भयो । यसबीच उपत्यकाको जातीय र धार्मिक सहिष्णुता केही खल्बलिन पुगेको छ ।

 

उपत्यकाको पहिचान बनेको, बिस्केट, गाइजात्रा र इन्द्रजात्रा त्यत्तिकै रह्यो । कुमारी जात्रा पनि त्यस्तै भयो ।

सबैभन्दा ठूलो कुरो निरन्तरको लकडाउन र निषेधाज्ञाले नागरिक र स्थानीय प्रशासनवीचको दूरी बढाइदिएको छ । एकोहोरो प्रशासनिक निर्णयबाट आजित घना शहरका नागरिकले यो ब्यक्ति र समुदायको ज्यान जोगाउने मेलो हो भन्न्ठान्नु भन्दा पनि आफूलाई झण्डै पाँच महिनादेखि घरभित्रै कैदी बन्नुपरेको रूपमा लिएका छन् ।

यो घरभित्र र मनभित्रको पीडा र कष्ट उजागर हुनथालेको अनि यसैभित्र धमिलो पानीमा माछा मार्न खोजिएको नमूना पनि हो । राजनीतिक दल र तिनका भातृ संगठनहरुले आह्वान गरेका कार्यक्रममा मुश्किलले केही दर्जन व्यक्तिको सहभागिता हुने गरेको छ । तर, निषेधाज्ञाबीच सामाजिक सञ्जालमार्फत गरिएको आह्वानमा नेता र समूहले आयोजना गरेका कार्यक्रममा भन्दा बढि त्यतातिर ठूलो सङ्ख्यामा असन्तुष्ट र राजनैतिक हिसाबले निरपेक्ष मानिसहरू उपस्थित हुने गरेका छन् ।

विशेषगरी धार्मिक विषय,सम्प्रदाय र जातीय मामिलामा नसोचेको संख्यामा प्रदर्शनकारी तथा असन्तुष्टहरुको सहभागिता विश्वभरि नै हुने गर्छ । हाम्रा ग्रन्थहरुमा उल्लेख गरिएका महाभारतलगायतका धार्मिक युद्ध होओस् वा आधुनिक विश्वका श्रीलङ्का,रुवाण्डा र बुरुण्डीको जातीय युद्धले पनि त्यसको पुष्टि गरेको छ । उता हिटलरको ग्याँस च्याम्बर र यहुदी आन्दोलनले पनि असन्तुष्टहरुको संख्याको प्रतिनिधित्व गरेको थियो । छिमेकी भारतमा भएका कतिपय हिन्दू र मुस्लिम दङ्गाहरु पनि धर्मकै उपज हुन् ।

 

सामाजिक सञ्जालमार्फत गरिएको आह्वानमा नेता र समूहले आयोजना गरेका कार्यक्रममा भन्दा
बढि त्यतातिर ठूलो सङ्ख्यामा मानिसहरु उपस्थित हुने गरेका छन् ।

हुन तःआज पाटनमा भएको झडपभित्र पनि सतहमा धार्मिक विषय नै जोडिएको छ । तर,युवाहरुको स्वत:स्फुर्त सहभागिताले दण्डहीनता उध्दारमा सरकारी अकर्मण्यताबिरुद्ध असन्तुष्टिको सङ्केत गरेको देखिन्छ । यस्तो असन्तुष्टिलाई समाधान गरिएन भने भोलि पछुताउनुबाहेक सरकारको सामुन्ने अरु विकल्प नहुने विश्व इतिहास साक्षी छ ।

आजको असन्तुष्टिलाई मत्स्येन्द्रनाथको रथ यात्रासँग मात्र जोडेर हेर्न नहुने बताइएको छ । यसलाई सरकारप्रतिको अविश्वास र असन्तुष्टि अनि सामाजिक सन्जालमा नियन्त्रणको खाँचोका रुपमा समेत लिनुपर्ने मनोविद् तथा समाजशास्त्रीहरु बताउँछन् । आजको रथयात्रा झडपको तयारी केही दिनअघि भएको स्थानीयले बताएका छन् ।

फेसबुकलगायतका सामाजिक सञ्जालमा अस्तिदेखि आह्वान गरिएको थियो । सोहीबमोजिम उपत्यकाका विभिन्न स्थानबाट आज युवाहरु पुल्चोक पुगेका थिए । तर, स्थानीयको तुलनामा अन्यत्रका युवाको सहभागिता बढी रहेको त्यहाँका सामाजिक अभियन्ताहरु बताउँछन् । आज पाटनमा जम्मा भएको झण्डै पन्ध्र सय युवाको भीडले मत्स्येन्द्रनाथलाई महानगरपालिकाअगाडि वीच सडकमा र मीननाथको रथलाई तानेर मङ्गलबजारनेर पुर्याएको छ ।

प्रहरी हस्तक्षेपपछि अहिले दुबै रथलाई उच्च प्रहरी सुरक्षाघेरामा राखिएको छ ।

टिप्पणीहरू